बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना र चाडपर्वबारे गाउँमा रहेका बुबा-आमालाई पत्र

हजुरहरू र अन्य मान्यजनलाई कोरोना सार्ने काम हुन्छ कि ! भनेर म नआउने बिचार गरेको छु

डा. रवीन्द्र समीर २०७७ असोज २१ गते ११:१०

पूजनीय बुबाआमा, ढोग छ,
कुशल छु, कुशलताको कामना गर्दछु ।

काठमाडौ उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको छ ।

जहाँ टेस्ट गर्यो, जसलाई टेस्ट गर्यो अधिकांशको पोजिटिभ देखिएको छ । हाम्रो सुर्के पाटोभन्दा साँघुरो छ, परीक्षणको दायरा । त्यसैले हामीलाई पनि संक्रमण भएको छ, कि छैन ? थाहा छैन ।

कमिलाको गोलोजस्तो काठमाडौं कोरोना महामारीको केन्द्रविन्दु बनेको छ । यो गोलोमा संक्रमण फैलियो भने के अवस्था हुन्छ, हजुरहरूलाई बिदितै छ । काठमाडौंजस्तो शिक्षित, सुविधायुक्त तथा सञ्चारका माध्यम र साधनले भरपुर ठाउँमा कोरोना फैलिँदैन भन्नुहुन्थ्यो हजुरहरूले, त्यो सत्य होइन रहेछ ।

यहाँका धेरै मान्छेले सही तरिकाले मास्क लगाउँदैनन्, व्यक्तिगत दूरी कायम गर्दैनन्, भीडभाड गर्छन्, बिना कारण लखरलखर हिँड्छन् । सबैले सोच्दछन्– ‘कोरोना मलाइ सर्दैन, मैले मास्क लगाउनु पर्दैन, मैले दूरी कायम गर्नु पर्दैन, यो त अरुले गर्नुपर्छ ।’

सरकार पनि गजबको छ । अनिवार्य र सही तरिकाले मास्क लगाएको र नलगाएको सरकारलाई थाहा छैन, दूरी तथा भीडभाडको पनि मतलब छैन । अरु देशमा जस्तै अनुगमन, निगरानी र जरिवानाको व्यवस्था गरेको भए अहिले यो स्थिति आउने थिएन ।

अरु देशमा कसरी महामारी नियन्त्रण भयो ? कसरी कडाइ गरे ? जनता कति अनुशाशित छन् ? सरकारले जनतालाई राहत र सहुलियत कसरी प्रदान गर्यो ? यी कुरा कसैले पनि बुझेन । हजुरलाई किन झुट बोल्नु, भान्सामा काम गर्नेलाई सपासप खाएको बात लागेको छ । भान्सामा बात लागेकालाई खेतबारीमा खटाए हुन्थ्यो नि !

यो दशैंमा रातिको नाइटबस चढेर घर आउने, हजुरहरूसँग मोबाइल स्विच अफ गरेर कुराकानी गर्ने, बाल्यकालमा आफू दौडिएका र पौडिएका ठाउँमा पुग्ने, साथीभाइलाई भेट्ने, कोटहरूमा मेला हेर्ने, मान्यजनको हातबाट टीका आशीर्वाद लिने, जिब्रोको भित्री तहमा बसेको स्वादलाई अर्गानिक खानेकुराले ब्युँताउने…।

धेरै सपना थिए । यसपटक कोरोनाले बाटो छेक्यो । बसमा कोरोना सर्ने खतरा मोलेर त्यहाँ आउँदा हजुरहरू, अन्य मान्यजनलाई कोरोना सार्ने काम हुन्छ कि ! भनेर म नआउने बिचार गरेको छु । भिडियो कलमा टीका लगाइदिनुहोला, कान थाप भन्दै जमरा लगाइदिनुहोला, आशीर्वाद सुन् भन्दै आशीर्वाद दिनुहोला । यो यो खा भन्नुहोला, हामी त्यही खानेछौं ।

इन्टरनेटले धोका दिए मोबाइल फोन छँदैछ, त्यसले टावर टिप्न सकेन भने मनमनै आर्शीवाद दिनुहोला । आज हो कि भोलि भन्ने जगजगीमा यहाँ बस्न एकदम डरमर्दो छ । १ वर्ष ढुक्क गाउँ बस्न पाए त यो कोरोनाको टेन्सन नै हुने थिएन । आफ्नो काम, घर, हजुरका नातिनातिनाका पढाइ आदिले गर्दा आगोभित्र बस्नुपर्ने बाध्यता भयो । अर्को साल पहिले खोप लगाउँला अनि दशैंको टीका लगाउँला ।

खै ! म लेख्छु भन्नुभयो दाइले–
पूजनीय बुवाआमा, ढोग छ,
म जेठो छोरो ।

बुवाआमा, भाइले लेखेको कुरामा मेरो पनि सहिछाप छ । हजुरहरूलाई थाहा छ, मलाइ प्रेसर, सुगर, कोलेस्टेरोल छ । कोरोनाले छोयो भने गाह्रो पार्ला जस्तो छ । अहिल्यै यहाँका अस्पताल भरिभराउ भए । अस्पतालमा खुट्टो राख्न नपाउने अवस्था आयो । मेरो व्यापार पनि चलेको छैन । लकडाउन र कोरोनाको डरले गर्दा मान्छेसँग पैसा नै छैन ।

ज्यानभन्दा ठूलो केही होइन । मेरो परिवार १ वर्ष बस्ने गरी आउछौं । केटाकेटी ठूला भए, आफ्नो मेसो गर्न सक्छन् । म र हजुरहरूकी बुहारी आउने निर्णय गर्र्यौंं । चिन्ता नगर्नुहोला, बसमा राम्रो मास्क लगाएर, फेस शिल्ड लगाएर, हातमा पञ्जा लगाएर, स्यानिटाइजर प्रयोग गर्दै, पानी र खानेकुरा घरबाटै लिएर तथा बस रोकेको ठाउँमा अलिपर गएर खानपिन गर्दै आउनेछौं ।

बाहिरका असुरक्षित खाजा पसल र खाना पसलमा केही खाने छैनौं । बसभित्र सकेको धेरै दूरी कायम गर्नेछौं । उस्तै परे प्लास्टिकले छेकेर हाम्रो सिटलाई क्याबिन बनाउनेछौं । घरमा आएपछि हामी छुट्टै कोठामा बस्नेछौं । हजुरहरूसँग ४ हात टाढा बसेर मास्क लगाएर गफ चुट्नेछौं । २ हप्तापछि मात्र गाउँमा डुल्नेछौँ तथा हजुरहरूसँग अगेनामा बसेर बात मार्नेछौं ।

केही लक्षण देखिएमा पालिकामा गएर टेस्ट गर्नेछौं । बिजनेस, व्यापार, पैसो भन्ने कुरा पनि त्यस्तै रहेछ । ज्यान रहे न सबै आफ्नो हो । त्यसैले हामीले ज्यान रोजेर गाउँमा आउने भयौं । के थाहा, आधुनिक खेतीपाती, कुखुरा तथा बाख्रापालन गरेर त्यहिँ पो मालामाल हुन्छ कि ’ त्यसो भयो भने यो कमिलाको गोलोमा फर्किने बिचार छैन ।

मलाइ ले त ! अब दिदीको पालो–
पूजनीय बुवाआमा, दर्शन,

कोरभन्दा कोरोना खतरा रहेछ । यो खाल्डे काठमाडौंमा जेनतेन ज्यान पालेका थियौं । भाडा, लोन र स्टाफ खर्चले हामी पुरै डुबेका छौं । धेरै घाटा लाग्यो । एक दुईवर्ष यस्तै हुन्छ ।

हामीले मिल्ने कुरा बेचबिखन गर्दैछौं । हजुरका ज्वाईंले तराइको आफ्नै घरमा बस्ने, व्यापार गर्ने र केटाकेटीलाई उतै पढाउने व्यवस्था गर्दै हुनुहुन्छ । ट्रक भाडामा लिएर खेतखेतका तरकारी, फलफूल, अण्डा, दुध आदि सहरमा पुर्याएर बेच्ने काम गर्ने रे !

१५ वर्ष काठमाडौ बस्यौं, सधैको धुलो, धुँवा, पानीको अभाव, ट्राफिक जाम र अस्तव्यस्त देखेर वाक्क लागेको थियो । अब आफ्नै ठाउँमा बस्ने, शुद्ध हावा, पानी, खाना खाने निर्णय गर्यौं । दशैं तराइमा मनाउँछौं, तिहारमा त्यहाँ आउने छु ।

तिहार पनि मास्क लगाएर, दूरी कायम गरेर तथा सरसफाईको ख्याल गरेर मनाउने छौं । केटाकेटीले देउसीभैलो खेल्ने छैनन् । उहाँले यसपटकको छठमा पनि यस्तै सुरक्षा सतर्कता अपनाएर मात्र मनाउने योजना गर्नुभएको छ । सहरबाट आएका मान्छेसँग जोगिएर बस्नुहोला । कोरोना छ कि छैन भनेर निधारमा लेखेको हुँदैन ।

बहिनीले पनि लेख्ने रे !
पूजनीय बुवाआमा, दर्शन,

कोठामा बस्दा बस्दा वाक्क लाग्यो । बाहिर निस्किन डर लाग्छ । नाकमुनी, च्युँडोमा तथा घाँटीमा मास्क लगाएर हिँड्छन्, यताका मान्छे । व्यक्तिगत दूरीको मतलब छैन ।

तरकारी बजारमा बसेर एउटा एउटा छाम्दै गोलभेंडा किन्दै गर्छन् । जहाँ गयो, त्यहि भीड छ । न जनतालाई मतलब छ, न सरकारलाई । हाम्रो टोलमा धेरैलाई कोरोना लागिसक्यो । यति मात्र हो र ? कोरोना लागेका मान्छे २ हप्ता कोठाभित्र अनिवार्य बस्नुपर्नेमा पसल जाने, मार्निंग वाक गर्ने, दोकानमा बसेर सामान बेच्ने, रोग लुकाउने, सार्वजनिक यातायातमा चढ्ने बेथिति छ, कसैलाई कसैको डर छैन ।

सरकारले हरेक ठाउँमा कडाइ गर्ने, सुरक्षाकर्मीको गस्ती खटाउने, जरिवाना गर्ने काम गरेको छैन । हाम्रो टोलमा सुरक्षाकर्मी नदेखेको २ महिना भयो । यस्तो तालले कोरोना नियन्त्रण हुँदैन । नेताहरूको पनि के दोष ? पदको लागि झगडा गर्ने, जे कुरामा पनि राजनीति गर्ने, मौका पाए कप्ल्याक्क खाने अनि चुनावको बेला जनतासँग जाने उनीहरूको नानीदेखि लागेको बानी हो ।

अब आफ्नो ज्यान आफै बचाऊ को नारा लगाउँदै गाउँ आउनुको बिकल्प छैन । ठूलो दादासँग म पनि आउँछु । अनलाइन क्लास गाउँमा बसेर लिनु र यहाँबाट लिनु उस्तै हो । रोग लाग्यो भने गाउँमा बरु उपचार पाइएला, यहाँ त चान्सै छैन ।

खसी, लोकल कुखुरा, अम्बा, काँक्रा, सुन्तला, कागती, अमिलो, सखरखण्ड खान छोडेर बिषादी खाना खान किन यहाँ बस्नु ? यहाँ तरकारीको भाउ सुन्यो भने हार्ट एट्याक हुन बेर छैन । यहाँ कालाबजारीलाई दशैं आएको छ, जनतालाई दशा ।

कोरोना नियन्त्रणमा आएपछि वा खोप आएपछि काठमाडौं फर्किनुपर्ला । फूलैफूलको बगैंचा छोडेर यो आगाको मुस्लोभित्र किन बस्नु ?

अब मेरो पालो–

घटीमा ४–६ महिना बस्ने गरी गाउँ जाँदा राम्रो हुन्छ । म जस्तो टीका लगाएर फर्किनुपर्नेलाई जोखिम किन लिने ? जो जहाँ छ, त्यहिँ बस्दा राम्रो ।

हाम्रो चिन्ता नलिनुहोला, हामी घरभित्र बस्छौं । दशैंलाई पुग्ने सामान एकैपटक किनेर राख्छौं । बाहिर निस्किनुपरे म मात्र मास्क सही तरिकाले लगाएर, दूरी कायम गरेर निस्किन्छु । सरसफाईमा एकदम ध्यान दिएका छौं । यो पटक सपिङ गर्न जाँदा जोखिम हुने भएकाले मैले केही पठाउन असमर्थ भएँ ।

आवश्यक कुरा उतै किन्नुहोला । १ हजार वटा कपडाका ३ पत्रे मास्क, १ हजार वटा साबुन र १ हजार वटा ह्यान्ड स्यानिटाइजर दाइसँग पठाउने छु । दशैंमा टीका लगाइदिएर परिवार संख्या अनुसार प्रसादको रूपमा ती सामान दिनुहोला ।

चिया, खाजा वा खानाको प्रसाद अर्को सालदेखि निरन्तर गरौंला । यसपटक निधारमा अक्षता लगाउँदा संक्रमण सर्ने डर हुन्छ । तसर्थ मास्क लगाएर, ६ फिटको दूरी कायम गरेर टीका, जमरा हातमा दिनुहोला । मेलामा नजानुहोला ।

अन्त्यमा छोरीको पालो–
हजुरबुवा, हजुरआमा, दर्शन,

यहाँ एकदम ठिक छ, तर कोरोनाको डर छ । यहाँ एकदम ठिक छ, तर कोठामै बस्नुपर्छ । यहाँ सबै ठिक छ, तर स्कुलका साथीलाई भेट्न पाएको छैन । यहाँ एकदम ठिक छ, तर अनलाइन क्लास पढ्दा वाक्क लाग्यो । यहाँ एकदम राम्रो छ, तर मास्क लगाउन नजान्ने मान्छे धेरै छन् । यहाँ एकदम ठिक छ, हेर्नु न ६ फिटको नजिक जान्छन् मान्छेहरू । अरु सबै राम्रो छ, कोरोनाको डर छ । यहाँ सबै ठिक छ, पिज्जा खान रेस्टुराँ जान हुँदैन रे !

गाउँमा त कस्तो रमाइलो हुन्छ । लकडाउन हुँदैन । खेल्ने ठाउँ धेरै छ, खानेकुरा धेरै छन्, भैंसी र मुनेमुने छन् । पिङ खेल्न पाइन्छ । टीका लगाएपछि । पैसा पाइन्छ । गाउँको आकासमा जुन हुन्छ, ताराहरूको नाम हुन्छ । बाबा मामुले मानिस्यो भने म र भाइ आउने हो ।

छ नि हजुरबुवा ! एउटा ६ फिटको लठ्ठी बनाएर त्यसको टुप्पोमा टीका, जमरा राखेर टीका लगाइदिनुहोला । दक्षिणा र खानेकुरा पनि त्यही लठ्ठीमा झुन्डाएर दिनुहोला । हजुरलाई ढोग्ने बेला लठ्ठीको एउटा टुप्पो हजुरको खुट्टामा र अर्को टुप्पो ढोग्ने मान्छेको निधारमा राख्नुहोला ।

हजुरलाई दिनदिनै सम्झिने
नातिनी

प्रतिक्रिया
सम्बन्धित