शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोभिड-१९ प्रभाव : आत्महत्या तथा मनोसामाजिक समस्या, कसरी बच्न सकिन्छ ?

एसपी उप्रेती २०७७ असोज २८ गते २१:५८

-एसपी उप्रेती

आउनुस् आज आत्महत्याका बारेमा कुरा गरौँ । एक चोटी सोच्नुस् त कसले आफ्नो जीवन आफैँ किन त्याग्न चाहन्छ होला ? साँच्चै मानिसलाई त्यस्तो के कुराले यो भयानक निर्णय लिन बाध्य बनाउँदो हो ? विश्वका धेरै मनोवैज्ञानिकहरु यस विषयमा अनुसन्धानरत रहेका छन् ।

हालसम्म आत्महत्याको कारण यही हो भनेर ठकुवा गर्न भने सक्ने अवस्थामा विश्व पुगेको छैन । यद्यपि विज्ञहरुका अनुसार आत्महत्याका पछाडी केही तत्वहरुले प्रमुख भूमिका खेलेका हुन्छन् ।

त्यसमा मानसिक समस्या प्रमुख रहेको छ । आत्महत्या गर्ने मानिसको मस्तिष्कमा ठ्याक्के के हुन्छ भन्ने विषयमा हालसम्म सर्वमान्य प्रमाण केही नभए पनि उनीहरु कुनै कुनै तनावमा हुन्छन् भन्नेमा धेरैजना सहमत छन् ।

पछिल्लो समय विश्वमा नै आत्महत्याको दर बढेको छ । नेपाल प्रहरीका अनुसार नेपालमा पनि गत चैतदेखि यही लकडाउन, महामारी र निषेधाज्ञाकै बीचमा ४० प्रतिशत भन्दा बढी आत्महत्याको दर बढेको छ । तथ्यांकका अनुसार हरेक दिन २० जना बढीले आत्महत्या गरेको पाइएको छ ।

पछिल्लो समय आत्महत्याका लागि विश्वमा फैलिएको कोभिड १९ का कारण भएको लकडाउनले प्रमुख भूमिका निर्वाह गरेको विज्ञहरु बताउँछन् ।

सामाजिक दुरी, आउँदो भविष्यको अनिश्चितता, लामो समयको स्ट्रेस, थकान, पीडा, निराशावाद, संक्रमणको जोखिम, जोखिममा काम गर्नेमा समस्या, मृत्युको भय, रोजगारी गुम्नु तथा आर्थिक जटिलताहरुका कारण पहिलैदेखि मानसिक समस्यामा रहेकाहरुका लागि तथा अन्य मानिसका लागि समेत जोखिमपूर्ण अवस्था रहेको छ ।

कोरोनाभाइरस र लकडाउनले गर्दा मानिसको आर्थिक र सामाजिक पक्षमात्रै प्रभावित भएको छैन बलकी मानसिक पक्ष समेत शिथिल बनेको अवस्था छ ।

लकडाउन वा निषेधाज्ञा खुलेपनि संक्रमण घटेको छैन । यो संक्रमणको समय अब आउँदो ६ महिना वा एक वर्ष अथवा अझै बढी समयसम्म पनि लम्बिन सक्छ ।

पछिल्लो ७ महिनामा महामारीको प्रभावका कारण सामान्यदेखि स्वास्थ्य क्षेत्रकै मानिसमा व्याकुलता, चिन्ता, महामारीको त्रास, फ्रस्टेसन, डिप्रेसन, अनिद्रा, स्ट्रेस डिसअर्डर तथा भविष्यमा हुनसक्ने पोस्ट ट्रमालगायतको अवस्था सिर्जना भएको छ ।

सामाजिक दुरी, आउँदो भविष्यको अनिश्चितता, लामो समयको स्ट्रेस, थकान, पीडा, निराशावाद, संक्रमणको जोखिम, जोखिममा काम गर्नेमा समस्या, मृत्युको भय, रोजगारी गुम्नु तथा आर्थिक जटिलताहरुका कारण पहिलैदेखि मानसिक समस्यामा रहेकाहरुका लागि तथा अन्य मानिसका लागि समेत जोखिमपूर्ण अवस्था रहेको छ ।

त्यस्तै, तनावसँग सम्बन्धित अवस्थाहरु जस्तै मुड डिसअर्डर, घरेलु हिंसा आदि इत्यादी उत्पन्न हुने व्यवहारहरु पनि आत्महत्याका बानीहरुमा जोडिएका हुन सक्छन् ।

आत्महत्याको सर्वमान्य ठोस कारणहरु यही हुन् भन्ने छैन भने निवारणका पनि विश्वव्यापी कुनै सिद्धान्त छैन । तर हामीले केही सचेतना भने निश्चित रुपमा अपनाउन सक्छौँ । जसले गर्दा मानसिक समस्या हुन दिँदैन र मानिस आत्महत्या जस्तो कठोर निर्णयमा पुग्दैन ।

पछिल्लो समयको अध्ययन गर्दा कोरोनाभाइरसबाट बचेकाहरु प्नि आत्महत्याको जोखिममा रहेको बताइन्छ । क्वारेन्टिनमा आफ्नो जीवन त्याग्नेसम्मका समाचारहरु बाहिरिएका छन् ।

यसकै कारण विश्वभर आत्महत्याको जोखिम बढेको छ । समयमा नै यसको जोखिम कम गर्न मनोसामाजिक क्षेत्रमा निकै गम्भीर भएर कार्य गर्नुपर्ने आवश्यकता देखिएको छ ।

यी ६ कार्यहरुले आत्महत्या रोक्न भूमिका खेल्दछ 

१. मानसिक स्वास्थ्यसम्बन्धी साक्षरता बढाउने । विद्यालय स्तरदेखि नै मानसिक स्वास्थ्य सम्बन्धी चेतना जगाउन आवश्यक छ । जहाँबाट बालबालिकाहरुले शारिरीक साथै मानसिक रुपमा बलियो बन्ने आधारहरु पहिचान गर्न सक्छन् । जसले गर्दा मानसिक समस्या नहुने र आत्महत्या घट्न सक्छ ।

२. सहयोग माग्न नसक्ने वा आफूलाई कसैको साथ आवश्यक छ भन्ने महसुस नहुने मानिसहरु समक्ष पुग्ने किनकी उनीहरु वास्तवमा समस्यामा हुन सक्छन् । कतिपय मानिसहरु अन्तरमुखी हुने गर्दछन् ।

आफ्नो समस्या अरुलाई नबताउने किसिमका । उनीहरु भित्रभित्रै समस्यामा रहेका हुन सक्छन् । त्यस्ता मानिसहरुलाई पनि हामीले समस्याको भएकोबारे सोधपुछ गरेर दुर्घटना हुनु अघि नै समाधान निकाल्न सक्छौँ ।

३. समुदायमा आत्महत्या हुनसक्ने सम्बन्धी बानी व्यवहारको बारेमा सचेतना फैलाउने । मानिस आत्महत्याको चरणमा पुग्नु भन्दा अघि उसले केही बानी व्यवहारहरु देखाउने गर्छ ।

तसर्थ जोखिम प्रदायक किसिमका व्यवहारबारे समुदायमा जनचेतना फैलाउनु आवश्यक हुन्छ । यसरी जो कोही पनि आफू कस्ता व्यवहार गर्दैछु भन्ने थाहा हुन्छ ।

४. जोखिमका तत्वहरुलाई मात्रै घटाउने भन्दा बालबालिका वा किशोर अवस्थादेखि नै वैज्ञानिक रुपमा प्रमाणित सुरक्षित उपायहरु (प्रोटेक्टिभ फ्याक्टरहरु) बढाउनेतर्फ विशेष ध्यान दिने ।

रोगको समाधान भन्दा समस्या आउनै नदिनेतर्फ हामी बढी गम्भीर हुनुपर्छ । तसर्थ रक्षात्मकभन्दा सुरक्षात्मक उपाय अपनाउनु श्रेयष्कर हुनेछ ।

५. मानसिक स्वास्थ्य तथा आत्महत्या सम्बन्धी भ्रम वा स्टिग्मा हटाउन प्रभावकारी कार्य गर्ने । समाजमा अझै पनि मानसिक स्वास्थ्यका विषयमा धेरै भ्रमहरु रहेका छन् ।

जसरी शरीरमा भएका समस्याहरुको हामी अक्सर सहज ढंगले भन्ने गर्छाैँ, मनका समस्याहरु भन्दैनौँ । कालान्तारमा यो नै ठूलो समस्या बनेर कसैको ज्यान जानेसम्मको अवस्था आइपुग्छ ।

त्यस्तै, आत्महत्या गर्ने मानिसहरुलाई अहिले पनि समाजमा गलत नजरले हेर्ने चलन रहेको पाइन्छ । जबकी मृत्यु कसैको रहको विषय पक्का हुँदैन ।

आत्महत्याभित्र पनि गम्भीर समस्या वा कारण लुकेको हुन्छ । त्यही कारणलाई बेलैमा पहिचान गरेर मानिसलाई सहज जीवनयापनमा सहजिकरण गर्नुपर्छ ।

६. सरकारले जनताको आर्थिक समस्या समाधानका लागि विशेष प्याकेज ल्याउने, इन्टरनेटलाई व्यवस्थित बनाउने । नेपालमै भएका कतिपय आत्महत्याका घटनामा आर्थिक जटिलताका कारण गरेको देखिन आएको छ ।

तसर्थ सरकारले कुनै विशेष प्याकेज ल्याएर निम्न वर्गीय मानिसहरुलाई जीवनयापन गर्न थोरै ब्याजदरमा ऋणको व्यवस्था गर्ने, स्वदेशमै रोजगारीको सिर्जना गर्नेलगायतको कार्य गर्न सक्छ । त्यस्तै इन्टरनेटमा विभिन्न किसिमका सामाग्री उलपब्ध हुने गर्छन् । बर्जित सामाग्रीहरुलाई भने सरकारले व्यवस्थित गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, स्वदेशमै रोजगारीको अवसर सिर्जना गराइँदा विदेशमा मानिसहरुको आत्महत्याको दर घट्ने देखिन्छ । समयमै सरोकारवाला निकायले आमा मानिसको जीवन रक्षाका लागि कार्य गरोस् ।

त्यसैगरी, विश्वव्यापी महामारी बनेको कोभिड–१९ ले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा पनि थप संकट सिर्जना गरिदिएको छ । जसले गर्दा मानिसमा विभिन्न किसिमका मनोसामाजिक समस्याहरु उत्पन्न भएका छन् ।

कुनै पनि आकस्मिक परिस्थिति वा संकटमा डर, चिन्ता, छटपटी, रिस, रुने, कराउने दुखी हुने जस्ता प्रतिक्रया स्वाभाविक हुन् । यसलाई हामीले असामान्य अवस्थामा सामान्य मानिसले देखाउने क्रियाकलाप भन्ने सकिन्छ ।

पछिल्लो परिस्थितिका कारण मानिसमा चिन्ता, डर र अनिश्चितताको महसुस हुनु सामान्य र स्वाभाविक हो । हरेक व्यक्तिले आफ्नो क्षमता र सामना गर्ने सीपको प्रयोग गरेर डर र चिन्तालाई कम पनि गरिरहेका हुन्छन् ।

आफ्नो दैनिक कार्य–व्यवहारलाई सकारात्मक ढंगले अगाडि बढाइराखेका हुन्छन् । यद्यपि, यो महामारीले पार्ने असर व्यक्तिपिच्छे फरक हुन्छ ।

महामारीको यो समयमा देखिने तनावका लक्षण

-कोरोना भाइरस लाग्ला भन्ने डर

-पारिवारका सदस्य, आफन्त र प्रियजनहरूको स्वास्थ्यबारे चिन्तित हुनु (खासगरी आफूभन्दा टाढा रहेकाबारे)

-खानपिनमा परिवर्तन आउनु (कोही खाँदै नखाने, कोही धैरैै खाने)

-आत्तिनु, छटपटी हुनु

-असुरक्षित महसुस हुनु, अनिश्चितता र एक्लोपनाको महसुस हुनुु

-चिन्ता, अविश्वास र डरको महसुस हुनु,

-काम गर्ने उर्जा र क्षमतामा परिवर्तन आउनु

-ध्यान केन्द्रित गर्नमा कठिनाइ

-निदाउनमा कठिनाइ, डरलाग्दो सपना र नराम्रो सोचाइ तथा झझल्को आइरहनु

-टाउको दुख्ने, शरीर दुख्ने, पेट तथा पाचन प्रणालीमा गडबडी, रक्तचाप बढ्ने, श्वासप्रश्वासको गतिमा परिवर्तन हुने, छालामा डावर आउने जस्ता शारीरिक प्रतिक्रियाहरू देखिनु

-दीर्घकालीन स्वास्थ्य समस्याहरू भएमा अझै बिग्रँदै जानु

-चिडचिडापन बढ्नु, झनक्क रिस उठ्नु

-मद्यपान, धुम्रपान वा लागूपदार्थको प्रयोग गर्नु तथा मात्रा बढ्दै जानु

-उदाससिनता वा निराशा महसुस हुनु

– निराशापन, असहायपनको महसुस हुनु

यद्यपि यी लक्षणहरु पनि मानिसपिच्छे फरक हुने गर्दछन् ।

त्यस्तै, अधिक जोखिममा रहेका व्यक्तिहरूमा जेष्ठ नागरिक र दीर्घरोगीहरू, बालबालिका तथा किशोरकिशोरीहरू, पहिलो पंक्तिमा रहेर कार्य गर्नेहरु डाक्टर, स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरू, पहिलेदेखि मानसिक समस्या भएकाहरू, लागूपदार्थका प्रयोगकर्ताहरू हुन् ।

हामीले त्यस किसिमका मनोसामाजिक समस्याबाट बच्नका लागि निम्न तरीकाहरु अपनाउन सक्छौँ ।

१. स्वस्थ जीवनशैली अपनाउने । जसमा नियमित सुत्न र उठ्ने समय निश्चित गर्ने, सन्तुलित भोजन सेवन गर्ने, व्यायाम गर्ने, पानी प्रशस्त पिउने, फलफूलको उचित सेवन गर्ने आदि ।

२. मोबाइल लगायतको प्रयोग सीमित समयसम्म गर्ने ।

३. योग ध्यान, प्राणायाम गर्ने आदि ।

४. खुशी र आनन्द आउने कार्यहरु गर्ने ।

५. साथीसंगीहरुसँग भर्चुअल्ली नै भए पनि भिडियोमार्फत बोल्ने सम्भव भएसम्म भेटेरै बोल्ने, कुरा खोल्ने ।

६.सकारात्मक बन्ने ।

७. यथार्थ स्वीकार गर्ने ।

८. अब पनि छिटै राम्रो हुने आत्मविश्वास राख्ने ।

अन्त्यमा यदि तपाई कसैलाई पनि उल्लेखित समस्या १५ दिनभन्दा धेरै समयसम्म भएको छ भने कृपया कोही प्रमाणित मनोविज्ञ एवम् मनोचिकित्सकसँग परामर्श गर्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित