मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

शंकर ग्रुपको अर्को बदमासी : जगदम्बा हस्पिटालिटीद्वारा निर्माणाधीन हिल्टन होटलको बलमिचाइ

दैनिक नेपाल २०७७ असोज ७ गते ६:४७

काठमाडौं, ७ असाेज । शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको पाइएको छ । सो होटलले निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै आइरहेको छ ।

जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी पनि शंकर गु्रपअन्तर्गतकै हो । यो डन्डी गुणस्तरहीन प्रमाणित भई कारबाहीमा परिसकेको छ ।

होटलले निर्माण मापदण्डलाई पूर्ण बेवास्ता गरे पनि सम्बन्धित निकायले कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । मापदण्डअनुसार शंकर ग्रुपको कम्पनीले सँधियारसँग अनिवार्य स्वीकृति लिनुपर्छ । साथै निर्माण सामग्रीको परीक्षण रिपोर्ट पनि बुझाउनुपर्छ ।

यसैगरी, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण र साइट प्रोटेक्सनको काम अनिवार्य रूपमा गर्नुपर्छ । तर, शक्तिको आडमा जगदम्बा हस्पिटालिटीले यी सबै मापदण्डको खिल्ली उडाउने काम गर्दै आएको छ ।

राजनीतिक शक्ति र पैसाको भरमा आफ्ना गल्ती कमजोरी ढाकछोप गरी बलमिचाइ गर्दै आएको जगदम्बा हस्पिटालिटीले होटल निर्माणका क्रममा सडकसमेत मिचेको पाइएको छ । होटल निर्माण गर्दा भवन निर्माणको मापदण्डसमेत लत्याएकाले त्यसले भविष्यमा गम्भीर क्षति निम्ताउन सक्ने देखिएको छ ।

शंकर ग्रुपले जगदम्बा हस्पिटालिटी र हिल्टन वल्र्डवाइडको लगानीमा काठमाडौंको नक्साल भगवतीबहाल मन्दिर नजिकै निर्माण गरिरहेको पाँचतारे हिल्टन होटलको जग हाल्ने बेला नक्सालका स्थानीयलाई निकै सास्ती दिएको थियो । स्थानीय अझै पनि सो होटेलबाट निकै असुरक्षित महसुस गरिरहेका छन् ।

पाँच रोपनी जग्गामा करिब ४ अर्ब रुपैयाँ लगानी गरेर होटल बनाइँदै छ । दुई तला बेसमेन्टसहित १५ तले यस होटलको जग हाल्ने बेला २०७३ सालको पुसमा नक्साल भगवतीबहाल मन्दिरचोकदेखि प्रहरी प्रधान कार्यालयतर्फ जाने सडक निकै गहिरो गरी भासिएको थियो । जसका कारण केही समय त्यस सडकको सवारी साधन सञ्चालनमा समेत अवरोध हुन पुगेको थियो । सो समय दुईतर्फी सडकको झन्डै आधाभन्दा बढी भाग भासिएर ठूलो खाडल परेको थियो ।

जग खन्नेबेला ठूला मेसिन प्रयोग गरी जमिनमुनि धेरै गहिरो खनेर ठूलो भूकम्पभन्दा बढी थर्काएका कारण होटल वरिपरिका छिमेकी आन्दोलनमै उत्रिएका थिए । त्यसबेला नक्सालका स्थानीय आफ्नो घर नै भत्किने सक्ने भन्दै आन्दोलित भएका थिए । केहीले जोखिममा परेको घर छोडेर अन्तै डेरा लिएर बस्नुपरेको थियो । त्यसबेला आन्दोलनमा उत्रिएका केही व्यक्तिको घर किनेर र होटल नजिकैका केही पसलेलाई शंकर ग्रुपले प्रतिव्यक्ति २५ हजार रुपैयाँ थमाएर सो आन्दोलन मत्थर पारेको थियो ।

त्यसबेला डबल ट्री हिल्टन होटलको नक्सा स्वीकृत मापदण्डमै समस्या देखिएको भनेर काठमाडौं महानगरपालिकामाथि समेत प्रश्न खडा गरिएको थियो । काठमाडौं महानगरपालिकासँग अनुमति लिई जगदम्बा हस्पिटालिटीले निर्माण सुरु गरेको हिल्टन होटलले सडक र पूर्वाधार निर्माणको मापदण्ड पूूरा नगरेको पाइएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

२०७२ सालको भूकम्पभन्दा केही महिनापछिबाट निर्माणको काम अघि बढाएको यस होटल अहिलेसम्म पनि निर्माणाधीन अवस्थामा छ ।

विश्वकै दोस्रो ठूलो होटल सञ्जालका रूपमा ‘हिल्टन होटल’ सञ्चालन गर्न खोजिएको छ । तर होटलले मापदण्डविपरीत निर्माण कार्य थालेपछि जुनसुकै समयमा पनि ठूलो दुर्घटना निम्तन सक्ने भय स्थानीयमा छ ।

त्यसबेलादेखि यो होटल नक्साल र भगवती बहालको ऐतिहासिक बस्तीकै लागि खतरा साबित भएको भन्दै स्थानीयले निकै विरोध गरेका थिए । शंकर ग्रुपले सरकारी निकाय र राजनीतिक पहुँचवालाको सहयोग लिएर स्थानीयको भावनामा गम्भीर ठेस पु-याउने काम गरेको पाइएको छ ।

स्थानीयको विरोध मत्थर पार्न आर्थिक चलखेल भएको र पैसाकै कारण सरकारी निकाय चुपचाप बसेको स्थानीयको आरोप छ । जगदम्बा हस्पिटालिटी, हिल्टन इन्टरनेसनललगायत थुप्रै व्यापारिक घरानाको ठूलो लगानी रहेको यस होटलले पहिलो चरणमा ‘अन्डरग्राउन्ड’मा तीन तला बनाउने काम सुरु गरेको थियो । दुई तलाभन्दा बढी ‘अन्डरग्राउन्ड’ जान नपाइने भवन निर्माण मापदण्ड छ । तर, होटलले खुलेयाम मापदण्ड उल्लंघन गर्दा समेत सरोकारवाला निकाय चुपचाप बसेको स्थानीयको भनाइ छ ।

स्थानीय जानकारका अनुसार कुनै पनि संरचना निर्माणका लागि जमिनको क्षेत्रफल महत्वपूर्ण हुन्छ । जमिनको क्षेत्रफलमा कति खुला छाडिएको छ भन्ने आधारमा उचाइ निर्धारण हुन्छ । निर्माणाधीन होटल यी सबै मापदण्डमा चुकेको छ । मुख्य सडकबाट ६ मिटर टाढा संरचना बनाउनुपर्ने नियम भए पनि अहिले यस होटलले सडकको किनारा नै छोएको छ ।

जगदम्बा हस्पिटालिटीले क्षतिको पूर्वआँकलन नगरीकनै होटलको भवन निर्माणकार्य सुरु गरेको पाइएको थियो । काठमाडौं महानगरपालिकाको क्षतिपूर्ति मूल्यांकन समितिले त्यस्तो बेहोराको प्रतिवेदन बुझाएपछि मात्र सो रहस्य बाहिर आएको थियो ।

जगदम्बा हस्पिटालिटीले यस होटलको जग खन्ने क्रममै पुनर्विचार नगर्दा सो समय ग्रान्ड होटलका मालिक रामअवतार गोयललगायत अन्य वरिपरिको घरमा समेत क्षति पुगेको र सडक पनि भासिएको काठमाडौ महानगरपालिकाको क्षतिपूर्ति मूल्यांकन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख थियो । यसैगरी सो प्रतिवेदनमा होटलको जग खन्ने क्रममा जमिन खोतल्दा नै वरिपरिका जमिन भासिएको पाइएको, पश्चिमतर्फ गोयलको घर सुरक्षित गर्न राखिएका पाइपले जमिन तथा घरको पूर्ण भार थेग्न नसकेपछि भासिएको र साइट प्रोटेक्सनको कुनै पनि मापदण्ड पूरा नगरेको उल्लेख थियो ।

सो समय पनि यस होटल निर्माण क्षेत्र वरिपरिको संवेदनशीलता, अर्काको सम्पत्ति नासको परिणाम र फिल्डको अन्य अवस्था हेर्दा पश्चिमतर्फको क्षेत्र सुरक्षित गर्न दुई पक्षका विज्ञ परिचालन गर्न समितिले सुझाएको थियो । त्यस बेला क्षतिपूर्ति मूल्यांकन समितिले क्षतिको मूल्यांकन यकिन गर्न नसकेपछि विज्ञ लगाउनुपर्ने रायसमेत पेस गरेको थियो ।

‘जियोग्राफिकल इन्जिनियर र रेट्रोफिट डिजाइन गर्ने स्ट्रक्चरल इन्जिनियरसमेतको राय एवं दुवै पक्षको सहमति आवश्यक पर्ने देखिन्छ भन्ने प्रतिवेदन बुझाए पनि होटल बनाउने क्रममा यस्ता सुझाव पूरै लत्याइएको सम्बन्धित सरोकारवालाको भनाइ छ ।

सो प्रतिवेदनमा ‘महानगरपालिकाका तर्फबाट निर्णय सदस्यसमेतको संलग्नता हुने गरी पुनः संयुक्त फिल्ड निरीक्षण गरेर क्षति मूल्यांकन गर्दा वास्तविक क्षतिको अवस्था प्रस्ट हुन्छ’ भन्ने उल्लेख थियो । काठमाडाैं महानगरपालिकाले भवन निर्माण इजाजत विभागका इन्जिनियर वीरबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । प्रतिवेदन बुझेपछि महानगरपालिकाले कानुन अधिकृत हरिमाया घिमिरेलाई भवन निर्माण इजाजत विभागसँग समन्वय गरेर काम अघि बढाउन निर्देशन दिएको थियो । झट्ट हेर्दा यस होटल निर्माणका लागि महानगरपालिकाले उपत्यका विकास प्राधिकरणसँगको समन्वयमा नक्सा पास गरेको देखिए पनि उसको दोहोरो भूमिका देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशार्थ केही समयसम्म निर्माणकार्य रोक्का पनि महानगरपालिका आफैंले गरेको थियो । त्यसैगरी पुनः जगदम्बा हस्पिटालिटीबाट निर्माणकार्य नरोक्न आग्रह गरेपछि महानगरपालिका आफैंले रोक्का फुकुवा गरेको थियो ।

महानगरपालिकाका एक उच्च अधिकृतले भने, ‘त्यति सानो क्षेत्रफलमा गगनचुम्बी होटेल बनाउन स्वीकृति दिने क्रममा गलत मनसायबाट नक्सापास स्वीकृत गरिएको छ । यसमा ठूलै रकमको चलखेल छ ।’ उनले हचुवाका भरमा प्लिन्थ लेभलसम्मको नक्सा पास गरिएको बताए ।

सो समय स्थानीयलाई परेको प्रभावका विषयमा संघीय संसद्मा समेत छलफल भएको थियो । संसद्को सुशासन तथा अनुगमन समितिमा यस होटल निर्माणको क्रममा स्थानीयले भोग्नुपरेको दुःख एवं प्रभावका विषयमा छलफल भएको थियो ।

जगदम्बा हस्पिटालिटीले निर्माण गर्दै गरेको यस होटलमा भवन आचारसंहिताअनुरूप मापदण्ड पूरा नगरी नक्सा पास गरेको छ । भवन आचारसंहिताको दफा १४.७ मा १७ मिटर वा पाँच तलाभन्दा अग्लो भवन निर्माणमा माटो परीक्षण अनिवार्य हुन्छ । यसका लागि खानी तथा भूगर्भ विभागले माटो परीक्षण गरी निर्माण योग्य भनेपछि मात्र अनुमति दिन सकिने प्रावधान छ ।

तर, जगदम्बा हस्पिटालिटीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी होटल बनाउन सुरु गरेको सम्बन्धित सरोकारवाला एवं स्थानीयको आरोप छ । उनीहरूले जगदम्बा हस्पिटालिटीले काठमाडौं महानगरपालिकाका उच्चपदस्थलाई समेत आर्थिक प्रलोभनमा पारेर नक्सा पास गरेको आरोप लगाउँदै आएका छन् । काठमाडौं महानगरपालिकाका एक इन्जिनियरले भने, ‘यति ठूलो होटल निर्माण योजनामा महानगरपालिकाबाट एउटा पनि इन्जिनियर नखटाइनु अचम्मको कुरा हो ।’

पछिल्लो समय माथिबाटै दबाब आएपछि सामान्य झारा टार्ने गरी मात्रै कुनै बेला महानगरले इन्जिनियर पठाएको तर यस योजनाकै लागि भनेर छुट्टै नखटाएको उनको भनाइ छ । उनले हिल्टनको निर्माणकार्य सुरु भएर एकैपटक बेसमेन्ट ढलान गरिसकेपछि मात्रै इन्जिनियर खटाइएको जानकारी गराए ।

कारबाहीमा परेको शंकर ग्रुपका अध्यक्षलाई सम्मान

पछिल्लो समय थर्मलगनको कालोबजारी र गुणस्तरहीन जगदम्बा स्टिल बेचेर उपभोक्ता ठग्न संलग्न भएको भन्दै सरकारी कारबाहीमा परेका शंकर गु्रपमा अध्यक्ष शंकरलाल अग्रवाल (गोल्यान)लाई पनि सरकारले प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित गरेको छ । सरकारले पाँचौं संविधान दिवसका अवसरमा अग्रवाललाई यस्तो मानपदवी एवं पदकले सम्मान गरेपछि सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ ।

माडवारी समुदायको उद्गमस्थल भारतको राजस्थानबाट आएका रावतमल गोल्यानका कान्छा छोरा शंकरलाल अग्रवाल (गोल्यान)ले सन् १९७० देखि नेपालमा व्यवसाय सुरु गरेका थिए । उनले यहाँ सबैभन्दा पहिले कपडाको व्यापार गरेका थिए । विभिन्न देशबाट कपडा ल्याएर व्यापार थालेका शंकरलालले सुरुका करिब १० वर्ष कपडाको व्यापारमै बिताएका थिए । त्यसपछि उनले बिस्तारै आफ्नो व्यवसाय विस्तार गरी अहिलेको ठूलो व्यापारिक घराना शंकर ग्रुप स्थापित बनाएका हुन् । अहिले उनकै अध्यक्षतामा स्थापित दुई छोरा साहिल र सुलभ संलग्न शंकर ग्रुपअन्तर्गत जगदम्बा सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा मोटर्स (अटोमोबाइल), कृषि, खाद्यान्न तथा एमसीजी, चुरोट, प्याकेजिङ, रियलस्टेट, हस्पिटालिटी, विद्युतीय, जीवन बिमा, क्रेडिट रेटिङ र व्यापारलगायतका विभिन्न १५ वटा भन्दाबढी क्षेत्रका लगानी विस्तार भइरहे पनि तीमध्ये कतिपय कम्पनीद्वारा उत्पादित वस्तुहरू गुणस्तरहीन भइरहेको पाइएको छ । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित