
भक्तपुर, ११ कात्तिक । भक्तपुर नगरपालिका १ स्थित दुवाल मेटल कारखानामा कार्यरतभारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पित्तलको भाडा बनाउने काम गर्ने हुसैनको हत्या अभियोगमा प्रहरीले भक्तपुर नगरपालिका १ स्थित इन्द्रायणी धातु उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भएका १९ वर्षीय सानु अन्सारी र भक्तपुरस्थित दुवाल मेटल कारखानामा काम गरी बस्ने भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भएका २३ वर्षीय सलमान खानलाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका २ इँटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा आइतबार बिहान हुसैन मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा शनिबार ३ जना सँगै बसेर मादक पदार्थ सेवन गरेको र कारखाना फर्कने क्रममा उक्त नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफ्रेन्डको विषयमा शाहिव हुसैनसँग भएको विवादमा अनुचित शब्दहरू बोलेको विषयमा झगडा हुँदा हुसैनलाई दुवै जनाले ढुङगा प्रहार गरी हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।















प्रतिक्रिया