बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

संक्रमण केही दिनयता बढ्दो क्रममा

दैनिक नेपाल २०७७ असोज ३ गते ६:३१

काठमाडौं, ३ असाेज । कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गर्छ ।

परीक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या बढी देखिएको विज्ञहरूले बताएका छन् । पछिल्ला चार महिनामा ८ लाख २७ हजार ८ सय ३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

जसअनुसार गत जेठमा १ लाख १० हजार ७ सय १३, असारमा १ लाख ६० हजार १ सय ४६, साउनमा २ लाख १४ हजार ९७, भदौमा ३ लाख ४२ हजार ८ सय ४७ जनाको कोरोना परीक्षण गरिएको हो । १ र २ असोजमा २२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २ सय ६६ जनामा संक्रमण देखिएको छ ।

देशभर शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ ।

जसअन्तर्गत प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा १ सय १८ र सुनसरीमा ५८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ को धुनषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ र सिरहामा १९ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशको काभ्रेमा ६, चितवनमा १ सय ९१, दोलखामा १, धादिङमा १४, नुवाकोटमा ६, मकवानपुरमा ३०, रामेछापमा ६ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ र लमजुङमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५ को अर्घाखाँचीमा ९, कपिलवस्तु र गुल्मीमा ६-६, दाङमा २४, नलवपरासीमा ४१, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा १८, बाँकेमा २, रूपन्देहीमा ८६ र रोल्पामा ९ जनामा कोरोना देखिएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २३, सुर्खेतमा १ सय १७, सुदूरपश्चिमको अछाममा १६, कञ्चनपुरमा ७, कैलालीमा १७, डोटीमा १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना डिस्चार्ज भएका छन् । देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये हालसम्म ३ सय ९० जनाको मृत्यु भएको छ ।

हालदेशभर १ सय ७३ जना आईसीयू र ३६ जना भेन्टिलेटरमा छन् । देशभर ७ हजार ७ सय ३६ जना क्वारेन्टिनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ लाख ९४ हजार ३ सय ७३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित