शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री ओलीले गोदाबरीमा गरे सभाहल निरीक्षण

दैनिक नेपाल २०७७ कार्तिक १६ गते १९:२६

ललितपुर, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरी स्थित सभा हलको अवलोकन गरेका छन् ।

आइतबार दिउँसो शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसहित हलको हालसम्मको प्रगति विवरण बारे जानकारी लिन अकस्मात गोदाबरी पुगेका थिए ।

सो क्रममा उनले हालसम्मको प्रगतिको प्रशंसा गर्दै अबको तीन महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका थिए । अवलोकनको क्रममा उनले सो हल चाँडै सम्पन्न गरी महत्वपुर्ण कार्यक्रम यही हलमा गर्नसक्नेगरी तयारी गर्न आग्रह गरेका थिए ।

सो अवसरमा शहरी विकास मन्त्री श्रेष्ठले नेकपाको सरकार बनेको तीन वर्ष पुगेको दिन अर्थात फागुन ३ गते उद्घाटन गर्नेगरी तयार गर्न निर्देशन दिएका थिए ।

माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिएका थिए ।

प्रम ओलीलाई प्रगतिविवरणबारे जानकारी गराउदै मन्त्री श्रेष्ठले विभागका अधिकारीलाई भने, मलाई आजबाटै प्रत्येक हप्ताको प्रगति विवरण जानकारी गराउनुस् । उनले मन्त्रालयले सोच अनुसार कामको प्रगति हुँदै गएको बताए ।

मन्त्रीको धारणा सुनेपछि प्रम ओलीले शहरी विकास मन्त्री श्रेष्ठको निर्देशन अनुसार प्रगति विवरण तयार गर्न निर्देशन दिएका थिए ।

२०७६ असोज २० गतेबाट निर्माण शुरु भएको सो हल यही २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । करिब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधिन सो हल केसी–समानान्तर जेभिले ५८ करोड २४ लाख रुपियामा ठेक्का पाएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले हलको बारेमा जानकारी गराउँदै हालसम्म ६५ प्रतिशत प्रगति भैसकेको जानकारी गराएका थिए ।

४३ रोपनी मध्य ११ रोपनीमा सिटीहल, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनीमा बगैचा र हरियाली र १३ रोपनी क्षेत्रफलमा पार्किङ गर्न गरी निर्माण भैरहेको छ ।

केभिड–१९को कारण समयमै निर्माण सम्पन्न गर्न नसकेको जानकारी गराउँदै गेलालले भने, अब माघभित्र सम्पन्न गर्ने अन्तिम तयारी गरेका छौ ।

मन्त्री श्रेष्ठले कोभिडको कारण उत्पन्न समस्या अब समाधान भैसकेको बताउँदै स्वाथ्य मापदण्ड अनपाएर थप मजदुर परिचालन गरी तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।

खराब बाटोको कारण त्यहापुग्न समस्या भएपछि प्रम ओलीले माघ महिनाभित्र बाटो सम्पन्न गर्न समेत निर्देृशन दिएका थिए । अवलोकन गर्न प्रम ओली संगै धर्मपत्नी राधिका शाक्य, सांसद नवराज सिलवाल, प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहका सुर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंह नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार लगायतको टोली गोदाबरी सभाहल पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित