
भक्तपुर, २७ असोज । भक्तपुरमा एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासीका ९० वर्षीय पुरुष रहेका छन् । उनको कोरोना पुष्टि भएसँगै होम आइसोलेसनमा बसेका थिए ।
सोमबार कोरोना पुष्टि भएका उनको सोमबार राती नै मृत्यु भएको जनाइएको छ ।
त्यस्तै, भक्तपुर नगरपालिका–१० कमलविनायककी ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको थियो ।
उनलाई सोमबार कोरोना देखिएको थियो भने मंगलबार मृत्यु भएको हो ।
त्यस्तै, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारत मिर्गौलापीडित महोत्तरी पिपरा गाउँपालिका–५ का २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केन्द्रमा डायलसिस गराइरहेका ती पुरुषको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, आरोग्य अस्पताल मध्यपुर थिमिमा उपचाररत काठमाडौँ स्वयम्भूका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमका पनि पीडित उनमा आइतबार नै संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया