मंगलबार, ४ कार्तिक २०७७
DainikNepal.com
मंगलबार, ४ कार्तिक २०७७

नारायणी नदी छेउछाउमा फोहर फाल्न अविलम्ब रोकियोस्

सूर्य बराल २०७७ असोज ११ गते १७:२१

हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रविन्दुमा रहेको नारायणी नदी किनार (पुलचोकदेखि नारायणी दोभान)सम्म र नारायणी नदीभित्र रहेको टापुहरू (नगरबन र भंगालो) जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर बिसर्जन गर्न थालेको १४–१५ वर्ष भइसकेको छ ।

म यो क्षेत्रमा बसोबास गर्न थालेको १० वर्ष भइसकेको हिसाबले यस क्षेत्रको पछिल्ला घटनाक्रमको स्वयं भुक्तभोगी र नजिकबाट जानकार हुनु स्वभाविक भइहाल्यो । पछिल्लो समय महानगरले यहाँ नारायणी नदीमा विनाप्रशोधन फालिएको फोहरको कारण यो क्षेत्र दुर्गन्धित हुनाका साथै यस्को नकारात्मक असर मानव, वन्यजन्तु र जलचर प्राणीहरूलाई पर्दै गइरहेको छ ।

सूर्य बराल

यो विषयमा मैले यसअघि नै पटक–पटक विभिन्न माध्यमबाट कलम चलाउनाका साथै बिरोध गर्दै आइरहेको छु । विभिन्न मिडियामा समाचार लेखेर, लेख लेखेर, युट्यूव र फेसबुकमा भिडियो हालेर साथै स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गरी स्थानीयलाई सचेत र एकजुट बनाउन प्रत्यक्ष भूमिका खेलिरहेको छु यसमा मलाई गर्व छ ।

भरतपुर महानगरपालिकाका विभिन्न छलफलमा, यसअघिका आधादर्जन बढी प्रमुख प्रशासकीय अधिकृत, अन्य अधिकृत र महानगरको वातावरण शाखाका प्रमुख लगाएत कर्मचारीसँग मात्र होइन अहिलेका निर्वाचित संघीय र प्रदेशका सांसद, मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्यहरू लगायत सरोकारवालाहरूको बीचमा यो पवित्र नदी (गंगा) मा अव्यवस्थित रूपमा यसरी फोहर फाल्दा यस्ले तत्कालिन र दीर्घकालीन हिसाबले ठूलो नकारात्मक असर पर्छ नदीमा फोहर फाल्न बन्द गरौं भनिरहेँ र अझै यही अनुरोध दोहोर्याउँछु । मेरो कुरामा स्थानीय टोलबासी र यस ३ नं. को यो नारायणीतिर क्षेत्रका प्रायः बासिन्दाहरूको सहमत र सकारात्मक सहयोग नै मैले पाइरहेको छु ।

विगत केही वर्षदेखि हाम्रो टोल नजिकको नारायणी नदीमा फालिएको फोहर रोक्न हामी आफै लागि पर्यौं । हामी सबै जनाको बिचमा छलफल कुराहरू हुँदै महानगरबाट आउने फोहर रोक्ने योजना बन्यो । त्यसका लागि हाम्रो तत्कालिन टोलले हामीलाई सहयोग गर्ने अवस्था थिएन ।

उनीहरू नै विभिन्न लालच र स्वार्थमा लिप्त भई महानगरको फोहर यो ठाँउमा ल्याउने काममा लागिरहेका थिए । टोलविनाका हामी स्थानीयले कसरी फोहर रोक्ने भन्ने हामीलाई ठूलै सकस पर्यो । पछि मैले समाधानका लागि भरतपुर महानगर ल्याण्डफिल साइड पीडित संघर्ष समिति बनाउने भनी प्रस्ताव गरें ।

टोलका साथीहरूले मलाई नै नेतृत्व गरिदिन अनुरोध गर्नुभयो । मैले म पेशागत रूपमा पत्रकारितामा भएकाले मैले कुनै पनि आन्दोलनको प्रत्यक्ष नेतृत्व गर्न सक्दिन तपाइहरूलाई डोर्याउन अघि बढाउन सक्छु तर केन्द्रीय वा स्थानीय सरकारविरुद्ध हुने आन्दोलनको मैले नेतृत्व गर्न मेरो पेशागत धर्मले दिंदैन बरु तपाईहरू मध्ये एकजना संयोजक र अरु सदस्य सहितको समिति बनाउ म सल्लाहाकारको रूपमा सक्रिय भूमिका निभाउने छु भनी टोलबासीलाई कन्भिन्स गरे ।

अन्ततः मैले सुझाएअनुसार नै गर्ने निर्णय भयो र हामीले २०७५ बाट सक्रिय रूपमा थालेको यो अभियान उत्तम श्रेष्ठको संयोजकत्वमा ९ सदस्य रहनेगरी भरतपुर महानगर ल्याण्डफिल साइट पीडित संघर्ष समिति गठन भयो । त्यो समितिले वर्षौंबाट यो क्षेत्रमा फोहर फालेबापत स्थानीयलाई कुनै विकास निर्माण र राहात नदिइएकाले क्षतिपूर्तिबापत यस क्षेत्रको विकास सहितको १३ सुत्रीय माग राख्दै आन्दोलन शुरू गरियो । शुरूमा एक चरण आन्दोलनपश्चात् हाम्रो टोलको भत्केको बाटोमा हामीले ३० टिपर जति नारायणीको ग्र्याभेल हाल्न सफल भयौं ।

पछि हामीले राखेका माग उपर महानगरको कुनै सकारात्मक प्रतिक्रिया आउन सकेन साथै हिँजैको पुरानो प्रवृत्ति दोहरिएपछि हामीले यसरी दुर्घन्धित बनाई नदी तथा समाज र वरपरको वातावरण प्रदुषण हुने गरी फोहर फाल्ने अवस्थाको अब अन्त गर्नुहोस् कि त हामीले उठाएका मागहरू सम्बोधन गर्ने लिखित प्रतिबद्धतासहित कार्यन्वयनमा लगियोस् होइन भने वातावरणमा प्रदुषण हुनेगरी, हामीले दुर्गन्ध सहनेगरी यहाँ फोहर फाल्न पाइँदैन भनी बिरोध गर्यौं ।

जब मेरो सल्लाह र दिशानिर्देशनमा स्थानीय बासिन्दाहरू आन्दोलनमा उत्रिए त्यसको सबैभन्दा ठूलो घाटा यहाँका स्थानीयलाई चुस्ने केही मानबरूपी जुका र महानगरपालिकामा वर्षौं वर्षदेखि एकै ठाँउमा रही हालीमुहाली गरी करोडौं भ्रष्टाचारमा संलग्न कमिशनखोरहरूलाई हुने भएपछि केही भाडाका गुण्डाहरू लगाई म माथि मेरो घरमै आक्रमण गराई तर्साउने प्रयत्न गरियो ।

ती भाडाका गुण्डाहरू कसले परिचालन गर्यो छर्लंग हुँदा हुँदै पनि अहिलेसम्म न त आक्रमणकारीलाई प्रहरीले समाउन सकेको छ न त आक्रमणको योजना बनाउने योजनाकारहरूलाई नै पक्रेर कारबाही गर्न सक्यो ।

यो मुख्यतः सत्तारुढ दलकै छत्रछायाँ र राजनीतिक रूपमा संरक्षित गुण्डाहरू भएको हुनाले चितवन प्रहरी यो घटनाको गहिराइमा गई अपराधीहरूको पहिचान गरी कारबाही गर्नै चाहेन या अक्षमता दर्शाइरहेको हुनसक्छ ।

लगत्तै स्थानीय संघर्ष समितिको नेतृत्वमा पुनः आन्दोलन भयोे, म माथिको आक्रमणपश्चात् स्थानीय टोलवासी साथीहरू थप आक्रोशित भई महानगरबाट आउने फोहर रोक्ने कार्यमा लागे । महानगरले हामीलाई बार्तामा बोलायो, हामी बार्तामा सहभागी भयौं । हाम्रा १३ सुत्रीय मागहरू उपर छलफल भई लिखित प्रतिबद्धतासहित पुरा हुन्छन् भने अस्थायी रूपमा केही समय दुर्गन्ध सहेरै भए पनि महानगरलाई सहयोग गरी फोहर फाल्न दिने हाम्रो सल्लाह थियो ।

हामी महानगरमा मेयरकै च्याम्बरमा बार्तामा बस्यौं । जहाँ मेयर, उप मेयर, वडा अध्यक्ष, वातावरण शाखाका इन्जिनीयर बिराट घिमिरेलगायत हाम्रो टोलका हामी ७ जनासहितको संवाद चल्दै थियो ।

संवादमा उहाँहरू मौखिक आश्वासन भन्दा अघि नबढने बरु बल प्रयोग गर्ने आशयको अभिव्यक्ति आइसकेपछि हामी बार्ता भंग गरी आन्दोलनमा उत्रियौं । हाम्रो एकता र शसक्त प्रतिरोध गर्ने चेतावनी पछि भरतपुर महानगरपालिका एकहदसम्म पछि हट्न बाध्य भयो ।

भोलिपल्ट बिहानबाट हाम्रो टोल छेउको नारायणी तिरमा फोहर आउन छाड्यो । हामी स्थानीयवासी अब हाम्रो घर टोल स्वच्छ हुने भयो भनी खुशी भयौं । आपसमा खुशी साट्यौं, फेरि पनि हामीलाई केही डर भने थियो, कुनै पनि बेला बल प्रयोग गरेर आउन सक्छन् । यत्रो देशको नेतृत्व गरेको पार्टी र महानगरको शक्तिको अगाडि हामी बत्तीका पुतली समान थियौं । किनकी हामीलाई महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नेत्रराज सुबेदीले प्रहरी लगाएर भए पनि स्थानीयलाई दमन गरेर भए पनि फोहर नारायणी मै फाल्नुको विकल्प छैन भन्दै धम्क्याएका थिए ।

उनीहरूले हाम्रो टोलमा मनोवैज्ञानिक त्रास सृजना गर्न दुईचार पटक पुलिसका भ्यान समेत पठाएका थिए ।

त्यस्तै, नेकपाका अन्य केही नेता र महानगरका तर्फबाट समेत हामीलाई चौतर्फी दबाब थियो । कुनै पनि बेला दंगा प्रहरी या सशस्त्र प्रहरी समेत परिचालित गरी हामीलाई दबाउने अवस्था भने प्रबल थियो । यद्यपि हामी डराएनौं किनकी मैले कुनै माध्यममार्फत गृहमन्त्री रामबहादुर थापा बादलसम्म यहाँ दमन भएमा जनता प्रतिरोधमा उत्रन्छन् र त्यँहा कुनै दुर्घटना भएमा जनता गृहप्रशासनप्रति आक्रोशित बन्ने अवस्था आउँछ । सानो झिल्कोले आन्दोलनको ठुलो रूप लिन सक्छ, त्यसैले कुनै पनि हालतमा स्थानीयविरुद्ध प्रहरी परिचालन गर्न हुँदैन भन्ने सन्देश गृहमन्त्रीका राजनितीक सल्लाहाकार सूर्य सुवेदी पथिकलगायत नेकपाका अन्य नेताहरूमार्फत पठाएको थिएँ ।

साथैै म आफै सञ्चारकर्ममा भएको नाताले स्थानीय तथा राष्ट्रिय मिडियाहरूमा व्यापक समाचार प्रवाह गराइरहेको थिएँ, राजधानीका दर्जनौं अनलाइनमा समाचार छ्यापछ्याप्ती बनाएको थिएँ । त्यस्तै जिसस, सिडियो अफिस, प्रहरीका हाकिमहरू सबैतिर हाम्रो पत्र र कुराहरू बुझाएको थिएँ । जसले गर्दा हामी निरीह जनताको अगाडि भयंकर रूप भएका बाघरूपी सत्तारुढ दल र महानगरपालिका प्रशासन पछाडि हट्न बाध्य भए ।

पवित्र नारायणी नदीतीर र आसपासमा फोहर फाल्ने कार्य कुनै पनि हिसाबले उचित छैन् । आज हामीले गरेको काम र निर्णयले आज मात्र होइन भोलिसम्म पर्ने नकारात्मक असरबारे महानगर नेतृत्व र कर्मचारीतन्त्र सचेत हुन जरुरी देखिन्छ । पिसाबको न्यानो खोज्ने प्रवृत्ति सर्वथा घातक हुन्छ, महानगरमा हिजोको नगरपालिका हुँदादेखि यो प्रवृत्ति हाबी छ । कर्मचारीतन्त्र जसरी हुन्छ तत्कालिन समस्या मात्र समाधान चाहान्छ, जसले दीर्घकालमा जेसुकै होस ।

उनीहरू जनता जनार्दनको जुझारु एवं संगठित एकताको अगाडि झुक्न त बाध्य भए तर बदलाको रूपमा यस क्षेत्रमा विकास रोकिदिने भनी स्थानीयलाई नेकपाका केही व्यक्तिहरूले धम्की दिए । आज उनीहरूको धम्कीलाई साकार रूप दिए जसरी हाम्रो यस ठाँउमा यो एक वर्षमा स्थानीय (वडा, महानगर), प्रदेश र संघीय कुनै पनि सरकारबाट एक रूपैयाँ बजेट परेन पारिएन । हामीहरू धेरै पटक वडा धाएपछि आर्थिक वर्षको अन्ततिर मध्य वर्षातमा लाजकाजले सडकका खाल्डो पुर्न भनी १७ ट्रिप ग्राभेल त्यो पनि आधा महिना लगाएर बल्ल बल्ल दिइयो ।

यो क्षेत्रका जनताको जीवनस्तर उकास्न महानगरले कुनै तालिम र कुनै कार्यक्रम ल्याएन, न त विगतमा यस क्षेत्रमा थुपारिएको फोहरको कारण खानेपानी, वातावरण र जनजीवनमा परेको नकारात्मक असरको बारेमा कुनै अध्ययन, अनुसन्धान, समीक्षा र याचना नै भयो । भयो त केबल फोहर फाल्न अबरोध गरे बापतको बदला लिने कार्य ।

स्थानीयलाई जागरुक बनाई फोहर फाल्न रोकेबापत ममाथि सांघतिक आक्रमण भयो । यो विषयमा मैले वस्ती नजिकको नारायणी नदीतिरमा फोहर फाल्न हुन्न भन्दा ममाथि भाडाका गुण्डाहरू लगाएर आक्रमण भयो ।

तर ममाथिको आक्रमणलाई स्थानीयले स्थानीयमाथिकै हमलाको रूपमा लिई अझ शसक्त रूपमा फोहर फाल्न रोक्न लागिपरँे जसको कारण हाम्रो घर छेउको नारायणी नदीमा सदाको लागि फोहर फाल्न रोकियो । महानगर प्रशासन एकहदसम्म पछि हट्यो ।

यद्यपि, महानगरले वर्षातमा भरतपुर वडा नम्बर ३ कै संसारीमाई टोल क्षेत्र नजिकको नारायणी नदीतिर र हिँउदमा हाम्रै टोलबाट नजिकको नारायणी नदीको बीच भंगालोमा फोहर फाल्ने कार्यलाई निरन्तरता दिइरह्यो । विगतका कर्मचारीले जे गरे जनताको भोटबाट निर्वाचित जनप्रतिनिधिहरूले त्यो भन्दा बढी गर्नु त परै जावोस त्यति पनि गर्न नसकेको आम अनुभुति छ यहाँका स्थानीयलाई ।

केही महिना यता संसारीमाइका स्थानीयले पनि आफ्नो बस्ती नजिक फोहर फाल्दा बस्तीमा दुर्गन्ध फैलिएको भन्दै महानगरलाई पत्र लेखी विरोध जनाइरहेका छन् । स्थानीयको आन्दोलनमा हामीले समेत ऐक्यबद्धता र सर्मथन जनाइसकेका छौं । संसारीमाई टोलका स्थानीयले बिरोध जनाई फोहर फाल्न रोकेपछि महानगरले फोहर बिसर्जनका लागि पुनः हाम्रो बस्तीतिर आँखा लगाइरहेको देखियो ।

नारायणगढ भरतपुरमा केही दिनदेखि फोहर नउठिरहेको परिप्रेक्ष्यमा मलाई भरतपुर महानगरका मेयर रेणु दाहालका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीको फोन आयो मैले फोन उठाएँ । अधिकारीले मेयरसाबले बोलाउनु भएको छ तुरुन्त महानगर आउनुपर्यो भनि खबर आयो ।

म तुरुन्त गएँ, म त्यहाँ गएपछि मेयरको क्याबिनमा मेयर, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वातावरण शाखामा कार्यारत बिराट घिमिरे, ३ नं. वडाका वडाअध्यक्ष चन्द्रमित्र पण्डित, महानगरको फोहरमैला उपसमितिका संयोजक तथा वडा नं. ५ का पदमपाणि शर्मा लगायत करिब एक दर्जन महानुभावहरू पहिलदेखि त्यँहा बसिरहनुभएको थियो ।

जानेबित्तिकै प्रमुख प्रशासकीय अधिकृतले ५ दिनदेखि बजारको फोहर नउठेको कारण दुर्गन्ध फैलिने अवस्था आयो यता संसारीमाइका स्थानीयले फोहर फाल्न रोके तपाइँहरूको स्थानमा फोहर फाल्न दिनपर्यो भन्ने कुरा राखे । त्यसैगरी बिराट घिमिरे, पदमपाणि, वडाअध्यक्ष पण्डित लगायतले कुरा राखेपछि मेरो पारो तात्यो ।

त्यँहा विकासको ललिपप पनि आयो अनि मैले भनें, के हाम्रो टोलमा मान्छे बस्दैनन् ? के त्यहाँ दुर्गन्ध हुने अनि हामीलाई बास्ना आउने हो र ? कि त्यहाँका मान्छे अनि हामी मान्छे होइनौं र ? हामीले १ वर्ष अघिदेखि हाम्रो टोल आसपासमा फोहर फाल्न रोकीसक्यौं, अब हामी कुनै पनि हालतमा यहाँ फोहर फाल्न दिन्नौं भनें । सुनकै बाटो दिए पनि हामी दुर्गन्ध सहन सक्दैनौं अब भनें ।

यो मेरो कुरा पनि हो र त्यँहाका स्थानीयको कुरा पनि यहि हो भनें । हामीले यसअघि नै धेरै दुर्गन्ध सह्यौं, वर्षौं वर्षबाट यो क्षेत्रमा फोहर फालियो, हाम्रो ठाउँलाई डम्पिङ साइट बनाएर हामीलाई के भो ? महानगरले त्यो क्षेत्रको जनाताका लागि हिँजो के गर्यो आज के गर्यो अब किन दिने ? हामी फोहर फाल्न दिन्नौं ।

वडा अध्यक्ष र बिराटजी बिचार गर्नुस् त्यतातिर फोहर फाल्ने कल्पनासम्म नगर्नुस, जबरजस्ती फोहर फाल्ने दुश्प्रयास भयो भने पहिला तपाइँहरूलाई जनताले कालोमोसो र जुत्ताको मालाले स्वागत गर्ने छन भन्दै मैले हाम्रो टोल र नारायणी नदीतिरमा फोहर फाल्न दिन साफसँग इन्कार गरेर त्यँहाबाट उठी हिडें ।

त्यँहाबाट सिधै टोलमा गई टोलका साथीहरूलाई विषयवस्तुबारे जानकारी गराउनाका साथै सामाजिक सञ्जालमार्फत हामीमाथि थोपरिन खोजेको फोहरको दुर्गन्ध र महानगरको शैलीको भण्डाफोर गरिरहें । त्यसपछि बाह्रघरे र संसारीमाइटोलको संयुक्त मिटिङ बसी महानगरले जर्बजस्ती गरे शसक्त रूपमा प्रतिरोध गर्नेसम्मको छलफल चलाएँ ।

हामी ३ टोलका अध्यक्षहरूको पटक–पटकको संयुक्त मिटिङले तत्काललाई बजारको फोहर उठाउन दिने तर विगतको झैं सधैं यो ठाँउमा फोहर फाल्न नदिने निर्णयसहित महानगरलाई जानकारी दिई तत्कालिन समस्या समाधान गरियो । १ महिना बढी भइसक्यो फोहर संसारीमाइ टोल क्षेत्र नजिकको नारायणी नदीतिरमा महानगरले पुनः फोहर बिसर्जन गरिरहेको छ ।

तर, अन्य विकल्पमा अझै ठोस निर्णय गरेको देखिंदैन । स्थानीयले बिरोध गरेपछि विकल्पका ठूल्लठूला गफ गर्ने महानगरका कर्मचारीहरू समस्या समाधान भएसँगै फेरि निदाएको जस्तो देखिन्छ ।

अन्तमा म के भन्छु भने यत्रो विशाल भरतपुर महानगरले यो पवित्र नारायणी नदीतीर र आसपासमा फोहर फाल्ने कार्य कुनै पनि हिसाबले उचित छैन् । आज हामीले गरेको काम र निर्णयले आज मात्र होइन भोलिसम्म पर्ने नकारात्मक असरबारे महानगर नेतृत्व र कर्मचारीतन्त्र सचेत हुन जरुरी देखिन्छ । पिसाबको न्यानो खोज्ने प्रवृत्ति सर्वथा घातक हुन्छ, महानगरमा हिजोको नगरपालिका हुँदादेखि यो प्रवृत्ति हाबी छ । कर्मचारीतन्त्र जसरी हुन्छ तत्कालिन समस्या मात्र समाधान चाहान्छ, जसले दीर्घकालमा जेसुकै होस ।

यस विषयमा महानगरको नेतृत्व र खासगरी राजनीतिक नेतृत्वले गम्भीर रूपमा सोच्नुपर्दछ । जतिसक्दो चाँडो नारायणी नदी प्रदुषित बनाउने कार्य अबिलम्ब रोकी फोहर बिसर्जनको वैकल्पिक स्थान र वैकल्पिक उपाय अपनाउनुपर्ने देखिन्छ । अन्यथा इतिहासमा हामी फोहरमैलाको वयवस्थापनमा अक्षम ठहरिने छौं । बाँकी आफै सोच, विचार र महसुस गरी निर्णय गर्नुहोस् ।

बराल पत्रकार तथा नारायणी दोभान टोल विकास क्षेत्रको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित