शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडाैंमा कालाेबजारी राेक्न तीन वटा अनुगमन समिति गठन

दैनिक नेपाल २०७७ असोज ८ गते ७:२७

काठमाडौं, ८ असाेज । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले दशैँ, तिहार जस्ता चाढ पर्वमा हुने कालाेबजारी नियन्त्रण गर्न तीन वटा अलग अलग अनुगमन समिति बनाएकाे छ ।

दशैं, तिहार, छठ, नेपाल सम्वतलगायत प्रमुख चाडपर्वको मौका छोपेर हुनसक्ने महँगी, कालोबजारी, मिसावट, गुणस्तरहीन सामान बिक्री, कृत्रिम अभाव, सार्वजनिक यातायातमा बढी भाडा असुली जस्ता गैरकानूनी गतिविधि नियन्त्रण, बजार अनुगमन र संलग्‍नलाई दण्ड, जरिवाना गर्न काठमाडौं प्रशासनले तीन छुट्टाछुट्टै संयन्त्र गठन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीहरू जीवनप्रसाद दुलाल, जनकराज भट्ट र कल्पना घिमिरे संयोजक रहेका छुट्टाछुट्टै समिति गठन भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पर्व लक्षित बजार अनुगमन र तोकिएको मूल्यभन्दा बढी असुल्नेलाई कारबाहीको दायरामा ल्याउन छुट्टाछुट्टै समिति गठन गरिएको बताएका छन् ।

समितिमा प्रशासनसहित सुरक्षा निकाय, उद्योग वाणिज्य तथा आपूर्ती र स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकाय, उद्योग वाणिज्य महासंघ र यातायात व्यवसायी महासंघका प्रतिनिधिलाई पनि समितिमा राखिएको छ ।

दाहालका अनुसार सहायक प्रजिअ जीवनप्रसाद दुलालको संयोजकत्वमा खाद्यान्न अनुगमन समिति गठन गरिएको छ । यो समितिमा वाणिज्य विभाग, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि समावेस गरिएको छ ।

सहायक प्रजिअ जनकराज भट्टको संयोजकत्वमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र यातायात व्यवसायी महासंघका प्रतिनिधि रहने गरि लामो दूरीका सवारीमा टिकट तथा भाडा र यस्ता बस सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुगमनसम्बन्धी समिति गठन भएको छ ।

काठमाडौंकी सहायक प्रजिअ कल्पना घिमिरेको संयोजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय, प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि रहने गरी लत्ताकपडा, मास्क, सेनिटाइजर बिक्रीवितरण अनुगमन समिति गठन गरिएको छ ।

संयन्त्रले अनुगमनमा क्रममा गल्ती गरेको भेटिए तत्कालै पक्राउ देखि गोदाम तथा पसलमा सिल गर्ने र कुन कसुरमा कारबाही गर्ने भन्ने निर्क्योल गर्न सक्नेछ ।

प्रतिक्रिया
सम्बन्धित