शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनाले समाजलाई के दियो, के छिन्यो ? यस्ता छन् फाइदा र खतराहरु

एसपी उप्रेती २०७७ असोज २९ गते २१:३१

-एसपी उप्रेती

मानव अस्तित्वले सदियौँदेखि विभिन्न किसिमका समस्याहरु झेल्दै आएको छ । बीबीसीको एक रिपोर्टअनुसार विगत २ सय वर्षको अवधिमा मानिसले करिब आधा दर्जन बढी महामारीकै प्रभाव खेपेको छ ।

तर यसरी विश्व नै ठप्प हुने किसिमको महामारी भने यो नै सम्भवत पहिलो हो । विश्व चलायमान भइरहेको बेलामा कोरोनाभाइरस संक्रमणको महामारी एक पृथक चुनौतीको रुपमा विश्व सामु आयो ।

मानिसको जीवन गतिशील बनिरहेको समयमा कोभिड १९ एक अनौठो परीक्षा बनेर फैलियो । लाग्छ कतिपय हलिउड मुभीहरुमा हेरिएका भयानक दृश्य झैँ वास्तविक जीवनमा तीव्रतर गतिमा कोरोना झाँगियो ।

यो कहाँबाट कसरी आयो भन्ने विषयमा अझै पनि विश्वका शक्ति राष्ट्रहरुबीच फरक मत रहँदै आएको छ । खैर जे होस् यसले मानिसको लय बदलेको छ । जीवनशैली परिवर्तन गरेको छ । मानिसदेखि मानिस साँच्चै डराउनुपर्ने वातावरण सिर्जना गरिदिएको छ ।

मानिस एक सामाजिक प्राणी हो । उ एक्लै कहिल्यै पनि शान्त र खुशी रहन सक्दैन । उसलाई कुनै न कुनै रुपमा कसै न कसै तवरले दास्रो मानिसको साथ चाहिन्छ ।

त्यसैले एकदेखि दुई हुँदै परिवार र समूहको रुपमा मानिसले जीवनयापन गर्दै आएका छन् । उसका हरेक किसिमका दुःख सुख एक अर्कामा बाँडेर बस्ने स्वभाव मानिसमा रहेको हुन्छ ।

वास्तवमा मानिसले अर्काको निम्ती अनुभव गर्दछन् । अरुको समस्या वा दुःखमा साथ दिन सक्छन् । त्यसैले पनि मानिस मानिसबीच विशेष किसिमको आढ भरोसा, विश्वास र माया प्रेम रहेको हुन्छ । अझ भनौँ यी तत्वबिना त जीवन यथार्थमा फिक्का बन्दछ ।

विगतमा आएका महामारीहरुले विश्वमा विभिन्न प्रकारका रुपान्तरण ल्याएको छ । चाहे विज्ञानको क्षेत्रमा होस् वा सामाजिक आर्थिक क्षेत्रमा किन नहोस् । वास्तवमा समाज र मानिसको जीवनमा कायापलट गरिदिएका छन् महामारीले ।

सन् २०१९ को डिसेम्बरबाट विश्वले कोरोनाभाइरसको सामना गरिरहेको छ । निकै ठूला ठूला स्रोत साधन सम्पन्न राष्ट्रहरु पनि आक्रान्त बनेका छन् । विश्वको अर्थतन्त्र तहसनहस भएको छ ।

नेपाल जस्तो मुलुक पनि यसको प्रभावले शिथिल बनेको छ । यसैपनि स्वास्थ्य तथा सामाजिक संरचना फितलो भएको हाम्रो जस्तो देशमा यस किसिमका महामारी एवम् प्राकृतिक प्रकोपले झन् ठूलो समस्याको सिर्जना गरिदिन्छन् ।

यस्तो कुनै क्षेत्र छैन जहाँ यसको प्रभाव महसुस नभएको होस् । किनकी समाजका हरेक क्षेत्रहरु एक अर्कासँग सम्बन्धित हुने गर्दछन् । जस्तै, गुणस्तरीय शिक्षाले उन्नत समाजको निर्माण गर्दछन् । उता गुणस्तरीय शिक्षाका लागि पर्याप्त आर्थिक व्यवस्था हुन आवश्यक छ ।

त्यसैगरी, सबै आयामहरु एक अर्कामा जोडिएका छन् । एकमा परेको प्रभावले अर्काेलाई प्रत्यक्ष र परोक्ष रुपमा असर गरिहेको हुन्छ । संसारमा जति पनि क्षेत्रहरु छन् ति सबै समाजकै विविधता हुन् । समाजभन्दा पर केही छैन कम्तीमा मानिसका लागि ।

शिक्षा, स्वास्थ्य, पर्यटन, धर्म, व्यापारलगायतका क्षेत्रहरु सबै समाजकै अभिन्न पाटाहरु हुन् । त्यस्तै, पारिवारिक सुसम्बन्ध, खुशी, माया प्रेम, सद्भाव, विश्वास आदि सुसंस्कृत समाज निर्माणका मनौवैज्ञानिक पक्षहरु हुन् ।

तर यी सबैमा पनि कोभिडको नकारात्मक प्रभाव महसुस गरिएको छ । अब हेर्छौँ भने यस्ता के चाँही सेक्टरमा कोरोनाको प्रभाव छैन त ? निश्चय पनि सबै क्षेत्रमा भारी प्रभाव परेको छ ।

यदि विश्लेषण गर्ने हो भने कोरोनाभाइरसले के केमा प्रभाव पारेको छ त ? यसले समाजको सबै क्षेत्रहरुमा नकारात्मक एवम् सकारात्मक प्रभाव पारेको छ । यहाँ कोरोनाभाइरसले पारेको दुवै किसिमका असरहरुको सानो विश्लेषण गरिँदैछ ।

कोरोनाले ल्याएका सकारात्मक प्रभावहरु:

१. कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर अपनाइएको सतर्कताले मानिसको जीवनशैलीमा आमूल परिवर्तन ल्याएको छ । नियमित हात धुने, स्वास्थ्य मापदण्ड अपनाउने, सरसफाइमा ध्यान दिनेलगायतका कार्यहरुले मानिसहरुमा अन्य संक्रामक रोगहरुको जोखिम कम भएको छ । त्यस्तै, लकडाउन र निषेधाज्ञाले विश्वकै वातावरण शुद्धिकरणमा योगदान गरेको छ ।

त्यसैगरी, सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्यामा उल्लेख्य रुपमा कमी आएको छ । जीविकोपार्जनका लागि प्राकृतिक संसाधनको प्रयोग बढेको छ । विशेषगरी कृषि पेशा निकै महत्वपूर्ण भएको व्यवहारिक रुपमा प्रमाणित गरिदिएको छ ।

२. परिवारमा गुणस्तरीय समय दिने अवस्थाले गर्दा एक आपसमा घनिष्टता कायम राख्न मद्दत पुगेको छ । आमाबाबु र छोराछोरीबीचको पुस्ताको ग्याप बुझ्न सहयोग गरेको छ । जसले गर्दा आपसमा सुमधर सम्बन्ध बन्न सहयोग गरेको छ ।

३. चौतर्फी रुपमा विभिन्न प्रयोजनका लागि इन्टरनेट र भर्चुअल दुनियाँको सदुपयोग भएको छ । वैकल्पिक विधिबाट आर्थिक उपार्जनका कार्यहरु भएका छन् । त्यस्तै, शैक्षिकलगायतका गतिविधिमा अनलाइन माध्यम र आइसीटीको उचित सदुपयोगिताले मानिसको हरेक क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ ।

४. मानिसहरु प्रकृतितर्फ कृतज्ञ बनेका छन् । यो फुर्सदको समयमा विभिन्न पायक पर्ने प्राकृतिक जंगल, नदी नाला, झर्ना, ताललगायतका स्थानहरुमा घुम्ने अवसर जुटेकोले प्राकृतिक संरक्षणका निम्ति सकारात्मक भावना पैदा भएको छ । अन्ततः मानिसले प्रकृतिसँग सहकार्य गर्नु नै अन्तिम विकल्प हो । यो महसुस अक्सर मानिसहरुमा भएको छ ।

५. कोरोनाभाइरस, लकडाउनले संसारभरी सबैभन्दा बढी आइसीटीसँग सम्बन्धित व्यापार बिजनेस निकै फस्टाएका छन् । जसले गर्दा भौतिक रुपमा उपस्थिति नभइकन पनि आवश्यक कार्यहरु सम्भव बनाइदिएका छन् ।

नेपालकै परिपेक्षमा पनि डिजिटल पेमेन्टको व्यवस्था, अनलाइन स्टडी, अनलाइन मिटिङ आदि सम्भव भएका छन् । त्यस्तै, विभिन्न ग्रामीण भेगमा इन्टरनेटको विस्तारमा सम्बन्धित निकाय लागेको छ । वास्तवमा लकाडउनले नेपालमा इन्टरनेट साक्षरतमा वृद्धि गरेको छ ।

६. नेपाल जस्तो स्वास्थ्य संयन्त्र कमजोर भएको देशमा यो महामारीले गर्दा गाउँ गाउँमा स्वास्थ्य संरचनालाई तुलनात्मक रुपमा मजबुत बनाउने प्रयास गरिएको छ । कोरोनाका लागि मात्रै नभएर अन्य बेला पनि आवश्यक स्वास्थ्यसामाग्रीहरु थपिएका छन् ।

७. विदेशमा पनि रोजगारीको कटौती भएकाले नेपालमै रोजगारी सिर्जनाका लागि विशेष कदम बनेको महामारी । जसले गर्दा एकदमै दक्ष जनशक्तिहरुले नेपालमै आफ्नै सीप र क्षमताको सदुपयोग गरेर जीवनशैलीलाई सुधार्न मद्दत हुनेछ ।

८. विज्ञानका नयाँ नयाँ आविष्कारहरुका निम्ति ढोका खोलेको छ । त्यस्तै, भविष्यमा हुनसक्ने यस्ता किसिमका महामारीमा लड्न विश्वलाई तयारी अवस्थामा राख्न कोरोनाले घचघच्याएको छ ।

कोरोनाले समाजमा सिर्जना गरेका नकारात्मक प्रभावहरु:

१. कोरोना संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै कायम गर्नुपर्ने मानिसबीचको सामाजिक दूरीले मानवीयतालाई नै चुनौती दिएको छ । यो कस्तो समय हो जहाँ एक भए सुरक्षित हुन सकिने तर समूह बने जोखिम बढ्ने ?

आजसम्मका अवस्थामा एक ढिक्का भएर साथ सहयोगले बाँचौँ भन्ने अवस्था थियो । तर कोरोनाका कारणले आफ्नै बुबाआमा वा छोराछोरीको निधन हुँदा समेत छुन नपाउनुको पीडाले मानिसलाई दुःखी तुल्याएको छ भने मानवीय मूल्य मान्यतामा गम्भीर प्रश्न खडा गरेको छ ।

२. मानिसहरुबीच विश्वासको वातावरणमा कमी आएको छ । सद्भावपूर्ण समाजको निर्माणको लागि विश्वास सबैभन्दा महत्वपूर्ण तत्व हो । तर कोरोना संक्रमणको त्रासले मानिस मानिसबीचको भरोसा र विश्वासमा कमी ल्याएको छ ।

तत्कालका लागि सोच्दा यो उति धेरै चिन्ताका विषय नहुन सक्छ । तर यदि यस्तै अवस्था अबका केही वर्ष रहेमा अझै सामाजिक दूरी कायम गर्नुपर्ने हुनसक्छ ।

जसले मान्छेबीचको दूरी उल्लेख्य रुपमा बढाउनेछ । फलस्वरुप मानिसले एक्लोपनालाई लामो समयसम्म महसुस गर्नेछन् । यो भने एउटा निकै गम्भीर विषय हुनेछ । किनकी यसले सामाजिक संरचनामा नै नयाँ च्नौती थपि दिनेछ ।

३. रोजगारी गुमेकाले मानिसहरु आर्थिक चपेटामा परेका छन् । जसले गर्दा विभिन्न मनोसामाजिक समस्या उत्पन्न भएको छ भने कतिलाई त गम्भीर किसिमका समस्याले पनि गाँजेको छ ।

४. अनिश्चितताले सताएको छ । अबको भोलिको भविष्य के होला भन्ने चिन्ताले मानिसहरुलाई थप अन्योल सिर्जना गरेको छ । आफ्नो करिअरलगायत विषयमा मानिसहरुलाई एक किसिमको तनाव उत्पन्न गरेको छ । त्यस्तै, कोरोना संक्रमण होला की भन्ने विषयले पनि थप डर पैदा गराएको छ ।

५. अनलाईन कक्षाहरुमा घण्टौँ बस्नुपर्ने हुँदा बालबालिका, किशोरकिशोरी र युवाहरुमा डिजिटल दुर्व्यसनी बढेको छ । जसले गर्दा रिस, चिढचिढाहट, चिन्ता, अनिश्चितता बढाएको छ । त्यस्तै, वयस्कमा पनि समय बिताउने धेरै समय फेसबुक, युट्युबलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा विभिन्न समस्याहरु निम्तिएका छन् ।

६. नेपालका दुर्गम क्षेत्रका विद्यार्थीहरु जो इन्टरनेटको पहुँचमा नपुग्दा आफ्नो अध्ययनसम्बन्धी थप चिन्तामा छन् ।

७. परिवारसँगै बस्दा विभिन्न अनुसन्धानका अनुसार घरेलु हिंसा बढेको छ । जसले श्रीमान श्रीमतीबीचको सम्बन्धमा दरार ल्याएको छ । त्यस्तै, अपराधिक क्रियाकलापहरु पनि बढेका छन् । धेरै समय खाली बस्नुपर्दा मानिसहरुमा विभिन्न किसिमका विचारहरु आउने हुँदा अपराधिक क्रियाकलापमा अग्रसर तुल्याउँछ ।

यसरी कोरोनाभाइरसको जोखिम न्युनिकरणका लागि भएका लकडाउन निषेधाज्ञाले गाउँ शहर सबैतिर चौतर्फी प्रभाव पारेको छ । यसबाट आउन सक्ने भविष्यको चुनौतीलाई सरोकारवाला निकायहरुले बेलैमा सम्बोधन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित