
काठमाडौं, २७ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरेका छन् ।
मन्त्री गुरुङले सोमबार पुल्चोकस्थित समाज कल्याण परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच परिषद्को मातहतमा रहने गरी सो कोष स्थापना गरिएको औपचारिक जानकारी गराएका हुन् । सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ सो कोष स्थापना गरिएको हो ।
‘समाज कल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा ऐ. दफा २६ को अधिकार’ प्रयोग गरी कोषको स्थापना गरिएको समाज कल्याण परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष समेत रहेका मन्त्री गुरुङले सामाजिक क्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउन तथा संघ, संस्थामाथि हुने नकारात्मक सोच हटाउन सामाजिक उद्यमशीलता कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सामाजिक उद्यमशीलताको अभियानलाई सामाजिक अभियानकै रुपमा गाउँ–गाउँसम्म पुर्याउनुपर्ने आवश्यक्ता मन्त्री गुरुङले औंल्याएका छन् । ‘सामाजिक उद्यमको अभियान र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउपर्ने आवश्यक्ता छ’, उनले भने, ‘समाज रुपान्तरणका लागि पनि सामाजिक उद्यमशीलतालाई अघि बढाउनुको विकल्प छैन ।’
सामाजिक उद्यमशीलताको अभियानलाई विश्व विद्यालयहरुले पनि शैक्षिक कार्यक्रम नै राखेर अघि बढाउनुपर्ने मन्त्री गुरुङको भनाइ छ ।
यस्तै परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले संघ, संस्थालाई आत्म निर्भर बनाउन पनि सामाजिक उद्यमशीलता कोषको जरुरी रहेको बताए । परिषद्ले बोर्ड सदस्य सुशील ज्ञवालीलाई कोषको संयोजक तोकेको छ भने कमलप्रसाद निरौला, डा. रोजी जोशी, अर्जुन भट्टराई, शान्ता न्यौपाने, नरबहादुर रोकाया, डा. सुनिल चित्रकार, प्रकृति मैनाली र जितेन्द्र पासवानलाई सदस्यको जिम्मेवारी दिएको छ ।
कार्यक्रममा मन्त्री गुरुङले कोषका नवनियुक्त संयोजक ज्ञवाली तथा सदस्यहरुलाई जिम्मेवारी तोकिएको पत्र प्रदान गरेका थिए ।















प्रतिक्रिया