
काठमाडौं, २० असोज । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने गोरेटो बाटो निर्माण सम्पन्न गरेर स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।
विगत ३ वर्षदेखि अवरुद्ध रहेको व्यास नगरपालिकाका–१ का जनतालाई नेपाली भूमिमै एक ठाउँबाट अर्को ठाउँमा जान पनि विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउनका लागि नेपाली सेनाको टोलीले ८ जेठबाट उक्त मार्ग निर्माण कार्य थालेको थियो ।
२६ जेठबाट निर्माण कार्य शुरु गरेको नेपाली सेनाले उक्त गोरेटो/घोडेटो बाटो करिब ४ महिनाभित्र सम्पन्न गरी १९ असोजमा स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को १४ वैशाखको निर्णय अनुसार नेपाली सेनालाई यो बाटो निर्माणको जिम्मेवारी दिइएको थियो ।

बाटो हस्तान्तरण कार्यक्रममा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सांसद गेल्वो सिहं वोहोरा, सुदूरपश्चिम पृतनापति उपरथी निर्मल कुमार थापा, प्रदेश प्रमुखसचिव रामकृष्ण सुवेदी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, जनसम्र्पक तथा सूचना निर्देशनालयका निर्देशक सन्तोष बल्लभ पौडेल, निमित्त बाहिनीपति, २५ बाहिनी अड्डा महा सेनानी कृष्ण जिसी र युद्धकार्य महाशाखा प्रमुख महासेनानी गौरव केसीलगायतको उपस्थिति थियो ।
सो अवसरमा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकार र नेपाली सेनालाई यस्तो कठिन अवस्थामा पनि जनताको माग अनुसार उत्कृष्ट कार्य गरेकोमा सराहना गर्दै नेपाली सेनालाई धन्यवाद दिए ।

नेपाली सेनाले नेपाली भू–भागको रक्षा गर्दै गरेको यो कार्यले नै महाकाली कोरिडोर निर्माणका लागि थप उर्जा प्रदान गर्ने भन्दै उनले व्यास गाउँंपालिका–१ मा प्रदेश सरकारले विकासको प्याकेज ल्याउन लागेको र त्यसमा पनि नेपाली सेनाको अहम भूमिका हुने विश्वास व्यक्त गरे ।
यस्तै प्रदेश सासंद बोहोराले पनि नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्दै तम्पाकु क्षेत्रमा पनि नेपाली सेनाले पहल लिई कार्य गरि दिएमा सहज हुने धारणा व्यक्त गरे ।
यस आयोजनामा नेपाली सेनासँग काम गरेका स्थानीय श्रमिक बंगा सिंह भण्डारीले आफूहरुले यस आयोजनामा रोजगारी पाएको, नेपाली सेनाले उल्लेख गरे बमोजिमको भत्ता उपलव्ध गराएको र राम्रो काम भएको भनी प्रशंसा गरेका थिए ।















प्रतिक्रिया