
काठमाडौं, १५ कात्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भाडादरको सूची (लिष्ट) नटाँस्ने यात्रुवाहक सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।
हिजो शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारीसाधनमा भाडादर टाँस्न लगाइएको महाशाखाले बताएको छ । त्यस्तै आज शनिबार पनि उक्त अभियानलाई निरन्तरता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जजनाएको छ ।
सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देख्नेगरी भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
उनले सवारीसाधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
यात्रुवाहक सवारीसाधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको भन्दै काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।
सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै महाशाखाले ठूलो आवाज तथा मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने लगाएत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनउपर पनि कडाइका साथ कारबाही अभियान चलाउँदै आएको जानकारी दिएको छ ।















प्रतिक्रिया