
काठमाडौं, २६ असोज । नवौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालिकाहरूले आफ्नो सवालमा आफैले बहस गरेका छन् ।
५ जिल्लाका ५५ जना किशोरीहरुले स्थानीय सरकारलाई रेडियो बहसमार्फत कोभिड–१९ पछि शिक्षामा परेको प्रभावका विषयमा ध्यानाकर्षण गराएका छन् । आइतबार किशोरीहरूले रेडियो माइक्रोफोन हातमा लिएर आफ्नै सवाल र आफ्नै नेतृत्वमा सामुदायिक रेडियोमा बहस गरेका हुन् ।
यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवसको नारा ‘माई भ्वाईस, आवर इक्वेल फ्यूचर’ अर्थात् ‘मेरो आवाज, हाम्रो समान भविष्य’ छ । यो नारालाई बढवा दिँदै किशोरीहरूले कोभिड–१९ पछि शिक्षामा देखिएको असर र निरन्तर सिकाइका विषयमा छलफल र बहस गरेका हुन् ।
कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा बालिकाको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइमा परेको असरलाई कम गर्न र उनीहरूलाई विद्यालय फर्काउन उपयुक्त वातावरण र माहोल बनाउन के गर्न सकिन्छ, जस्ता विषय र प्रश्नमा स्थानीय सरकारका प्रमुख, उपप्रमुख र सरोकारवालाहरुसँग किशोरीहरुले छलफल गरे । किशोरीहरुले कोभिडपछि समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराए ।
सुदूरपश्चिम जिल्लाको अछाम बाजुरा, प्रदेश नम्बर २ को रौतहट, सर्लाही र प्रदेश १ को सुनसरीमा रहेका २६ वटा रेडियोबाट किशोरीले आइतबार अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा रेडियो बहस गरेका हुन् ।
किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर कोभिडपछि बालिका शिक्षामा परेको असर र मुद्दाबारे स्थानीय सरकारसँग छलफल गरिएको छ । कार्यक्रम सञ्चालन पनि किशोरीहरुले नै गरेका छन् । २६ वटा रेडियोमा ५५ जना किशोरीले स्थानीय सरकार प्रमुख, उप्रमुख र प्रशासकीय अधिकृतसँग कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा बालिकाको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइमा परेको असरका विषयमा बहस गरेका हुन् ।
बहसपछि स्थानीय सरकारले शिक्षामा परेको असरलाई कम गर्न र उनीहरूलाई विद्यालय फर्काउन के के गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित गर्ने प्रतिवद्धता जनाएका छन् । रेडियोहरूमा किशोरीले नेतृत्व गर्दै स्थानीय तहका प्रतिनिधिहरूबाट समेत बालिकाको निरन्तर सिकाइका लागि प्रतिबद्धता जाहेर गर्न लगाए ।
रेडियोमा किशोरीले निरन्तर सिकाई अभियान अन्र्तगत बिहानदेखि दिउँसो सम्म निरन्तर छलफल चलाएका थिए । नेपाली, डोटेली, मैली, बजिकासहितका स्थानीय भाषामा किशोरीले कार्यक्रम सञ्चालन गरे ।
कार्यक्रममा सम्पूर्ण वर्गका बालिका एवं किशोरीको आवाज समेटियोस् भनेर फरक क्षमता भएका, दलित, सिमान्तकृत, मधेसी, द्वन्द्वपीडित, छाउपडी प्रभावितलगायतलाई समेटिएको थियो । कोभिड–१९ अघिमात्र १३ करोड बालिकाहरू विद्यालयको पहुँचभन्दा बाहिर थिए ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०को सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघले आफ्नो विश्वब्यापी अभियान ‘सिकाइ कहिल्यै रोकिदैन’ अन्र्तगत स्थानीय रेडियोमार्फत वकालत कार्यक्रम पनि घोषणा गरिएको छ ।















प्रतिक्रिया