शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

दैनिक नेपाल २०७७ कार्तिक ३ गते ६:२८

राजविराज, ३ कात्तिक । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी गरेका उनलाई यस वर्ष भने कोरोनाको कहरले निकै समस्या थपिदिएको छ ।

रोजगारीका लागि बिदेसिने युवाहरू जस्तै उनमा पनि पहिला त विदेशै जाने सोच नआएको पनि होइन । विदेशमा पनि कडा मिहिनेत नगरी पैसा कमाउन सकिँदैन भन्ने साथीभाइबाट बुझेपछि उनले विदेश जाने सोच परित्याग गरी घरमै बसेर व्यावसायिक तरकारी खेती थालेका हुन् ।

बैंकबाट केही ऋण लिएर भाडाको जमिनमा सुरु गरिएको व्यवसायबाट विगतका वर्षसम्म उनले राम्रै आम्दानी पनि गर्दै आएका थिए । बारीमा हुर्केका तरकारीका बोटबिरुवा, लहरा हेरेर दंग परेका ओमप्रकाशले यसपालि पोहोरभन्दा पनि बढी आम्दानी हुने सोचेका थिए । नगरून् पनि किन ? भान्टा, काँक्रो, लौका, फर्सी, करेला, बोडीलगायत जातजातका तरकारीका बोट लहलह देखेका कारण उनमा झनै उत्साह जाग्ने गरेको थियो ।

तर, उनको हर्षित मनमा यस्तो आनन्द धेरै समय टिक्न पाएन । कोरोनाको संक्रमण नेपालमा पनि प्रवेश गरेपछि गत ११ चैतदेखि सरकारले देशैभरि करिब चार महिनासम्म गरेको लकडाउनले लटरम्मै फलेको तरकारी नबिकेपछि बारीमै कुहिँदा उनी अति पीडित बन्न पुगेका हुन् ।

पहिला बारीमै बाहिरका व्यापारी तरकारी किन्न धाउने गरेको र बाँकीलाई स्थानीय हाटबजारमा लगेर बेच्ने गर्दा गरेको मिहिनेतको राम्रै कमाइ भए पनि यसपटक बेच्ने बेलाको तरकारी बारीमै कुहेको टुलुटुलु हेरेर बस्नुको विकल्प नै नभएको उनको दुखेसो छ ।

बन्दाबन्दीका कारणले बाहिर पठाउनसमेत समस्या भएका कारण केही उपाय नलागेपछि आफूले उत्पादन गरेको तरकारी आँखा अगाडि कुहिएका कारण अहिले बैंकको किस्ता तिर्नसमेत समस्या परेको उनले पीडा पोखे ।

कोरोनाका कारण पीडित किसानमा ओमप्रकाश एक्ला भने होइनन् । जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीका गाईपालक किसान बद्री भण्डारीको पीडा पनि उनको भन्दा कम छैन । गाईपालन व्यवसाय चलाएर दूध बिक्रीबाट भएको आम्दानी नै उनको परिवारको गुजाराको एक मात्र आधार थियो ।

उत्पादित दूध लिएर २२ किलोमिटर दक्षिण सदरमुकाम राजविराजसम्म लगेर उनी बेच्ने गर्दथे । तर, कोरोनाका कारण भएको बन्दाबन्दीले उनका ग्राहक रहेका राजविराजका डेरी तथा होटलहरूले दूध नलिएपछि घाटा बेहोर्नुपरेको उनको भनाइ छ । एमके माझीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित