काठमाडौं, १६ कात्तिक । किसानलाई प्रोत्साहन र सुनिश्चित बचतको ग्यारेन्टी गर्न भन्दै सरकारले २०७७ असार २ मा धानको न्यूनतम समर्थन मूल्य तोक्यो । धानबाली लगाउनुअगावै पहिलो पटक मोटा धानको प्रतिक्विन्टल २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँ मूल्य निर्धारण भयो ।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो प्रतिक्विन्टल २ सय रुपैयाँ बढी हो तर किसानले धान बेच्ने बेला समर्थन मूल्य पाउँदैनन् । उनीहरूलाई धानको लागत उठाउनै मुस्किल परेको छ ।
सरकारी संयन्त्र गाउँगाउँमा नहुँदा सरकारले निर्धारण गरेको दरभन्दा क्विन्टलमै करिब ८ सय रुपैयाँसम्म सस्तोमा धान बेच्न किसान बाध्य छन् । कञ्चनपुरमा भदौ अन्तिमसम्म धानको मूल्य २९ सय रुपैयाँ प्रतिक्विन्टल पुगेको थियो, जब धान उत्पादन भएर कृषकले बिक्री गर्न थाले, १९ सयसम्म झर्यो । ग्रामीण भेगमा अहिले मिल सञ्चालक तथा गल्ला खरिदकर्ताहरूले मनपरी हिसाबले मूल्य तोकेर धान खरिद गरिरहेका छन् । उनीहरूले १९ सय ५० देखि २ हजार ५० सम्ममा किनिरहेका छन् ।
कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीका रोशन चौधरीले असोज दोस्रो साता धान थ्रेसिङ गरिसकेका थिए । बिक्री गर्ने धान बोरामा हालेर ठिक्क पारेका थिए । भाउ बढ्ला र मिलमा बिक्री गर्न लैजाउँला भन्ने सोचमा उनी थिए । भाउ बढ्नेभन्दा पनि घट्न थालेपछि उनले गत वर्षभन्दा सस्तोमा धान बिक्री गरे । चौधरीले गत वर्ष प्रतिक्विन्टल २२ सयमा धान बिक्री गरेका थिए । यस पटक डेढ सय सस्तोमा धान बेचेको उनले बताए । ‘दस/पन्ध्र दिनअघि नै धान चुटिसकेको थिएँ,’ उनले भने, ‘भाउ बढ्ला भनेर कुरेको थिएँ, फेरि धेरै दिनसम्म राख्न ठाउँ पनि थिएन, अनि सस्तोमै बिक्री गरें ।’
चौधरीले ३५ क्विन्टल धान प्रतिक्विन्टल २ हजार ५० का दरले मिलमा बिक्री गरे । खेत जोताइ, मलबीउ खरिदका लागि पनि खर्च नहुँदा उनले चाँडै बेच्नुपरेको बताए ।
समर्थन मूल्यको फाइदा बिचौलियाले उठाइरहेको किसानको गुनासो छ । ‘सरकारले धानको मूल्य तोक्दा खुसी थियौं तर बेच्न कहाँ जाने ?’ बाराका किसान अशोक कलवारले भने, ‘त्यसको फाइदा बिचौलियाले उठाइरहेका छन् । किसानले प्रतिक्विन्टल २१ सयदेखि २३ सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।’
कलवारका अनुसार त्यस क्षेत्रमा मोटा धान २१ सयदेखि २२ सय र मध्यम २१ सयदेखि २३ सय रुपैयाँमा बिक्री भइरहेको छ । गाउँकै गोला (गाउँकै काँटा) मा प्रतिक्विन्टल २१ सय रुपैयाँका दरले १३ क्विन्टल धान बिक्री गरेको उनले जानकारी दिए । ‘गोलामा मनोमानी रेट छ, किसानले त्यहीं बिक्री गर्नुपर्ने बाध्यता छ, त्यसपछि बिचौलियाले मिलमा कतिमा बेच्छन्, किसानलाई थाहा हुँदैन,’ उनले भने, ‘सरकारी दरभाउ देऊ भन्दा धान किन्नै मान्दैनन्, किसान धेरै मारमा परे ।’
प्रतिक्विन्टल बिक्री गर्दा आउने २१/२२ सय रुपैयाँ मल, श्रमिक, सिँचाइमै सकिने किसान बताउँछन् । सिरहाका किसान रामविलास सदाको दुखेसो पनि उस्तै छ । १० टन धान प्रतिक्विन्टल २२ सय रुपैयाँमा बिक्री गरेको उनले सुनाए । ‘त्यो मूल्यमा बचत नै हुँदैन तर किसानको समस्या सरकारले बुझेन,’ सदाले भने, ‘बाध्यताले काँटावालालाई बेच्नुपरेको छ ।’ भवानी भट्ट र राजु चौधरीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया