
काठमाडौं, ४ कात्तिक । विवेकशील नेपाली दल र साझा पार्टीले एकीकरण गर्ने भएका छन् ।
एकीकरणका लागि दुबै पार्टीले गठन गरेका राजनीतिक संवाद समितिले वार्ताका निष्कर्षसहित संयुक्त प्रतिवेदन गत असोज २९ गते पार्टीका संयोजकहरूलाई बुझाइसकेका छन् ।
एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई मंगलबार बुझाएका हुन् ।
आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघीय/केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन् ।
‘सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको सर्वविदित नै छ’, दुबै पार्टीले संयुक्त रूपमा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
विगतमा भएका कमजोरीलाई स्वीकार्दै र जनभावनाको कदर गर्दै उनीहरूले गत असार ३१ गतेदेखि एकीकरण वार्ता थालेका थिए । ‘प्रतिवेदनलाई दुबै पार्टीका केन्द्रीय/सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ’, संवाद समितिका निर्देश सिलवाल र समीक्षा बाँस्कोटाले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया