बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन

दैनिक नेपाल २०७७ कार्तिक १ गते ६:३२

काठमाडौैं, १ कात्तिक । नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि बढ्न पुगेको छ ।

कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयनमा आशंका हुन थालेको छ । आमनागरिकमा अनुशासन हराउँदै जाँदा मापदण्ड कार्यान्वयनमा नै समस्या सिर्जना भएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डका अधिकांश बुँदाहरू कार्यान्वयनमा आउन नसक्दा जोखिम दिन प्रतिदिन बढ्दै गएको विज्ञहरूको भनाइ छ । हाल औसतमा दैनिक २ हजार ५ सय जनाको हाराहारीमा संक्रमित थपिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले गत २२ साउनमा चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड जारी गरेको थियो । अहिले पनि अधिकांश सर्वसाधारणले भौतिक दुरी पालना गरेका छैनन् भने मास्कको समेत समुचित प्रयोग गरेका छैनन् ।

सर्वसाधारणदेखि उच्च ओहोदामा बसेकाहरूको हेलचेक््रयाइँले जोखिम थप बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले बजारमा सामान किन्नका लागि सर्वसाधारणको दिनहुँ घुइँचो लाग्ने गरेको छ । बजारमा अत्यधिक भीड भए पनि न त स्वयं व्यक्ति सतर्क रहन्छन् न त स्थानीय प्रशासनले भीडलाई नियन्त्रण गर्न कुनै प्रभावकारी कदम नै चाल्न सकेको छ ।

अत्यावश्यक र अनिवार्यअन्तर्गत सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोवास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नुपर्ने भएमा कम्तीमा २ मिटरको दुरी अनिवार्य रूपमा कायम गर्नुपर्ने प्रावधान मापदण्डमा छ ।

यस्तै, चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने, जानैपर्ने भए सहभागी हुँदा मास्क वा ३ तहको कपडाको मास्कको प्रयोग अनिवार्य रूपले गर्नुपर्ने बुँदा समेटिएको छ । मापदण्डमा चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने उल्लेख छ ।

अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने तर अँगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने, अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) सकेसम्म नछुने, छुनै परेमा हात धोई वा हातमा स्यानिटाइजर प्रयोग गरी मात्र छुने विषय मापदण्डमा समेटिएको छ । सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएबमोजिम पैसाको कारोबार गर्दा विद्युतीय माध्यमबाट कारोबार गर्ने बुँदा मापदण्डमा उल्लेख छ । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित