
सुर्खेत, ७ कात्तिक । कर्णाली प्रदेशमा देखिएको विवाद मिलाउन आज नेकपा कर्णाली संसदीय दलको बैठक बस्दैछ ।
पार्टी केन्द्रले विवाद मिलाउन नसकेपछि विवाद फेरि प्रदेशमै फर्किएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि चर्किएको विवाद साम्य गर्ने भन्दै बोलाइएको आजको बैठक असन्तुष्ट पक्षले भने बहिष्कार गर्ने बताइएको छ ।
नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलसहित १८ जना सांसदहरुले असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यस यता चर्किएको विवाद मिलाउन प्रदेशका नेताहरुलाई काठमाडौं बोलाइए पनि विवाद मिलेको छैन् ।
आज बिहान ११ बजेपछि बोलाइएको बैठकको असन्तुष्ट पक्षले भने बैधानिकतामाथि प्रश्न उठाएका छन् । आज बस्ने बैठक अवैधानिक भएको सांसद गुलाबजंग शाहले बताए । मुख्यमन्त्री शाहीले केन्द्रमा भएको सहमति नटेरेको उनको आरोप छ ।
मुख्यमन्त्री एवं संसदीय दलका नेता शाहीले बोलाएको आजको बैठकले विवादलाई झनै लम्बाउने संकेत देखिएको छ ।















प्रतिक्रिया