शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपाली जनवादी संस्कृति : माओ ठीक कि मदन ?

निर्मल भट्टराई २०७७ असोज १९ गते १५:५२


-निर्मल भट्टराई

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सूत्रबद्ध गरेको द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई स्वीकार गर्दै जीवन र जगतलाई हेर्ने प्रत्येक बाम कार्यकर्ताको प्रारम्भिक स्वीकृति हो ।

यसमा बहस गर्नु एउटा कुरा हो, यसलाई व्यवहारमा उतार्नु अर्कै कुरा हो । हजारौं वर्ष अगाडिदेखि अस्तित्वमा रहेको अध्यात्मवादी दृष्टिकोण बोकेर अगाडि बढिरहेको सन्दर्भमा विकसित यो विश्व दृष्टिकोणले संसारमा ल्याएको परिवर्तनलाई आत्मसात गर्दै आफ्नो जीवनलाई समेत सोही अनुरुप परिवर्तन गर्नु अग्रगामीहरुको आम चरित्र भित्र पर्दछ ।

एउटा विशिष्ट चेतनाले पदार्थको सृष्टि गरेको मान्यता राख्ने अध्यात्मवादले त्यस्ता विशिष्ट चेतनाको पूजक बनायो र हजारौं लाखौं मानिसहरुलाई केही मुट्ठीभर शाषकहरुको दास बनाउने प्रयत्न गर्यो ।

यसको ठीक विपरीत भौतिकवादी दृष्टिकोणले पदार्थको सबभन्दा विकसित मष्तिष्कको गुणको रुपमा चेतनालाई परिभाषित गर्यो । चेतनालाई कुनै अलौकिक विषयवस्तु नभएर पदार्थको गुणको रुपमा परिभाषित गरियो ।

तर भौतिकवादी दृष्टिकोणका अनुयायी भएर अध्यात्मवादी संस्कारलाई पछ्याउने वाम शीर्षनेतादेखि कार्यकर्तासम्म चलन हटेको देखिंदैन । भौतिकवादी दृष्टिकोणलाई केबल भाषण गर्ने विषयवस्तु बनाउने तर पुरानै बनिबनाउ हिन्दु व्यवहारको अवलम्बन गर्ने चलन चल्दै आएको छ । मानवीयता, आत्मीयता, दयाभाव, करुणा अध्यात्मवादका अंग होइनन्, बरु तिनीहरु मानव चेतनाका अंगहरु हुन् ।

मानव चेतना नै भौतिकबस्तुको उपज भए पछि जीवनलाई अलौकिकता र रहस्यसंग जोडेर बुझ्ने पुरानो तरिकामा आमूल सुधार हुनुपर्ने नै भयो । भौतिकवादले मानवीयता, आत्मीयता, करुणाजस्ता पक्षलाई वास्ता गर्दैन भन्नु पनि दृष्टिकोणको दिवालियापन बाहेक केही हुन सक्दैन ।

दृष्टिकोणमा परिवर्तन नभए सम्म सामाजिक रुपान्तरणका मुद्धालाई अघि बढाउन कठिन हुने मात्र होइन, कहिलेकाहीं अवरोध सिर्जना हुने खतरा उत्पन्न हुन्छ ।

मानिसको जीवनमा विचारको पक्ष सबभन्दा महत्वपूर्ण पक्ष हो । एक जना चिनीया दार्शनिकले विचारलाई उच्च प्राथमिकता दिंदै भनेका छन् “आफ्नो विचारको ख्याल गर किनभने ती शब्द बन्दछन्, शब्दहरुको ख्याल गर किनभने ती कार्य बन्दछन्, कार्यहरुको ख्याल गर किनभने ती बानी बन्दछन्, बानीहरुको ख्याल गर किनभने ती चरित्र बन्दछन्, चरित्रहरुको ख्याल गर किनभने ती भाग्य बन्दछन् र भाग्य नै तिम्रो जीवन हुनेछ ।”

माओत्से तुङले सिद्धान्त र व्यवहारको सम्बन्धलाई प्रष्ट पार्दै भनेका छन् “सिद्धान्त विनाको व्यवहार अराजक हुन्छ, व्यवहार विनाको सिद्धान्त लङ्गडो हुन्छ ।” यी भनाईमा फरक मत राख्ने ठाउँ छैन ।

द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई आफ्नो जीवनको मार्गदर्शक सिद्धान्त बनाउनेले त्यसको ठीक विपरीत कित्तामा रहेको अध्यात्मवादी व्यवहार गर्न सुहाउँदैन ।

सिद्धान्तमा भौतिकवादी व्यवहारमा अध्यात्मवादी बन्दा दोहोरो चरित्र देखिन्छ । सकेसम्म यस्ता विषयमा प्रगतिशील व्यक्तिहरुको सन्तुलित व्यवहार अपेक्षित छ । तर समाजमा गरिने धार्मिक र सास्कृतिक शिष्टाचार र लोकाचार छुट्टै विषय हुन् ।

संस्कृतिलाई अर्थनीति र राजनीतिको प्रतिविम्बको रुपमा परिभाषित गरिएको छ । राजनीति र अर्थनीति चाँडै परिवर्तन हुने तर संस्कृतिको परिवर्तन अत्यन्त मन्द गतिमा हुने यथार्थलाई हेर्ने हो भने नेपालमा भएको राजनीतिक–आर्थिक परिवर्तनसंगै सांस्कृतिक परिवर्तनको अपेक्षा राख्नु हतार हुनेछ ।

सांस्कृतिक परिवर्तन व्यक्तिमा आउने परिवर्तनको समुच्चय भएकोले नयाँ सस्कृतिको निर्माण गर्न हामीले विशेष कार्ययोजना निर्माण गरी पहलकदमी गर्नु पर्ने आवश्यकता छ ।

परिवर्तित सन्दर्भमा ज्ञान र भावको सम्प्रेषण गर्नु नेतृत्वको दायित्व भित्र पर्दछ । सयौं वर्ष पहिले राजा महाराजाहरुले आफ्नो स्वार्थ वा मनोरञ्जनको निमित्त सुरु गरेका कतिपय संस्कृतिहरुको समय सापेक्ष परिवर्तन गर्न व्यक्तिगत एवं राजकीय हस्तक्षेप आवश्यक छ ।

समृद्ध समाजवादी राज्य व्यवस्था र उत्पादन सम्बन्ध निर्माण गर्न सामन्ती संस्कृति बाधक हुने निश्चित प्रायः छ । नेपालका बाम शक्तिले सांस्कृतिक परिवर्तनका विशेष नमूनाहरु देखाउनु र जनतालाई अभिप्रेरित गर्नु ढिला भइसकेको छ ।

नेपालबाट राजतन्त्रको अन्त्य भइसकेपछि आइबक्स्यो, ज्युनार गरिबक्स्यो जस्ता अति आदरार्थी शब्दहरु नेपाली शब्दकोषबाट हटाइयो, पाठ्यक्रमबाट हटाइयो । तर, ती शब्दहरु आज नेताहरुको चाकडी गर्न धेरैले प्रयोग गरिरहेकै छन् । नेताहरु पनि आफूप्रति प्रयोग गरिएका यस्ता शब्दावलीबाट प्रफुल्लित नै देखिन्छन् ।

विगतका शासन व्यवस्थाले जनजिब्रोमा पुर्याइ दिएका विभिन्न शब्दावलीहरुको नयाँ शासन व्यवस्थामा समेत प्रचुर मात्रामा प्रयोग भइरहेको छ ।

एउटा कम्युनिष्ट पार्टीका स्थानीय नेताले हालै एक सभामा भाषण गरे “नेपाल अधिराज्यमा स्थापित संघीय लोकतान्त्रि गणतन्त्रलाई संस्थागत गर्न निर्मितअग्रगामी संविधानको सफल कार्यान्वयन गर्नु पार्ने आवश्यकता भएकोले सो आवश्यकता पूरा गर्न हाम्रो पार्टीको नेतृत्व आवश्यक छ ।” ती नेतालाई अधिराज्य र गणतन्त्र छुट्टै शासन व्यवस्था हुन् भन्ने हेक्का भएन ।

कुनै दिन विशेष समय लिएर सांसदले भाषण गर्दा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भइसकेकोले अब नेपाल अधिराज्यको तीब्र आर्थिक संवृद्धि र विकास संभव छ” भनेमा आश्चर्य हुने छैन ।

नेपालबाट राजतन्त्रको अन्त्य भइसकेपछि आइबक्स्यो, ज्युनार गरिबक्स्यो जस्ता अति आदरार्थी शब्दहरु नेपाली शब्दकोषबाट हटाइयो, पाठ्यक्रमबाट हटाइयो । तर, ती शब्दहरु आज नेताहरुको चाकडी गर्न धेरैले प्रयोग गरिरहेकै छन् । नेताहरु पनि आफूप्रति प्रयोग गरिएका यस्ता शब्दावलीबाट प्रफुल्लित नै देखिन्छन् ।

२०६२/०६३ को जनआन्दोलनमा सडकमा गणतन्त्रको चर्को नारा लगाउने स्थानीय कम्युनिष्ट नेता कार्यकर्ताले खाना खाने बखत अप्सानी हाल्दा, “भूपतये स्वाहाः, भूवनपतये स्वाहाः” भने होलान् ? राजा हटाउने अनि उनैलाई सम्झेर खाना चढाउने !

नयाँ शासन व्यवस्था अनुरुपको भाषिक परिवर्तन आजको आवश्यकता हो । वाम आन्दोलनले यो असंगतिलाई हटाउन पहल गर्नु आवश्यक छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले मरेपछि स्वर्ग जाइन्छ भन्ने जीवनभर कहिल्यै सोचेनन् तर उनी मरेपछि स्वर्गीय पुष्पलाल भनेर भन्न थालियो । हामीसंग भाषा त्यस्तै थियो त्यसै गरियो । यसमा मात्र असंगति के हो भने आत्मा र स्वर्ग भौतिकवादी शब्दकोषमा पर्दैनन् ।

आत्मामा, ईश्वरमा र कुनै धर्ममा खुलेर विस्वास गर्न पाइन्छ । लोकतन्त्रले यसमा कसैलाई रोकतोक गर्दैन । तर भनाई र गराईमा तालमेल नभए नेता कार्यकर्ताप्रति जनताको विश्वासको पारो घट्छ भन्ने आशय हो यो । नेतृत्वको सांस्कृतिक, भाषिक व्यवहार समाजले अनुशरण गर्न योग्य हुनु त्यत्तिकै आवश्यक छ ।

देशभर सञ्चालन हुने सांस्कृतिक चाडपर्व, रीतिरिवाज र संस्कारका वैज्ञानिक पक्षहरु र परिवर्तित सन्दर्भमा असान्दर्भिक पक्षहरुलाई केलाएर असान्दर्भिक र अव्यवहारिक पक्षलाई हटाउने साहस सामाजिक रुपान्तरणका अभियन्ताहरुले गर्न सक्नु पर्दछ । नेपालमा समाजवादउन्मुख लोकतान्त्रिक शासन व्यवस्थासगैं नयाँ संस्कृति निर्माण हुनु अति जरुरी भइसकेको छ ।

नेतालाई देवत्वकरण नगर्ने, सबैको उचित सम्मान गर्ने, जनतालाई मालिक ठान्ने, सार्वजनिक जीवनमा भड्किलोपन नदेखाउनेजस्ता व्यवहारले नयाँ संकृतिको शुरुवात गर्न सक्छन् ।

नेपालका कम्युनिष्टहरुले देशको राजनीति, अर्थनीतिमा जसरी आमूल र सुधारात्मक परिवर्तन जारी राखेकाछन्, त्यसरी नै नेपाली संस्कृतिलाई आमूल र सुधारात्मक बाटोमा अगाडि नबढाई सुख छैन ।

जनवादी संस्कृतिको निर्माण रातारात हुने होइन, तर विद्यमान संस्कृतिको निरन्तर जनवादीकरण गर्ने काम पनि नेपालका कम्युनिष्टकै हो भन्ने नबिर्सिने कि ?

नेपालमा सांस्कृतिक रुपान्तरणको कुरा गर्दा “राजनीति र अर्थनीतिमा चाडै परिवर्तन ल्याउन सकिन्छ तर संस्कृति समाजमा यति जरा गाडेर बसेको हुन्छ कि यसलाई परिवर्तन गर्न हजार वर्ष पनि लाग्न सक्छ ।”

भन्ने माओको देश चीनमा भएको ’सर्वहारा सांस्कृतिक क्रान्ति’ मा भएका गल्तीबाट नेपाली कम्युनिष्टहरुले गम्भीर पाठ सिक्न सक्नु पर्छ । जनताको चेतना उन्नत बनाएर उनीहरुकै सहभागितामा जनवादी संस्कृतिको निर्माण गर्न सकिन्छ ।

नेपाली कम्युनिस्टहरुले विकास गरेको सुप्रशिद्ध र सर्वाधिक लोकप्रिय सिद्धान्तजनताको बहुदलीय जनवादले हामीलाई सिकाएको यही हो ।

जबजले सुस्पष्ट भनेको छ –’सामन्ती र साम्राज्यवादी साहित्य संस्कृतिको कुप्रभावलाई अन्त्य गरी, सामाजिक कुरीति र अन्धविश्वासहरु समाप्त पारी प्रगतिशील, राष्ट्रिय एवं जनवादी साहित्य संस्कृतिको विकास गरिनेछ । समाजका सबै क्षेत्रमा जनवादी रुपान्तरण गर्नका निम्ति सामाजिक सुधारका कार्यक्रम योजनाबद्धरुपमा अघि बढाइनेछ ।“

माओवादी जनयुद्धताका नेपालको सास्कृतिक क्षेत्रमा केही जबर्जस्ती गर्न खोजिए पनि आखिर त्यो असफल भयो र जनताको बहुदलीय जनवादी संस्कृतिकै लाइनमा हाल सबै समाहित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित