
काठमाडौं, १० कात्तिक । विजयादशमीको अवसरमा आज राष्ट्रपति, प्रधानमन्त्रीसहित देशका विशिष्ट व्यक्तित्वहरुले देशबासीका नाममा शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न आह्वान गरेकी छन्।
बडादसैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियम पालना गरेर दसैं मनाउन आग्रह गरेकी हुन्।
‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन्।
उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिएका छन्। चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् भन्दै प्रधानमन्त्री ओलीले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताएका छन्।
अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन्।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन्।
दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आ–आफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन्।
विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन्। दसैं तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन्।
कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।











प्रतिक्रिया