बुधबार, ५ कार्तिक २०७७
DainikNepal.com
बुधबार, ५ कार्तिक २०७७

प्रदेश १ को नाम ‘सप्तकोशी’ राखौं

खेमचन्द्र ढकाल २०७७ कार्तिक १ गते १२:२०

हाम्रो देश नेपाल र नेपाली समाज सनातन धर्म, संस्कृति र अतिप्राचीन मानव सभ्यताको अनुपम जगमा उभिएको छ ।

विश्वका प्राचीन सभ्यता र ती सभ्यताको जगमा विकास भएका अन्य राष्ट्रहरूभन्दा यो भूमिले पृथक पहिचान बोकेको छ । पृथ्वी सृष्टिसंरचना, मानवसृष्टि र मानवसभ्यता यो भूमि र हामी अति प्राचीनकाल देखिनै थिए र थियौं भन्ने अनेकौं मानवशास्त्रीय र ऐतिहासिक प्रमाणहरू छन् ।

हजारौं हिमश्रृंखला र शिखरहरू, अधित्यका, उपत्यका, पहाड, बेंशी र फाँटहरू, मैदान तराई तथा सयौं नदी–नाला एवं महानदीहरूको अपार प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो दिव्यभूमि र सरिताका किनारहरूमा प्राचीन पूर्वजहरूले सभ्यता, संस्कृति निर्माण र विकास गरेर हामीलाई दिएका हुन् । पशुचारी एवं यायावरीय जीवनलाई नदीहरूका किनारहरूमा बिसाएर हाम्रा पूर्वजहरूले आफ्ना अमूल्य अनुभूति ज्ञान, विज्ञान कलालाई सभ्यताको रूपमा सजाएका थिए ।

सामाजिक, धार्मिक र जातीय सहिष्णुता, विविधता र संस्कृतिक समन्वयको बलियो जगमा उभिएको नेलाली समाज बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक हुनुमा गौरव गर्दछ । नेपाल राष्ट्र र नेपाली समाजले उच्च आचारण र आदर्शको अनुशीलन गर्दै आएको छ । हाम्रा ऋषि—मनिषीहरू र पूर्वजहरू प्राचीन सभ्यता संस्कृति निर्माणकर्ता मात्र थिएनन्, विश्वका लागि महान् र सफल अभियन्ता थिए ।

खेमचन्द्र ढकाल

हिमालयको सभ्यता अतिप्राचीन सभ्यता हो । यही सभ्यताले आदिकालदेखि नै पाशुपत सभ्यताको समेत प्रतिनिधित्व गरिरहेको छ । प्राचीन युगमा रोम, ग्रीक, युनान आदि सभ्यता निर्माण हुनुभन्दा पूर्व नै यो हिमाली सभ्यताको सम्पन्नता विश्वका कुनाकुनामा गाइन्थ्यो । यो सभ्यताले भगवान् शिवको संरक्षणमा शिवका पार्षद् नन्दी र नन्दीगणको नेतृत्वमा प्राप्त गरेको सम्पन्नता र नन्दीको शौर्य पराक्रमलाई मन पराएर ग्रीक, युनानी र रोमवासीहरूले आफ्नो सभ्यता निर्माणको प्रारम्भमा हिमालयीय सभ्यताबाट प्रभावित भई शिवसँग नन्दीको प्रतीक मागेर लगेका थिए भने सिन्धुघाटीको सभ्यता निर्माण पूर्वदेखि नै भगवान् शिवसँग नन्दीको पूजामहिमा आष्ट्रिक, द्रविड र किराँतहरूमा पनि कम थिएन । उनीहरूका मुख्य देवता शिव थिए भने नन्दी उनीहरूका वास्तुदेव थिए ।

हाम्रो पाशुपतक्षेत्रका नन्दी सिन्धुघाटी, द्रविड–अष्ट्रिकहरू र किराँतहरूका मूर्धन्य देवता हुँदै मिश्र, ग्रीस र यूनानका विशाल महलहरूमा एपिक नामको साँढेको रूपधारण गरेर त्यहाँका निवासीहरूले उनलाई पखेटा लगाईदिन्छन् र बाबुलका जनकविलाहरूमा घुम्दै निनब्बे, ओसिरीका महलहरूको रक्षकको रूपमा पंखधारी पुंगव, अपादानका खम्बाहरूमा विराजमान हुँदै त्यहाँका निवासीहरूले उनलाई मानवमुखी दाह्री लगाइदिन्छन् ।

मिश्रका गूम्बजदार अस्थिसञ्चयक पुण्यगार (पिरामिड), मिश्रका चमत्कारिक खम्बा र स्तूपहरू, पारसी–पोलिसका र बेहिस्तूनका स्मारकहरूमा तिनै नन्दी अशोकका विष्मयकारी स्तम्भमा विकसित भएको इतिहास हामीसँग साक्षी छ । यसलाई हामीले सम्राट अशोकद्वारा लुम्बिनीमा स्थापित गरिएको अशोकस्तम्भमा देख्न सकिन्छ । यो संस्कृति र सभ्यता निर्माण र विकासको एउटा अनुपम उदाहरण हो ।

आजको मध्य एसिया, दक्षिणएशियाको उत्तरपूर्वी समुद्रका किनार र उत्तर हिमालयका काखमा मंगोलीयन र मुन्खमेर (किराँत) सभ्यताको उदय र विकास भइसकेको थियो । त्यस समयमा (किराँत म्न्खमेर) र मंगोलीयनहरूका देवाधिदेव महादेव शिवको सान्निध्यमा पाशुपत खण्डको दक्षिण पूर्वी मैदानमा इषीरथ र त्यसको पश्चमी मैदानी भागमा महान् मनीषि पुलह, और्व, भृगु आदि ऋषिहरू कौशिकी र गण्डकी सभ्यताको निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै थिए ।

इषीरथ–कुशिक वंशका विश्वाममित्रका पिता कान्यकुब्जपति गाधीले प्राचीन मनुभरत पुरुकुत्सकी कन्यासँग विवाह गरेका थिए । तीदेखि सत्यवती नामकी कन्याको जन्म भयो र ती कन्याको जमदग्नि ऋषिका पिता ऋचीकसँग विवाह भएको थियो । तिनै सत्यवतीको नामबाट आजको सप्तकोशीको नाम पनि सत्यवती राखिएको थियो । यो भूमिको नाम पनि सोही आधारमा सत्यवती राखिएको थियो ।

यथा —गाधेः कन्या महाभागा नाम्ना सत्यवती शुभा ।
तां गाधि काव्यपुत्राय ऋचीकाय ददौ प्रभुः ।।
ब्रह्मपुराण— १०/२८/२९ ।
ततःसत्यवती पुत्र जनयामास भार्गवम् ।
तपस्याभिरतं दान्तं जमदग्नि समात्मकम् ।।
कभृगोर्जगत्यां वंशे मिन् जमदग्निरजायत ।
ब्रह्मपुराण —१०/४८/४९।
सा हि सत्यवती पुण्या सत्यधर्मपरायणा ।
कौशिकीति समाख्याता प्रवृतेयं महानदी ।।
ब्रह्मपुराण —१०/५०।

यी श्लोकहरूको अर्थ– इषीरथ–कुशिक वंशका विश्वाममित्रका पिता कान्यकुब्जपति गाधीले प्राचीन मनुभरत पुरुकुत्सकी कन्यासँग विवाह गरेका थिए । तीदेखि सत्यवती नामकी कन्याको जन्म भयो र ती कन्याको जमदग्नि ऋषिका पिता ऋचीकसँग विवाह भएको थियो । तिनै सत्यवतीको नामबाट आजको सप्तकोशीको नाम पनि सत्यवती राखिएको थियो । यो भूमिको नाम पनि सोही आधारमा सत्यवती राखिएको थियो ।

यहाँ मैले सन्दर्भबस मात्र यी श्लोकहरू उत्धृत गरेको हूँ । अन्य सबैजसो इतिहास र पुराणदिमा यसरी नै वर्णन गरिएको छ । त्यस समयमा पाशुपत क्षेत्रको समेत नामकरण सत्यवतीका नामले आजको नेपालले ख्याति पाएको थियो । गाधीपुत्र विश्वामित्रका पुत्र गालब, संस्कृति, मधुच्छन्दा र अजीगर्तका छोरा शुनःशेफ आदि थिए । आफ्ना पुत्र र शिष्यहरूलाई साथमा लिएर कौशिकी सभ्यता सम्पन्न बनाउने महान् ऋषिहरू विश्वामित्र र जमदग्नि मामा भान्जा नेता थिए भने गालब शुनःसेफ आदि सहयोगी थिए ।

प्राचीन प्राग्वैदिक युगमा वर्तमान नेपालभूमिको भौगोलिक संरचना हिमालय, नदीहरू, कबिलायी जन, जनगण ग्राम र जनपदमामा आधारित थियो । पछि कुल, गोत्र वंशमा विकास हुँदै वैदिकयुगमा स्वराज्य, राज्य, गणराज्य राष्ट्रराज्य, वैराज्य र साम्राज्य आदिमा विभाजित थियो । मध्ये युगमा वंशीय, कलीय राज्यहरूमा विकास हुदै नेपाल एकीकरणभन्दा पूर्व बाईसे÷चौबीसे र कहिँ कहिँ जातीय गणराज्य रहेका देखिन्छन् । नेपाल एकीकरणपछि मात्र राजनीतिक, प्रशासनिक ईकाइहरू तीव्ररूपमा निर्माण र विकास भएको देखिन्छ ।

जहानीयाँ निरंकुश राणाशासन, निरंकुश रानतन्त्र र पञ्चायती शासनको तीव्र दमन उत्पीडन र लोकतान्त्रिक सामाजिक परिवर्तनका आन्दोलनहरूको चेतनाले नेपाली जनतामा क्षेत्रीय जातीय जागरण पैदा भयो । लोकतन्त्र र सामाजिक परिवर्तनका आन्दोलनहरूको उठानसँगै जातीय, क्षेत्रीय भाषिक साँस्कृतिक आन्दोलनहरू पनिसँगै उठेका थिए । त्यसलाई मत्थर बनाउनका लागि पञ्चायती राजतन्त्रले २००७ सालपछि राजनीतिक, प्रशासनिक भौगालिक विभाजन गाउँ, जिल्ला, अञ्चल र क्षेत्रमा विभाजित गर्दा अधिकांश अञ्चल, जिल्लाहरू र गाउँहरूको नामकरण नदी, पहाड, पर्वत र धार्मिक साँस्कृतिक ऐतिहासिक सन्दर्भहरूलाई स्मरण गराउने र गौरुवबोध हुनेगरी नै गरिएको थियो । तर पञ्चायती व्यवस्थाको अन्ततिर निरंकुश राजतन्त्रको तीब्र दमन उत्पीडनले जातीय क्षेत्रीय भाषिक साँस्कृतिक असन्तोषहरू व्यापक बन्दै गइरहेका थिए ।

२०४६ सालको संयुक्त जनआन्दोलनले निरंकुश पञ्चायती व्ववस्था अन्तगरि बहुदलीय व्यवस्थाको स्थापना भयो । तर, ती जनअसन्तोषका मुद्दाहरू यथावत नै रहेकाले तिनै असन्तुष्टिका बीचमा र त्यसैका जगमा २०५२ सालदेखि माओवादी युद्ध शुरू भयो र त्यसैमा माओवादीले राजनीतिक शक्ति आर्जन गर्ने आधार बनायो ।

२०६२/०६३ सालको संयुक्त जनआन्दोलनको समयमा लोकतान्त्रिक गणतन्त्रको मुद्दा अहम् भएकोले जातीय क्षेत्रीय मुद्दाहरू राजनीतिक आन्दोलनमा नै समेटिएका देखिन्थे । तर, ती मुद्दाहरूमा बाह्य शक्तिकेन्द्रहरूको चलखेल भएकाले आन्दोलनको सफलतापछि पनि ती शक्तिहरूका स्रोत र समर्थनमा मधेश आन्दोलन उठाइयो र त्यसका वरिपरि जातीय आन्दोलन पनि उठाइयो । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै २०६४ सालको निर्वाचनद्वारा संविधानसभा निर्माण भयो र संविधान रचनाको क्रमसँगै अनेक जातीय, क्षेत्रीय, भाषिक र साँस्कृतिक प्रदेशहरू प्रस्तावित थिए ।

तर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका संविधान जारी गर्नु पूर्व जनआन्दोलनका प्रमुख राजनीतिक शक्तिहरूको सहमतिमा ७ वटा प्रदेश बनाउने निर्णयसहित अंकमा प्रशासनिक भौगोलिक विभाजन गरी सबै प्रदेशहरूको नामकरण र स्थायी राजधानीको टुंगो गठन हुने प्रदेशसभाले गर्ने अधिकार संविधानले नै प्रदेशसभालाई प्रत्यायोजन गरेको थियो ।

गत २०७४ सालको निर्वाचनभन्दा पूर्व नेपालका ठूला २ वटा कम्युष्टि पार्टीहरू नेकपा (माओवादी) र नेकपा (एमाले) एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उक्त निर्वाचनमा नेपालको राजनीतिक इतिहासमा नै पहिलोपटक दुईतिहाइको सरकार बनाउन सफल भयो । राष्ट्र, राष्ट्रियता स्वाभिमान र स्वाधीनताको आन्दोलनको इतिहासमा पनि नेपाली जनता र नेपाल राष्ट्रलाई एकताबद्ध बनाउन वर्तमान राजनीतिक नेतृत्व र सरकारले कुशल भूमिका निर्वाह गरेको छ ।

नेपालको संविधान २०७२ घोषणा हुनुपूर्व अस्थायीरूपमा अंकमा सम्बोधन गरिएका ७ वटा प्रदेशहरूको नामकरण र स्थायी राजधानीको टुंगो लगाउने निर्णय ५ वटा प्रदेशले कुशलतापूर्वक सम्पन्न गरेका छन् र प्रदेश १ र २ को निर्णय गर्न बाँकी छ । सुदूरपश्चिम प्रदेशबाहेक ३ वटा प्रदेशले प्राचीन सभ्यता संस्कृति र ऐतिहासिक महत्वलाई झल्काउने गरी नेपालका प्रसिद्ध नदीहरूको नममा आधारित भएर प्रदेशको नाम र राजधानीको टुंगो लगाए भने भरखरै ५ नम्बर प्रदेशले पनि प्राचीन लुम्बिनी सभ्यता संस्कृति र महात्मा भगवान् बुद्धको महिमामा गौरान्वित हुनेगरी प्रदेशको नाम लुम्बनी र नेपालको प्रकृतिको वरदान मानिने दाङ देउखुरीको अतिसुन्दर भूमिमा राजधानी तोकेको छ ।

बाँकी रहेका प्रदेश १ र २ पनि नाम र स्थायी राजधानीका टुंगो लगाउन प्रयत्नरत छन् । प्रदेश २ को नाम र स्थायी राजधानीको निर्णय गर्न नसक्नुको पछाडि मधेशवादी राजनीतिक दलहरूको चरम स्वार्थको परिणाम हो । १ नम्बर प्रदेशमा नै विश्वको सर्वोच्च शिखर सगरमाथा र समुद्री सतहदेखि विश्वको सबैभन्दा होचो भूमि केचनाकवच यहीँ पर्दछ । प्रदेश १ को नाम र स्थायी राजधानीको निर्णय गर्न अरु प्रदेशका भन्दा अति सहज देखिन्छ ।

प्रदेशको नाम प्राचीन सभ्यता संस्कृति र भूमि र नदीहरूका ऐतिहासिक महत्व दर्शाउने गरी ‘सप्तकोशी’ राख्दा कसैलाई पनि अन्याय होला भन्ने लाग्दैन । तर, किन ढिलाई गरेको हो भन्ने जिज्ञासासहित ‘कौशिकी’ प्रदेश नामाकरण गरिनुपर्ने ऐतिहासिक आधारहरू मैले पस्कन खोजेको छु ।

विश्वका मानव सभ्यताहरूमा कौशिकी सभ्यता अतिप्राचीन र सम्पन्न सभ्यता मानिन्छ । नेपालको झण्डै १५ प्रतिशत भूभागलाई छेकेर साना ठूला सयौं खोला र अन्य नदीहरूलाई आफूमा समाहित बनाउँदै प्रत्येक कोशी नदीहरू अलग–अलग हिमालको चुचुरोबाट निस्किएर नदीप्रणालीमा एकाकार भएर हिमाल, पहाड, फाँट र पहाडका मैदानहरू र मानव बस्तीहरूलाई सुशाोभित बनाउँदै आफ्नो प्रवाहका आसपासका भूक्षेत्रलाई उर्वरा र सुसम्पन्न बनाउँदै महाभारत पर्वत श्रृंखलाहरू पार गर्दै नेपालको कौशिकी सभ्यताको धरोहर मानिने धार्मिक साँस्कृतिक र ऐतिहासिक धाम बराहक्षेत्र निकट आई पुग्दा विशाल सप्तकोशी महानदी प्रणालीमा एकाकार भएर पूर्वी तराईको चतराधाम हुँदै प्राचीनकाल देखिनै सप्तकौशिकी नामले विख्यात हुँदै नेपालको सीमा पार गरेर भारतमा प्रवेश हुन्छ ।

अरुण वरुण तमोर सुनकोशी आदि सबै कोशी नदीहरूभित्र पर्ने हिमाल, पहाड र तराईका मानव बस्तीहरू अतिप्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित छन्् । सनातन शिव किराँत सभ्यता र संस्कृतिसँग सम्बन्धित जनगण, जाति जनजातिहरू मूलतः सम्पन्न सभ्यता र संस्कृतिका द्योतक हुन् । गंगा यामुना र सिन्धू सरस्वती नदीदेखि उत्तर पूर्वमा अवस्थित सबै भूभाग मूलतः अतिप्राचीन हिमालय कैलाशको सभ्यततको क्षेत्रमा पर्दछ । यसभित्र हाम्रो कौशिकी सभ्यता विश्वको दास्रो सभ्यता मानिन्छ ।

यो सभ्यता र संस्कृति शिव किराँतेश्वर र माता अम्बाद्वारा संस्थापित संरक्षित र प्रवद्र्वित थियो भन्ने विषय वेद, पुराण र मानवशास्त्रीय इतिहासहरूमा वर्णन गरिएका छ । पृथ्वीमा १२ वर्षसम्म पानी नपरेर सम्पूर्ण वनस्पति, जीव जगत्को बिनासकोे अवस्थामा पुगेको हुनाले त्यसलाई रोक्नका निम्ति महर्षि विश्वामित्रले कौशिकीको तिरमा १२ वर्षसम्म घोर तपस्या गरि वर्षा गराएको वर्णन सबै वेद पुराण र इतिहासहरूमा वर्णन छ ।

नकिंचिदवदत् विप्र मौनव्रतमुपास्थितः ।
अथ वर्षसहस्रं च नोच्छवासन् मुनिपुंगव ।
तस्य वर्षसहस्त्राणि घोरं तप उपासतः ।। बालकाण्ड ६३ र १५
कौशिकीतीरमासाध्य तपस्तेपे दुरासदम् । बालकाण्ड । ६३ ।१४

कौशिकीका तिरमा आएर ऋषिविश्वामित्रले घोर तपस्या गरे । ऋषिको तपस्याका प्रभावलले इन्द्रको आसन डोलायमान भएकोले पटक पटक इन्द्रले विघ्न खडा गरेका थिए । ऋषि विश्वामित्रले १ हजार वर्षसम्म स्वासै नफेरी कठोर मौनव्रतधारण गरि तपस्या गरेको हुनाले ब्रह्मर्षि तथा मुनि कहलाइए ।

त्यस समयमा पाशुपत क्षेत्रको समेत नामकरण सत्यवतीका नामले आजको नेपालले ख्याति पाएको थियो । गाधीपुत्र विश्वामित्रका पुत्र गालब, संस्कृति, मधुच्छन्दा र अजीगर्तका छोरा शुनःशेफ आदि थिए । आफ्ना पुत्र र शिष्यहरूलाई साथमा लिएर कौशिकी सभ्यता सम्पन्न बनाउने महान् ऋषिहरू विश्वामित्र र जमदग्नि मामा भान्जा नेता थिए भने गालब शुनःसेफ आदि सहयोगी थिए ।

यजुर्वेदमा ऋग्वेदका मन्त्रहरूको समायोजन, यजुर्वेदका अधिकांश सुक्तहरूका रचना र गायत्रीमन्त्र, मन्त्रतत्वको आविष्कार तथा साधना उपासना पद्दति महर्षि विश्वामित्रले यहि भूमिमा संस्थापित र विकसित गरेका थिए । त्यतिमात्र होइन, विश्वकल्याणको संकल्पसहित महर्षि कुशिक, विश्वामित्र, दधीचि, और्व, ऋचीक, जमदग्नि आदि सयौँ ऋषि मनीषिहरूले गायत्रीमन्त्रतत्वसँग माहेश्वर पाशुपत महायोगलाई एकाकार गरी विश्वमानवको आध्यात्मिक, भौतिक, उन्नति, प्रगति एवं समृद्धिमा अद्वितीय योगदान गरेका थिए ।

मानवजाति इतिहासको जगमा उभिन्छ, गौरव गर्छ, वर्तमानमा पौरख गर्दछ र उसले सुदूर भविष्यको समृद्विको सपना देख्दछ, जीवनयात्राको मार्ग निर्माण गर्दछ । वर्तमान समयमा हामी नेपाल राष्ट्र, नेपाली जनता उन्नति समद्धि र नेपालभूमिको गौरव बढाउने महाअभियानमा दृढसंकल्पित छौं । उपरोक्त कौशिकी सभ्यता र संस्कृतिको गौरवमय इतिहासको जगमा उभिएर प्रदेश नम्बर १ को नामाकरण सप्तकोशी गर्नु वाञ्छनीय छ ।

यो नाम राख्नाले यहाँको दिव्य पवित्र भूमिको महिमालाई अझ अभिवृद्धि गर्नुका साथै प्राचीन सभ्यता र संस्कृतिको उत्खनन र उन्नयन गर्ने अविछिन्नतालाई प्रकट गर्दछ । यो सनातन सभ्यता धर्म र संस्कृति गौरवको प्रतिबिम्ब भएको हुनाले यसले नेपाल र नेपालको सम्मान र गौरव बढाउने छ ।

अस्तु !

प्रतिक्रिया
सम्बन्धित