शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

४० हजार खसीबोका बिक्री हुने अनुमान, चौपाया अनुगमन शुरु, गल्ती गरे कारबाही

दैनिक नेपाल २०७७ कार्तिक ३ गते ६:४९

काठमाडौं, ३ कात्तिक । दशैंमा काठमाडौंमा ४० हजार खसीबोका बिक्री हुने अनुमान गरिएको छ । कोरोना महामारीका कारण खसी, बोका, भेडा, च्याङ्ग्राको माग कम हुने सम्भावना भएपछि यस्तो अनुमान गरिएको हो ।

काठमाडौं चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार संक्रमणको कारण व्यापार कम हुने बताउनुभयो । हिजोबाट बिक्री शुरु भए पनि अनुमान गरेअनुसार बिक्री नभएको उहाँको भनाइ थियो । उहाँका अनुसार विगतमा करिब ६० हजार चौपाया बिक्री हुने गरेको थियो ।

‘यो वर्ष करिब २० हजार घट्ने आकलन गरेका छौं’, खड्काले भन्नुभयो– ‘काठमाडौंमा कलंकी, खसी बजार, टुकुचा, कोटेश्वर, बालाजु, आकाशेधारा कपन, चाल्नाखेललगायत स्थानबाट खसी, बोकालगायत चौपाया बिक्री हुने गरेको छ ।’

भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । व्यापारीले तीबाहेकका स्थानबाट पनि चौपाया बिक्री गर्ने गरेका छन् ।
सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज सोमबारबाट खसी र बोका बिक्री गर्दै छ । कम्पनीले १ हजार ६ सय खसीबोका बिक्री गर्ने योजना बनाएको छ ।

चौपायका बिक्रीसँगै प्रदेश सरकारको सहयोगमा अनुमगन शुरु गरेको छ । काठमाडौं महानगरको तीन टोलीले अनुगमन शुरु गरेको छ । विशेषज्ञसहितको टोलीले मासुजन्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन अनुगमन गरेको जनाएको छ ।

महानगरको पशुसेवा महाशाखाका प्रमुख डा. अवधेश झाका अनुसार र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया बिक्री गर्ने गर्ने योजनाअनुसार स्वास्थ्य परीक्षण शुरु गरेका हौं । टोलीले तोकेको स्थानबाट बिक्री गरे नगरेको विषयमा समेत अनुगमन गर्नेछ ।

तीन टोलीको नेतृत्व तीनैजना स्वास्थ्य विज्ञले गरेका छन् । महाशाखा प्रमुख झाका अनुसार किचित्सक पूजा खनाल, अञ्जिरमान सिं डंगोल र डम्मरबहादुर बमको नेतृत्वको टोलीले खसी–बोकाको स्वास्थ्य परीक्षण गरी खान योग्यको सिङमा हरियो र बिरामीको सिङमा रातो रङ लगाउनेछन् । सिङमा रातो रङ लगाएको खसीलाई केही दिन आइसोलेसनमा राखेर पुनः बिक्री गर्न खुला गरिने महाशाखाले जनाएको छ ।

दशैंमा बिक्री हुने चौपायामध्ये च्याङ्ग्राको संख्या घटेकाले भाउ बढेको छ । चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष खड्काका अनुसार मुस्ताङमा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रतिकिलो ७ सय ५० पुगेको छ । स्थानीय प्रशासनले शुरुमा यसको मूल्य ६ सय तोकेको थियो । ईश्वरराज ढकालले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित