२ कार्तिक २०८३, सोमबार

भारतमा कोरोना संक्रमण बढे पनि खुल्यो ताजमहल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत, ५ असोज । भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ।

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ। संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड–१९ बाट संक्रमित भइसकेका छन्।

गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनका कारण लाखौं मानिसको जीविकामै असर परेको छ। त्यहीकारण प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्ला दिनहरुमा अरु मुलुकले अबलम्बन गरेझैं कडा नियमहरु लागू गर्न इच्छुक देखिएका छैनन्।

सरकारले पछिल्ला महिनाहरुमा रेलसेवा, घरेलु बिमान सेवा, बजार र रेष्टुराँ समेतका पेशा व्यवसायमा गरिएका प्रतिबन्धहरु खुकुलो बनाउन थालेको छ। सरकारले अब भारतकै विश्वप्रसिद्ध स्मारक ताजमहल सर्वसाधारणका लागि खुला गरेको छ।

ताजमहल घुम्न परिवारसहित आइपुगेका बैंकका एक अधिकृत आयुब शेखले लकडाउनका कारण धेरै मानिसले रोजगारी गुमाएको अवस्थामा सरकारले पूरै मुलुकलाई खुला गर्नुपर्ने बताए।

उनले भने, “हामीलाई अब भाइरसको डर छैन। यसले संक्रमण गर्ने भए गरिसक्यो, अब कति चिन्ता लिएर बस्ने? अहिले मानिसको मृत्युदर पनि घटेको छ। मेरो विचारमा यो भाइरस त्यतिकै हराएर जाँदैन।”

भारतमा आग्रास्थित ताजमहल निकै लोकप्रिय पर्यटकीय स्थल हो। यो स्मारक हेर्न बर्षमा झण्डै ७० लाख मानिस यहाँ आइपुग्छन्। तर यो स्मारक विगत सात महिनादेखि बन्द छ।

अधिकारीहरुले सामाजिक दूरीका नियमहरुमा कडा गरिएको र पर्यटकहरुलाई यहाँका संगमरमर छुन निषेध गरिएको बताएका छन्। राजकुमारी डायनाले सन् १९९२ मा बसेर फोटो खिचाएको बेन्चलाई विशेष किसिमबाट ल्यामिनेट गरिएको छ ताकि त्यसलाई बेलाबेला स्यानिटाइज गर्न सकियोस्।

सोमबार पहिलो दिन बिहानै सयौं मानिस ताजमहल पुगिसकेका थिए। सुरक्षाकर्मीहरुले मानिसहरुलाई मास्क लगाउन अनुरोध गरिरहेका थिए। यहाँ दैनिक भ्रमण गर्नेको संख्या पाँच हजारमा सीमित गरिएको छ। यो संख्या विगतको भन्दा एक तिहाई मात्र हो। -रासस