१ कार्तिक २०८३, आइतबार

बीआरआई अन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला आएको छ : अध्यक्ष तिमिल्सिना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट भएका आयोजनाहरुलाई कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

‘चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणका बेला हस्ताक्षर भएर आदान–प्रदान भएका २० वटै सहमति र सम्झौताको आर्थिक, रणनीतिक एवं कूटनीतिक महत्व छ । त्यसमध्ये पनि नेपाल र चीनलाई रेल सेवाबाट जोड्नका लागि सम्भाव्यता अध्ययन गर्न दुई देशबीच भएको समझदारी विशेष महत्वको छ’, उनले भने, ‘यसबाट नेपालले लामो समयदेखि रेलसँग जोडिनका लागि देखेको सपनामात्र साकार हुने छैन, हाम्रो छिमेकी चीनको वैभव र उच्च आकांक्षालाई पनि एकसाथ विश्वसामु उजागर गर्नेछ ।’

कोभिड–१९ को महामारीले केही विलम्ब भएकोतर्फ चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले दुवै देशका सरकारले सम्झौता गरेका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाउन समर्थ हुने विश्वास व्यक्त गगरे । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बिआरआईले अघि सारेका आयोजनाहरूको सफलताले विशेष महत्व राख्ने तिमिल्सिनाले जोड दिए ।

नेपाल भ्रमणका क्रममा गत वर्ष चिनियाँ राष्ट्रपतिसँग भएको भेटघाटको स्मरण गर्दै उनले नेपाल र चीनबीच भएको ट्रान्स–हिमालय कनेक्टिभिटी सम्बन्धी सम्झौताले दुई देशका साझा सरोकारलाई सम्बोधन गर्नेमा शंका नरहेको बताए ।

नेपाल विकास–निर्माणको अभियानमा हिड्न होइन, दौडिन चाहेको भन्दै अध्यक्ष तिमिल्सिनाले आर्थिक र सामाजिक रुपान्तरणमा नेपालले चीनको प्रगतिबाट सिक्न र सहकार्य गर्न चाहेको बताए ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सन्देश पनि सुनाएका थिए । कार्यक्रममा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाका साथै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता प्रकाश शरण महत, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आ–आफ्नो धारणा व्यक्त गरेका सथए ।

त्यस्तै चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले धारणा राखेका थिए ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवका अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरूको प्रथम संयुक्त परामर्श सम्मेलन आयोजना गरेको थियो ।