
बागलुङ, २६ असोज । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य मनकुमारी जिसी केसीले सहकारी क्षेत्रको साख बढाउनका लागि म्यानेजर्सहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिएकी छिन् ।
कोअपरेटिभ म्यानेजर्स क्लव (सिएसी) बागलुङले सोमबार आयोजना गरेको जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघका अध्यक्षहरुसँगको परिचय तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै सांसद केसीले यस्तो बताएकी हुन् ।
‘सहकारीकर्मीहरुको बल र मेहनतका कारण आज सहकारी क्षेत्र आम समुदायको विपदको साथी बन्दै गएको छ’, सांसद केसीले भनिन्, ‘कतिपय सहकारीहरुका कारण यसलाई कमजोर बनाउने काम पनि हुँदै आएकाले यसको साख बचाउनका लागि म्यानेजर्सहरुको भूमिकालाई थप शसक्त बनाउनु पर्दछ ।’
सहकारी अभियानलाई बलियो बनाउनका लागि अभियानकर्मीहरुको ऐक्यवद्धतामा जोड दिँदै सांसद केसीले क्षणिक फाइदाका लागि अभियानलाई कमजोर बनाउने काम गर्न नहुने बताइन् । सहकारी ऐनको कार्यान्वयनमा जोड दिँदै ऐनमा भएका कमी कमजोरी सच्याएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रमका अन्य वक्ताहरुले सहकारीका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै सहकारी अभियानलाई थप प्रभावकारी बनाउन म्यानेजर्स क्लवको भूमिका प्रभावकारी बनाउन सुझाव दिएका छन् । सहकारी ऐनको कार्यान्वयन लगायत सहकारीप्रति जनताको आकर्षण बढाउनका लागि अग्रमोर्चामा रहेर काम गर्ने कर्मचारीहरुको भूमिका हुने भएकाले क्लवले त्यस्ता विषयमा ध्यान दिनु पर्नेमा उनीहरुको जोड छ ।















प्रतिक्रिया