शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

जनता काेराेनाले भाेकै, मुख्यमन्त्रीकाे गाउँका मन्दिरलाई करोडौं बजेट

दैनिक नेपाल २०७७ असोज २ गते ७:२६

डोटी, २ असाेज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको गृह जिल्ला डोटीको केआईसिंह गाउँपालिका–६ फलेडीमा मन्दिर निर्माणका नाममा मात्रै करोडौंको बजेट विनियोजन भएको छ ।

मुख्यमन्त्रीको गाउँपालिका केआईसिंहमा मात्रै आर्थिक वर्ष २०७७÷०७८ मा कार्यान्वयन हुने ७३ वटा योजना परेका छन् । आफू निकटमा रहेका नेताकार्यकर्ता खुसी पार्नकै लागि ती योजनामा बजेट विनियोजन भएको यहाँका स्थानीयबासीको आरोप छ ।

बजेट विनियोजन भएका यहाँका कतिपय योजना त व्यक्तिगत पनि भएको स्थानीयको आरोप छ । आफ्नो भोट बैंक सुरक्षित गर्नका लागि मुख्यमन्त्री तथा उहाँका स्वकीय सचिवको ठाडो आदेशमा योजना छनोट हुँदै आएको केआईसिंह गाउँपालिका–१ का स्थानीय दीपकबहादुर मगरले आरोप लगाउनुभयो ।

मुख्यमन्त्री भट्टले केआईसिंह गाउँपालिका–६ फन्नी गाउँमा मन्दिर निर्माणलाई बढी प्राथमिकता दिएको पाइएको छ । उक्त गाउँपालिकाको वडा नं ५ मा मष्टा देवता मन्दिर निर्माणका लागि पाँच लाख, वडा नं ६ को ओखलढुंगा मन्दिर निर्माणमा पाँच लाख, वडा नं ६ कै मसानी मन्दिर निर्माणमा पाँच लाख, वडा नं ५ कै कैलेमाण्डौं मन्दिर निर्माणमा सात लाख विनियोजन गरिएको पाइएको छ ।

सोही गाउँपालिकाको वडा नं ३ मा विश्वकर्मा मन्दिर निर्माण गर्न पाँच लाख, वडा नं १ मा भुवनेश्वरी मन्दिर निर्माणका लागि पाँच लाख, वडा नं ५ को शिव मन्दिरका लागि पाँच लाख र वडा नं ५ कै देवी भगवती मन्दिर निर्माणका लागि २० लाख रुपियाँ बजेट विनियोजन गरिएको पाइएको छ ।

आफ्नै गाउँपालिकामा मात्रै धेरै योजना पारेको भन्दै मुख्यमन्त्री भट्टको जिल्लामा अहिले निकै आलोचना हुने गरेको केआईसिंह गाउँपालिकाका स्थानीयबासी तथा कांग्रेस नेता तेजबहादुर पुनमगरले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मन्दिरदेखि अन्य विकासका योजना मुख्यमन्त्रीकै गाउँमा बढी परेका छन्, जो आफैमा गलत काम हो, आफ्नै गाउँमा विकास हाल्नुभन्दा जिल्लाभरि हाले हुने ।’

त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको गृह जिल्ला अछाममा पनि मन्दिर निर्माणका नाममा करोडौं रकम विनियोजन भएको छ । उता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको गृहजिल्ला रहेको बैतडीमा ४३ वटा मन्दिरका योजना रहेका छन् । मुख्यमन्त्री भट्टको गृह जिल्ला डोटी र आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराको गृह जिल्ला अछाममा मन्दिरका ३८÷३८ योजनामा बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले यहाँका नौवटा जिल्लामा रहेका मन्दिर निर्माणका लागि कुल २४ करोड २२ लाख रुपियाँ बजेट विनियोजन गरेको पाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ को बजेट तथा कार्यक्रममा यहाँका २ सय ७० मन्दिरका योजना ल्याएको पाइएको छ ।

आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी कैलालीका मन्दिरका योजना परेका छन् । कैलालीमा मात्रै ५३ वटा योजना मन्दिरसँग सम्बन्धित रहेका छन् । त्यसैगरी बझाङमा ३५, कञ्चनपुरमा २२, डडेल्धुरामा १७ र बाजुरामा १४ वटा मन्दिर निर्माणका योजना रहेका छन् ।

प्रदेशकै दुर्गम मानिने दार्चुलामा भने मन्दिरका १० वटा योजना मात्रै रहेका छन् । मन्दिरका योजनामा प्रदेश सरकारले पाँच लाखदेखि ९० लाख रुपियाँसम्म विनियोजन गरेको पाइएको छ । २ सय ९ योजनाका लागि प्रतियोजनामा पाँच लाख रुपियाँ रकम विनियोजन भएको पाइएको छ ।

प्रदेश सरकारले मन्दिरका नाममा लाखौं रकम बजेट गरेको प्रति यहाँका स्थानीयबासी आक्रोशित बनेका छन् । मन्दिरभन्दा पनि अन्य कृषि क्षेत्रको विकासका लागि बजेट विनियोजन हुनुपर्ने उनीहरुको माग रहेको छ । विमल विष्टले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित