बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

राजधानीको २४ चोकमा ट्राफिक लाइटबाट सवारीसाधन व्यवस्थापन

रोटरी क्लव अफ त्रिपुरेश्वरद्वारा नयाँ जडान गरिएको ट्राफिक लाइट हस्तान्तरण

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १५:१९

काठमाडौं, ४ कात्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइट, सीसीटीभी, विभिन्न अनलाइन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको बताएको छ ।

सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आज मंगलबारबाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाइट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरे ।

रोटरी क्लव अफ त्रिपुरेश्वरले ‘ग्रीन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत कामनपासँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो । उक्त अवसरमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले ट्राफिक प्रहरीसँग सबै मिलेर लागि पर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्था सहज बन्न लामो समय नलाग्ने बताए ।

काठमाडौं उपत्यकामा भइरहेको जाम, सवारी दुर्घटना तथा ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको बताउँदै उनले पछिल्लो समय महाशाखाले उपत्यकाका विभिन्न निकायहरूको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको जानकारी दिए ।

एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे, सितापाइला, बौद्ध, ग्रान्डी लगायत ११ स्थानमा ट्राफिक लाइट जडानका लागी स्थानीय निकाय, सडक विभाग लगायत अन्य संघ संस्थासँगको समन्वयमा काम भइरहेको महाशाखाले जनाएको छ ।

ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्ण पालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, परोपकार, टंकेश्वर, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, महापाल, पुल्चोक, हरिहरभवन, अल्का अस्पताल अगाडि, कमलपोखरी ल्होत्से चोक र हाडीगाउँ (भाटभटेनी अगाडि) लगायत क्षेत्रका ट्राफिक लाइट सञ्चालनमा पनि ल्याइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित