
काठमाडौँ, १३ कात्तिक । पर्सामा दुई पक्षबीच झडप हुँदा घाइते नेकपा कार्यकर्ता मुकेश चौरसियाको मृत्यु भएको घटनामा प्रहरीले १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
विन्दवासनी गाउँपालिकामा नेकपाको सपथग्रहण कार्यक्रममा झडप हुँदा चौरसियाको मृत्यु भएको थियो । उक्त प्रकरणमा प्रहरीले पूर्वसांसद एवं नेकपा नेता राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको हो ।
मृतक परिवारले दिएको किटानी जाहेरी प्रहरीले ७ दिनपछि दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले चौरसियाको ज्यान मार्ने मुद्दामा संलग्न भन्दै पूर्वसांसद गुप्तासहित १२ जनाविरुद्ध परिवारले जाहेरी दिएको जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । मृतकका परिवारको तर्फबाट जाहेरी दर्ता भएको हो ।
यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको भन्दै विरोध भएको थियो ।
चौरसियाको मृत्यु भएको ७ दिन भइसक्दा पनि जाहेरी नलिएको भन्दै परिवारले शव बुझेका थिएनन् । जाहेरी दर्ता भएपछि शव बुझ्ने तयारी रहेको जनाइएको छ ।
पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको शव अहिले वीरगंजकै नारायणी अस्पतालमा राखिएको छ ।















प्रतिक्रिया