१ कार्तिक २०८३, आइतबार

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकोप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बिहीबार पार्टी प्रवक्त शरदराज पाठकले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रश्न गरेको छ– के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

‘के ‘रअ’ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ?’, विज्ञप्ति मार्फत उनले प्रश्न गर्दै भनेका छन्, ‘यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ ।’

प्रधानमन्त्रीसँग गोयलले गरेको भेट प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण भएको सो पार्टीले बताएको छ । ‘के ‘रअ’का प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?’, विज्ञप्तिमा प्रश्न गरिएको छ ।

परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले भारतसँग नेपालको कूटनीति खस्किएको संकेत गरेको भन्दै यसले अन्य देशहरूसँगको नेपालको कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिने पार्टीले ठहर गरेको छ ।

साझा पार्टीले प्रधानमन्त्री ओलीको उक्त कार्यशैली लज्जाजनक रवैया भएको भन्दै गम्भीर भर्त्सना समेत गरेको छ ।