बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोनाले कृषि तथा साना लगानीकर्तामा पारेको प्रभाव कस्तो छ त ?

शारदा गैरे २०७७ कार्तिक २ गते १८:४६

-शारदा गैरे

कोरोनाभाइरस संक्रमण फैलावटका सुरुवाती दिनमा नेपाल निकै सुरक्षित महसुस गरिएको थियो । यद्यपि पछिल्लो समय भने नेपाल एक संक्रमण हटस्पटकै रुपमा पो आउला कि भन्ने त्रास आम मानिसमा फैलिएको छ ।

हुन त पछिल्ला दिहरुमा तीन चार हजारको संख्यामा दैनिक रुपमा संक्रमण थपिनुले पनि संक्रमणको जोखिमलाई झनै बढाएको छ । त्यस्तै, कतिपय स्थानमा समुदायस्तरमै संक्रमण बढ्नुले समाजका विभिन्न क्षेत्रमा प्रतिकूल असर परेको छ ।

उत सुरु सुरुका लकडाउनका दिनहरु मानिसहरुका लागि रमाइलोको उर्वर वातावरण बन्यो । तर जब त्यो समय लम्बियो तब मानिसहरुमा झनै विकराल समस्याहरु उत्पन्न हुन थाले । चाहे त्यो मानिसक होस् वा सामाजिक ।

कसैले नसोचेको कोरोनाले मानिसको चौतर्फी स्थितिलाई यसरी नियन्त्रण गरिदियो कि आफ्नैसँग पनि टाढा रहनुपर्ने बनाइदियो । यो निकै अनौठो लाग्छ । तर भोगिरहिएको यथार्थ हो । कहिलेसम्म अझै कुनै लेखाजोखा छैन । यो अनिश्चितताले त झन् मानिसहरुलाई दुखित तुल्याएको छ ।

कोरोनाले शहरलाई ठप्प बनायो । ठूला ठूला उद्योग धन्दाहरु शिथिल बने । यातायात व्यवसायलाई धराशयी बनायो । पर्यटनलगायतका क्षेत्रहरु सबैभन्दा धेरै चपेटामा परेका छन् । समग्रमा भन्दा त्यस्तो कुनै क्षेत्र छैन जसमा कोभिडको प्रभाव नपरेको होस् ।

कोरोनाभाइरस महामारीका कारण निम्नस्तरका मानिसहरु नै सबैभन्दा बढी मारमा परेका छन् । लकडाउन र निषेधाज्ञाले व्यापार व्यवसाय नचल्दा केवल मजदुरी गरेर जीविकोपार्जन गर्न बाध्यहरुको छाक टार्नसमेत हम्मेहम्मे परेको अवस्था रहेको छ । समाज चलायमान नहुँदा वास्तवमा निम्न वर्गीय मानिसहरुमा तत्कालीन आधारभूत आवश्यकता पूर्तिका लागि समस्या निम्तिएको छ ।

यसरी हेर्दा कृषि क्षेत्र पनि प्रताडित बनेको देखिएको छ । कृषि क्षेत्र सबै क्षेत्रको प्रमुख हो भन्न अतिशयोक्ति नहोला । किनकी ठूला ठूला उद्योगको लागि कच्चा पदार्थ उत्पादन गर्न होस् वा अन्नबाली उत्पादन गर्न किन नहोस् । हालसम्म निर्वाहमुखी किसिमकै कृषि अनुसरण भइरहको हाम्रो जस्तो मुलुकमा कोरोना संक्रमण जस्ता महामारीले झनै नाजुक बनाएको छ ।

केही उदाहरणहरु हेर्ने हो भने कृषि क्षेत्रमा समयमै उपलब्ध हुनुपर्ने मल, बीउबिजन, विषादीलगायतका सामाग्रीहरु कोभिडको प्रभावले गर्दा हुन सकेको छैन । हुनत यसै पनि अहिलेसम्म समयमै सबै आवश्यकता समयमै पूरा गर्ने संयन्त्र त अहिलेसम्म थिएन नेपालमा । तर अझै संक्रमणको जोखिमले गर्दा सबै क्षेत्रहरु ठप्प हुँदा त्यस्ता सामाग्रीहरुको उपलब्धता अति नै न्युन र ढिलो भएको छ ।

त्यसैगरी बजार स्थिर हुँदा गत वैशाख जेष्ठमा उत्पादन भएका मकैले बजारमा उचित भाउ नपाएपछि कृषकले अर्काे तनावको बोझ उठाउनु परेको छ ।

व्यवसायउन्मुख कृषितर्फ मुलुक अघि बढीरहेको बेलामा यस्ता किसिमका महामारीले थप नयाँ चूनौती सिर्जना गरिदिएको छ । किसानले वर्षभरी मेहनत गरेर उब्जाएको बालीले भाउ नपाएपछि खिन्नता लाग्नु र वितृष्णा जाग्नु स्वभाविक बनेको छ । लामो समयसम्मको निराशाले कृषकहरुमा मानसिक समस्या सिर्जना गरेका रिपोर्टहरु आउन थालेका छन् ।

प्रहरीको तथ्यांकअनुसार यो लकडाउन र निषेधाज्ञाको समयमा आत्यहत्या गर्नेमा सबैभन्दा बढी कृषकहरु रहेको देखाएको छ । किन यस्तो भयो होला त ? यसको पछाडी कृषिमा गरिएको लगानी तर त्यसअनुरुपको बजार नपाउनु र भाउ नपाउनु हो ।

त्यस्तै, कुखुरा पाल्ने, गाई पाल्ने, राँगा, बंगुर पाल्ने, कफि, चिया खेती, आदिमा लागेका कृषकहरु पनि उचित बजार र भाउ नपाएको गुनासो गर्दछन् । त्यस्तै, तरकारी खेती गर्ने गाउँका किसानहरुको आफ्नै दुखेसो रहेको छ ।

उनीहरुको पसिनाले उत्पादन गरेका तरकारीहरुको राष्ट्रव्यापी रुपमा बजार व्यवस्थापन गर्नुपर्नेमा उल्टै तरकारीहरु खेर फाल्नुपर्ने अवस्थामा पुगेका छन् ।

विभिन्न रिपोर्टहरुमा गाउँमा भएका उत्पादनहरुलाई बजारसम्म लैजान लकडाउनका कारण भएको यातायात समस्याले कुहिने अवस्था भएको उल्लेख गरिएको छ । जसले गर्दा कृषकहरुलाई अझ बढी तनाव सिर्जना गरिदिएको छ ।

जसमा स्थानीय उत्पादनभन्दा आयातित तरकारी र उत्पादनले बजार ओगट्नुले आफ्नो मेहनत खेर गएको किसानहरुले अनुभव गरेको सुनाउने गर्दछन् । यी त केवल केही सामान्य झलकहरु मत्र हुन् कि कसरी कृषकहरुलाई कोरोनाभाइरस संक्रमणले आक्रान्त पारेको छ भन्ने ।

त्यस्तै, अर्काे पक्ष भनेको ठूला ठूला उद्योगपति वा व्यापारीले त अघिका नाफाको सञ्चितिले पनि सहजता भएको होला । तर जसले सानो सानो पूँजीबाट लगानी गरेर व्यापार व्यवसाय सुरु गरेका छन् ।

उनीहरुको आफ्नै पीडा रहेको छ । पहिलो लकडाउनका बेला व्यापार नभएपछि ऋण तिर्न नै समस्या परेको । दोस्रो, आफ्ना परिवारको आवश्यकतालाई कसरी परिपूर्ति गर्ने भन्नेबारे सकस परेको ।

लकडाउन खुलेसके पनि स्वास्थ्य मापदण्ड अपनाएर फुटपाथमा पसल थाप्ने अवस्था उति सहज नभएपछि साना साना खुद्रा पसल व्यवसाय गर्नेहरुको समस्या जहाँको त्यहीँ छ । स्थानीय खुद्रा व्यापारीहरु आफूले भोगेको यस्तो अनुभव सुनाउँछन् ।

त्यस्तै, कतिपयले भने सरकारले अनुगमन नगर्दा भीडभाडमा मास्क र स्वास्थ्य सुरक्षाका उपायहरु नअपनाइएकाले संक्रमणको जोखिम हुनेतर्फ पनि चिन्ता व्यक्त गर्दछन् ।

समग्रमा भन्नुपर्दा कोभिड १९ को संक्रमण र यसबाट बच्नका लागि गरिएको लकडाउन र निषेधाज्ञाले समाजका हरेक आयामलाई निकै गम्भीर ढंगले चोट पुर्याएको छ ।

जसमा सबैभन्दा बढी निम्न आय भएका मानिसहरु पर्दछन्, त्यस्तै, गाउँका किसान वर्ग एवम् सानो लगानी कर्ताले खुद्रा पसल व्यवसाय गर्नेहरु पर्दछन् । यसको निराकरणका निम्ति सरकार तथा सरोकारवाला निकायले उचित ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित