शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

यस्तो छ, कोभिड–१९ को निःशुल्क उपचार पाउनेको मापदण्ड

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १०:३१

काठमाडौं, ४ कात्तिक । कोभिड–१९ को परीक्षण तथा उपचार सरकारले नगर्ने चर्चा चलिरहेका बेला सरकारले भने निःशुल्क उपचार पाउनेको वर्गीकरण गरेर मापदण्ड तय गरेको छ ।

विभिन्न ७ वटा शीर्षकमा वर्गीकरण गरी निःशुल्क उपचार पाउनुपर्ने आवश्यक आधारहरु समेत निर्धारण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार विपन्न, अशक्त, असहाय, असहाय एकल मिहला, ज्येष्ठ नागरिक, अति अपांगता भएका तथा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सफाई कर्मचारीहरु, सुरक्षाकर्मी र जोखिमका क्षेत्रमा काम गर्नेहरुको निःशुल्क उपचार गर्न लागिएको हो ।

उल्लेखित सबै वर्गका लागि आवश्यक आधारहरु समेत सरकारले निर्धारण गरेको छ ।

विपन्नहरुले आफू विपन्न भएको प्रमाणपत्र पेस गरे वा स्वयं घोषणा गरे भने त्यस्ता संक्रमितहरूको सरकारले निःशुल्क उपचार गर्ने छ । त्यस्तै अशक्त संक्रमितहरूको हकमा अशक्तताको प्रमाणपत्र वा स्वयं घोषण गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै असहाय व्यक्तिहरूले पनि सम्बन्धित स्थानीय तहहरुबाट सिफारिस वा स्वयं घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ भने असहाय एकल महिलाले पनि प्रमाणपत्र वा स्वयं घोषणा गरे निःशुल्क उपचार पाउने बताइएको छ ।

यस्तै अति अपांगता भएका संक्रमितले निःशुल्क उपचार पाउन अपांगताको प्रमाणपत्र पेस गर्नुपर्ने छ भने ज्येष्ठ नागरिक संक्रमितले ७० वर्ष पुगेका नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा गरे निःशुल्क उपचार पाउने उल्लेख छ ।

त्यसैगरी अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूको सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने छ ।

मन्त्रालयले जारी गरेको उक्त सूचनामा सूचीकृतबाहेकले सम्बन्धित अस्पतालको सामाजिक सेवा ईकाई वा अस्पतालकै सिफारिसमा पनि निःशुल्क सेवा लिन सकिने उल्लेख छ ।

यस्तै उल्लेखित आधार पुगेका संक्रमितहरूको बीमा गरिएको अवस्थामा भने सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौति गरिने उल्लेख छ ।

यी बाहेक अन्य व्यक्तिको हकमा भने सम्पूर्ण उपचार खर्च संक्रमित स्वयंले बेहोर्नुपर्ने सरकारले जारी गरेको उक्त सूचनामा स्पष्ट पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित