
काठमाडौँ, ७ कात्तिक । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समुदायले मनाउने विभिन्न सांस्कृति चाडपर्वहरुले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्ने बताएका छन् ।
उनले यिनै नेपाली चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याएको समेत बताएका छन् । दसैँ, तिहार, छठ तथा नेपाल संवतको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
त्यस्तै, उनले देशको समृद्धिका आधारहरु भनेको त्यो देशको जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताएका छन् ।
उनले शुभकामनामा भनेका छन्, ‘विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन् ।’
त्यस्तै, उनले कोरोना भाइरसको महामारीको विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन अपील पनि गरेका छन् ।















प्रतिक्रिया