१ कार्तिक २०८३, आइतबार

‘प्रेसिडेन्ट सि जिङफिङ्स नेपाल भिजिट : अ पिक्टोरियल गाइड’ सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेन्ट सि जिङफिङ्स नेपाल भिजिट : अ पिक्टोरियल गाइड’ सार्वजनिक गरिएको छ ।

चिनियाँ राष्ट्रपति सि जिङफिङले नेपाल भ्रमण गरेको १ वर्ष पूरा भएको अवसर पारेर सोमबार नेपाल–चाइना मिडिया फोरमले एक कार्यक्रमको आयोजना गरी सो पुस्तक सार्वजनिक गरेको हो । कार्यक्रममार्फत पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले सो पुस्तक सार्वजानिक गरेका हुन् ।

सार्वजानिक गरिएको पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्स नेपाल भिजिट : अ पिक्टोरियल गाइड’ मा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, सन योङ/बीएम रेग्मीका लेखहरु समावेश छन् ।

साथै, पुस्तकमा दुई देशका भएका संयुक्त वक्तव्यहरु, दुई देशका उच्चस्तरीय भ्रमणमा भएका सम्झौताहरु, सी भ्रमणका तस्वीर र साथै सि भ्रमणका बेला नेपाली छापा माध्यममा प्रकाशित सामग्रीहरु पनि समावेश गरिएको छ ।

पुस्तक विमोचन समारोहमा पूर्वप्रधानमन्त्री नेपालले नेपाल–चीन सम्बन्ध सधैं हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै कसिलो र घनिभूत बनाउनु पर्ने बताए । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले भने, ‘कागजीरुपमा त लाभ लियौं तर व्यावहारिक रुपमा कति लाभ लिन सक्यौ ? बेल्ट एन्ड रोड इनिसियटिभ्सबाट कति लाभ लिन सक्यौं ? यसको समीक्षा गर्दै भएका सहमति कार्यन्वयनमा जोड दिनुपर्छ ।’

नेपाल चीनको विश्वासिलो मित्र भएको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामी चीनसँग अझ विश्वासिलो र साझेदार देशकारुपमा अघि बढ्न चाहान्छौं ।’

पछिल्लो समय सि जिन फिङले चीनको नेतृत्व सम्हाल्नु भएपछि उनले बेल्ट एन्ड रोडसम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडि सारेको उल्लेख गर्दै नेपालले भने, ‘पुरानो सिल्क रोडले जसरी एसिया र यूरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गर्यो । उहाँ आएपछि यो अवधारणालाई अझ गति प्रदान गर्नुभयो । सिंगो मानवजातीको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिकरुपले लाभ हुने जुन प्रस्ताव अगाडि सार्नुभयो, त्यो अत्यन्तै सरानीय छ ।’

कार्यक्रममा चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले सन् १९६५ मा नेपाल–चीनविच कुटनीतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयामहरुका बारेमा चर्चा गरे । सीमासम्बन्धी सन्धी, पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा भएको व्यापार तथा यातायातसम्बन्धी सम्झौता, बेल्ट एन्ड रोड इनिसियटिभ्समा नेपालको हस्ताक्षर, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भ्रमणका रुपमा राष्ट्रपति विद्या भण्डारीले गरेको चीन भ्रमण र चीनका राष्टपतिबाट २३ वर्षपछि भएको सिको नेपाल भ्रमण दुई देशवीचको सम्वन्धमा कोशेढुंगा भएको उनले बताए ।

चीन विश्वमै उत्पादनको घर र ठूलो व्यापार साझेदार देश भएको उल्लेख गर्दै पूर्व राजदूत पौड्यालले नेपालले चीनबाट लिनसक्ने लाभका विविध पक्षबारे उल्लेख गरे । उनले भने, ‘विश्वमा उदयीमान देश चीनजस्तो छिमेकी मुलक चीनबाट लाभ लिन सकेमा नेपालको समृद्धिको लक्ष्य पुरा हुनसक्छ र नेपाल पनि चीनसँगसँगै विकास र समृद्धिको यात्रामा अगाडी बढ्न सक्छ ।’

विश्वमै ठूलो व्यापार साझेदार चीन जस्तो मुलुकको प्रभावशाली नेताको भ्रमण नेपालका लागि तात्वीक र आधारभूतरुपमै भिन्न र विशेष रहेको उनले बताए । त्यतिमात्र नभएर उक्त भ्रमण विश्व परिस्थिति र हाम्रो आन्तरिक कारणले पनि महत्वपूर्ण रहेको उनको भनाई थियो । राष्ट्रपति सी को भ्रमणका बेला चीनका लागि राजदूत समेत रहनुभएका पौड्यालले उक्त भ्रमण गराउँदाका आफ्ना अनुभव पनि बताए ।

कार्यक्रममा नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको सी को भ्रमण नेपालका लागि विशेष दिनका रुपमा रहेको र यसले द्धिपक्षीय सम्बन्धमा विशेष महत्व बोकेको बताए ।