मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

एफपीयू युनामिड मिसन जाने प्रहरी टोलीको बिदाइ

दैनिक नेपाल २०७७ कार्तिक १४ गते १३:२९

काठमाडौं, १४ कात्तिक । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपीयू) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुको शुक्रबार बिदाइ गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरुलाई बिदाइ गरे । बिदाइ समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरे ।

परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपियु छनोट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वास थापाको छ ।

संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, एउटा मुलुक पनि हो भन्ने कुरा तपाईंको आत्मामा रहनु पर्दछ ।’ मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने चर्चा गर्दै क्षेत्रीले यूएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न खटि जाने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

समारोहमा मिसनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालले त्यसतर्फ खटि जाने समूहमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी ७ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिए ।

उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूह गरी २०७७ कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित