शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अक्सफोर्ड र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपको अन्तिम चरणको मानवीय परीक्षण जारी

दैनिक नेपाल २०७७ कार्तिक ६ गते ८:३५

लण्डन, ६ कात्तिक । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षण निरन्तर हुने भएको छ ।

ब्राजिलमा खोपको परीक्षणात्मक डोज लिनका लागि सहमत भएका स्वयमसेवीको निधन भएपछि खोपको परीक्षणका सन्दर्भमा शंका उत्पन्न भएको थियो । स्वयमसेवीको निधनका सम्बन्धमा अनुसन्धान गरेपछि खोपको परीक्षण जारी राखिने भएको हो ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले खोप लिएका स्वयमसेवीको निधनका बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । गोपनीयताको कारण देखाउँदै उसले विवरण सार्वजनिक नगरेको हो ।

अक्सफोर्ड विश्वविद्यालयले ती स्वयमसेवीको निधनका सम्बन्धमा गरिएको मूल्यांकनबाट खोपको सुरक्षालाई लिएर कुनै शंका नदेखिएको बताएको छ ।

बेलायती सञ्चार संस्था बिबिसीले भने स्रोतहरूबाट आफूले पाएको जानकारी अनुसार निधन भएका स्वयमसेवीले खोप नलिएको थाहा भएको उल्लेख गरेको छ ।

परीक्षणका लागि आएका आधा स्वयमसेवीलाई मात्रै अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको वास्तविक खोप दिइएको छ । अरु आधालाई भने मेनेन्जाइटिसविरुद्धको खोप दिइएको हो ।

परीक्षणमा सहभागी वा उनीहरूका परिवारका सदस्यलाई कसलाई कुन खोप दिइएको छ भन्ने थाहा हुँदैन । दुई समूह बनाएर गरिएको परीक्षणमा कुन खोपले कस्तो काम गर्‍यो भन्ने थाहा पाउनका लागि अनुसन्धानकर्तालाई सहयोग गर्ने भएकाले सूचना गोप्य राख्ने गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित