शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पाकिस्तानी सांसदले ‘मोदी मोदी’ भनेको भन्ने दाबी पछाडिको सत्य के हो ?

दैनिक नेपाल २०७७ कार्तिक १४ गते १०:४०

नयाँ दिल्ली, १४ कात्तिक । केही भारतीय सञ्चारमाध्यमले छिमेकी पाकिस्तानको संसद्‌मा सांसदहरूबीच चर्काचर्की बहस भइरहेका बेला जानाजान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिइएको दाबी गर्दै समाचार दिए ।

फ्रान्समा एक शिक्षकको हालै गरिएको हत्यासँग सम्बन्धित विषयमा संसद्‌‌मा भइरहेको बहसमा मोदीको नाम जानाजान लिइएको सञ्चारमाध्यमहरूले दाबी गरेका हुन् ।

तर के पाकिस्तानका सांसदहरूले साँच्चै संसद्‌मा भारतीय प्रधानमन्त्रीको नाम लिएका हुन् ?

सोमवार पाकिस्तानका विपक्षी नेता खवाजा आसिफलगायत अन्य सांसदहरूले एउटा प्रस्तावमाथि मतदानका लागि दबाव दिँदै थिए ।

यसै महिनाको सुरुमा फ्रान्सको प्यारिसनजिकै एकजना शिक्षकको हत्या गरिएको थियो। पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन देखाएर कक्षामा पढाएको भन्दै उनको हत्या गरिएको ठानिएको छ ।

त्यस्तो विवादास्पद कार्टुन छापिएको विषयमा आपत्ति जनाउँदै एउटा प्रस्तावमाथि मतदान हुनुपर्ने खवाजालगायतका सांसदहरूले दबाव दिइरहेका थिए ।

ती शिक्षकको हत्यापछि फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले जनाएको प्रतिक्रियाले अरब विश्वलाई आक्रोशित पारेको थियो र पाकिस्तानका प्रधानमन्त्रीले पनि आलोचना गरेका थिए ।

पाकिस्तानको संसद्‌मा भएको बहस

तर सरकार र विपक्षीहरू उक्त विवादलाई लिएर आ-आफ्नै प्रस्तावहरू पारित गर्न दबाव दिँदै थिए ।

बहसका क्रममा एउटा समयमा, विदेशमन्त्री शाह महमुद कुरैशीले सदनलाई सम्बोधन गर्नै लाग्दा, विपक्षी सदस्यहरूले “भोटिङ, भोटिङ” अर्थात मत हालौँ भन्दै चिच्याउन थाले ।

उनीहरू सरकारको तर्फको प्रस्तावमाथि नभई आफ्नो पक्षले प्रस्तुत गरेको प्रस्तावमाथि मत हाल्न माग गरिरहेका थिए ।

कुनै प्रसङ्ग बिना दुई मिनेटको छोटो त्यही दृश्यमात्रै भारतीय सञ्चारमाध्यम र लोकप्रिय सामाजिक सञ्जालहरूमा प्रसारण र प्रकाशन भयो ।

टाइम्स नाउ, इण्डिया टिभी, द इकोनोमिक टाइम्स र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसैलाई विपक्षीहरूले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई असजिलो पार्न “मोदी, मोदी” भन्दै चिच्याएको भनी दाबी गरे ।

द इकोनोमिक्स टाइम्सले त्यसपछि समाचार हटाएको छ भने टाइम्स नाउले आफ्नो ट्वीट मेटेको छ । तर, पाकिस्तानी बहसको उक्त सामग्रीसहितको समाचार इन्टरनेटमा छँदै छ ।

के त्यसो भए मोदीको नाम संसद्‌मा लिइएको थियो ?

हो, लिइएको थियो- बहसको पछिल्लो भागतिर लिइएको थियो र फरक सन्दर्भमा लिइएको थियो ।

विदेशमन्त्री कुरैशीले बहसका क्रममा विपक्षीहरूले ‘भारतको धारणा’ कै पक्षमा बोलेको आरोप लगाएका बेला मोदीको नाम आएको थियो ।

चर्काचर्की बहसका बेला, कुरैशीले विपक्षीले सशस्त्र फौजभित्र फुट ल्याउन खोजेको र उनीहरूले पाकिस्तान विरोधी विवरण दिएको आरोप लगाए ।

त्यसपछि सरकार समर्थकहरूले उर्दू भाषामा स्पष्ट रूपमा ‘मोदीका जो यार है, गद्दार है, गद्दार है’ अर्थात् मोदीका जो मित्र हुन् ती देशद्रोही हुन् भनेका थिए ।

भारतीय समाचारहरूमा भने यी कुनै पनि सन्दर्भ जोडिएको छैन ।

पाकिस्तानमा विपक्षी सांसदहरूले नरेन्द्र मोदीको नाम लिएका थिए भन्ने दाबीका लागि बहसको जुन भाग प्रस्तुत गरिएको छ त्यो पूर्ण रुपमा फरक सन्दर्भको हो ।

पाकिस्तानमा भएका अन्य घटनाहरूलाई पनि भारतमा गलत गरिकाले प्रस्तुत गरेका अन्य थुप्रै उदाहरण छन् ।

हालैमात्र, पाकिस्तानी सहर कराचीमा गृहयुद्ध सुरु भयो भन्ने समाचार भारतीय सञ्चारमाध्यममा धेरै देखिएको थियो । तर त्यो सत्य होइन । बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया
सम्बन्धित