
काठमाडौं, २२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टि सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताएका छन् ।
विश्व दृष्टि दिवसका अवसरमा आज बिहीबार शुभकामना सन्देश दिँदै उनले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन् । विश्वव्यापी रूपमा ‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदै छ ।
सन्देशमा मन्त्री ढकालले नेपालले अहिले कोभिड–१९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन सबैमा आह्वान पनि गरेका छन् ।
उनले स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन अनुरोध गरे ।
नेपालमा अहिले ९४ हजार २५३ व्यक्ति कोरोना संक्रमित छन्, जसमध्ये ७२ दशमलव ८५ निको भइसकेका र ५७८ जनाले ज्यान गुमाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक अनुसार विश्वमा करिब दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ भने करिब १ अर्बलाई अझै पनि आँखा सेवाको पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ ।
यसमा थप करिबब दुई अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये ३ करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ ।
नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसङ्ख्याको ० दशमलव ३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ० दशमलव ८४ प्रतिशत जनसङ्ख्यामा रहेको पाइएको थियो ।















प्रतिक्रिया