
काठमाडौं, २६ असोज । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहानै बालुवाटारमा भेटवार्ता भएको छ ।
पार्टी केन्द्रमा भइरहेको विवाद समाधान गर्न दुई अध्यक्षबीच निरन्तर वार्ता र छलफल हुँदै आए पनि प्रधामन्त्रीको सचिवालय, कतिपय मन्त्री र नेता तथा उनीहरुका सचिवालयका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि पछिल्लो समय यस्ता भेटघाट तथा छलफललाई कम गरिएको थियो ।
तर, सोमबार बिहानै पार्टी अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुलाई अर्थपूर्ण रूपमा लिएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार कर्णाली प्रदेशमा देखिएको पार्टीभित्रको विवादका विषयमा छलफल गर्न दुई अध्यक्षबीच भेट भएको हो ।
आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध पार्टीकै १८ जना सांसदले हस्ताक्षर संकलनका साथै अविश्वासको प्रस्ताव समेत प्रदेश संसद सचिवालयमा दर्ता गराएपछि विवादमा रुमलिँदै आएको नेकपाभित्र विवादको अर्को तरंग पैदा भएको छ ।
नेकपाको पछिल्लो स्थायी कमिटीले सरकारको काम प्रभावकारी बनाउन संघीय र प्रदेश सरकारको पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको छ । तर, दुई अध्यक्ष र सचिवालयले गरेको निर्णयविपरीत प्रदेशहरुमा अविश्वासको प्रस्ताव आउनु नेकपाभित्र अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।
कर्णालीमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध पनि हस्ताक्षर संकलन गरिएको स्रोतहरुको भनाइ छ ।
कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य तथा नेकपा कर्णालीका सहइन्चार्ज यमलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव अगाडि बढेको हो । उनी ओलीनिकट नेताका रुपमा चिनिन्छन् ।
प्रस्तावमा उपसभामुख पुष्पा घर्तीको पनि हस्ताक्षर छ । उनी पूर्वमाओवादी समूहको कोटामा उपसभामुख निर्वाचित भएकी थिइन् ।
कर्णाली प्रदेश सभामा नेकपाका ३३ जना सांसद छन् । सरकारविरुद्ध हस्ताक्षर गर्नेमा पूर्वएमालेका १४ र पूर्वमाओवादीका ४ जना छन् ।
पूर्वएमालेतर्फका यामलाल कँडेल, चन्द्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अमरबहादुर थापा, सुशीलकुमार थापा, मीना रखाल, दानबहादुर परियार, पदम रोकाया, पद्मा खड्का, कौशिलावती खत्री, खड्कबहादुर खत्री, बहमीक्यादी बोहरा र देवी ओली अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचीमा छन् ।
पूर्वमाओवादी केन्द्रका पुष्पा घर्ती, राजु नेपाली, धर्मराज रेग्मी र डम्बरबहादुर विष्ट छन् ।















प्रतिक्रिया