शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

आफू कोरोना प्रतिरोधी भएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्प हिँडे चुनावी र्यालीमा

दैनिक नेपाल २०७७ असोज २७ गते ८:४०

वाशिङ्टन, २७ असोज । कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडाको निर्वाचन र्यालीलाई सम्बोधन गरेका छन् ।

निकै फूर्तीका साथ सम्बोधन गर्दै उनले फ्लोरिडामा उपस्थित भिडलाई आफू उत्तम स्वास्थ्य अवस्थामा रहेको अनि ‘रोग प्रतिरोधी’ बनेको सुनाए ।

उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाउँदै सञ्चारमाध्यमलाई पक्षपाती भएको भन्न भ्याए । स्यान्डफोर्ड नगरस्थित उक्त र्याली स्थलमा सामाजिक दूरी कायम गरिएको पाइएको छैन अनि कैयन मानिसहरू विनामास्क उपस्थित छन् ।

आगामी ४ दिनमा निर्वाचनका बेला कडा टक्कर हुने ठानिएका ४ वटा राज्यमा उनले भ्रमण गर्ने छन् । सम्वाददाताहरूका अनुसार नोभेम्बर ३ को चुनाव जित्नका निम्ति फ्लोरिडामा विजयी हुन ट्रम्पको निम्ति अत्यावश्यक छ ।

उनका प्रतिस्पर्धी जो बाइडन भने ओहायो राज्यको भ्रमणमा छन् । विभिन्न मत सर्वेक्षणहरूमा राष्ट्रियस्तरमा बाइडन ट्रम्पभन्दा १० अङ्कले अगाडि रहेको देखिन्छ ।

तर, केही कडा टक्कर हुने राज्यहरूमा उनको अग्रता थोरै छ ।

राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोभिडका लक्षण देखा परेको थियो । एकदिनपछि उनलाई वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । तर, आइतबार उनका निजी चिकित्सकले अब उनी अरू मानिसका निम्ति सङ्क्रामक नरहेको बताएका थिए । बीबीसी नेपाली

प्रतिक्रिया
सम्बन्धित