१ कार्तिक २०८३, आइतबार

विच्याटसँग सम्झौता गर्ने पहिलो बैंक बन्यो एनएमबि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ्‌स लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त कम्पनीको वीच्याट भुक्तानी प्रणालीमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने व्यवस्था उक्त सम्झैतामा गरिएको छ । यो सँगै एनएमबि बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एक मात्र बैंक बनेको छ ।

टेन्सेन्ट होल्डिङ्‌ससँगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा वीच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्‍ने बताइएको छ ।

‘हामी १ दशमलव १७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवामध्ये एक विच्याट भुक्तानी प्रणाली सञ्‍चालनका लागि टेन्सेन्ट होल्डिङ्‌स लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं’, बैंकले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनीय रहेको बताउँदै बैंकले यो सम्झौताले देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बताएको छ ।

बैंकका अनुसार चिनियाँ पर्यटकहरुलाई एनएमबि बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको छ । यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने बैंकको भनाइ छ ।

चिनियाँ पर्यटकहरुले नेपालमा वस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या वृद्धि गर्नसमेत मद्दत गर्ने बैंकले जनाएको छ ।

यो साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्नेमा बैंक विश्वस्त छ ।

नेपालमा डिजिटल बैंकिङको परिदृश्य बदल्दै ग्राहकहरुलाई सहज र सरल रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्नेतर्फ एनएमबि बैंकले द्रुत गतिमा प्रगति गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।