शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चितवनमा प्रहरीद्वारा राखियो स्थानीय तहहरुमा सुझाव पेटिका

दैनिक नेपाल २०७७ असोज १ गते १९:५१

-शिशिर सिंखडा

चितवन, १ भदौ । प्रहरी तथा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो र सुझावहरु संकलन गर्न आज चितवनका स्थानीय तहहरुमा सुझाव पेटिका राखिएको छ ।

सो सुझाव पेटिका राख्दै चितवनका प्रहरी प्रमुख (एस.पी.) नान्तीराज गुरुङले प्रहरीसँगका गुनासा र सुझावहरु सर्वसाधारणले सहजै रुपमा राख्न सकुन् भन्ने उद्देश्यले हरेक स्थानीय तहमा सुझाव पेटिका राखिएको बताए ।

राप्ती नगरपालिकामा सुझाव पेटिका राख्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख गुरुङले प्रहरीको बारेमा सुझाव, गुनासो र अपेक्षा राख्न सर्वसाधारणलाई यस अगाडि असहज भएको महसुस गर्दै बाग्मती प्रदेश प्रहरी कार्यालयको सो अभियान अन्तर्गत सुझाव पेटिका राखिएको उनले बताए ।

प्रहरीका बारेमा गुनासा, अपेक्षा र सुझावहरु परिचय गोप्य राखेर समेत पठाउन सकिने उनले बताए । हरेक स्थानीय तहमा संकलन भएका सुझावहरुलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा संकलन गरी काम कारवाही अगाडि बढाउने उनको भनाइ थियो ।

प्रहरीले घटनाको अनुसन्धान, शान्ति सुरक्षा तथा हरेक गतिविधिमा समुदायको सहयोग विना काम गर्न नसक्ने भन्दै सबैको साथ र सहयोगले समुन्नत समाज निर्माण गर्न सकिने गुरुङले बताए ।

साथै उनले जिल्ला प्रहरी कार्यालय चितवनको फोन नं. ०५६–५२०१५५ मा महिला, बालबालिका लगायत विभिन्न विषयमा जानकारी, उजुरी, गुनासो समेत दिन सकिने बताए । सो टेलिफोनमा परिचय गोप्य राखेर सूचना दिनेहरुलाई समेत मध्यनजर गर्दै टेलिफोनको कलर आई.डी. समेत हटाइएको उनले बताए ।

राप्ती नगरपालिकामा आयोजित सुझाव संकलन पेटिका राख्ने क्रममा नगर प्रमुख प्रभा बरालले प्रहरीले आफ्नो बारेमा सुझाव लिने र अपेक्षा संकलन गर्नु साह्रै नै महत्वपूर्ण काम भएको बताए ।

सबै प्रहरी, कर्मचारी खराब नभएको भन्दै उनले केही खराबका कारण सबै बद्नामी हुने अवस्थाको अन्त्य हुन पनि सुझाव संकलनले मद्दत पुग्ने बताए । प्रहरी प्रतिको आरोप र यथार्थताको कडीको रुपमा पनि सुझाव पेटिकालाई आफूले लिएको उनले बताए ।

सो अवसरमा इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक शुशिल कुमार पाण्डे, राप्ती नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता अमर बहादुर तमाङ, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल, वडा अध्यक्ष, सदस्य लगायत स्थानीयहरुको समेत सो कार्यक्रममा उपस्थिती रहेको थियो ।

त्यसैगरी कालिका नगरपालिकामा पनि प्रहरीद्वारा सुझाव पेटिका राखिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले सो सुझाव पेटिका राख्दै प्रहरी प्रतिका गुनासो र सुझावहरु निर्धक्क रुपमा राख्न स्थानीयहरुलाई अनुरोध गरेका थिए । ।

सो कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले प्रहरीले सुझाव संकलन गरी आफ्ना गुनासाहरु समाधान गर्न लागेकोमा प्रशंसा गर्नुभएको थियो । सो अवसरमा विभिन्न वडाका वडा अध्यक्षहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय टाँडीको समन्वयमा रत्ननगर नगरपालिकामा पनि आज नै सुझाव पेटिका राखिएको छ । सो अवसरमा नगर उपप्रमुख विमला दुवाडीले सुझाव पेटिकाले प्रहरीलाई काम गर्न थप मार्गनिर्देश प्राप्त हुने जनताका गुनासाहरु समाधान गर्न सहज हुने बताइन् ।

आज नै चितवनका सबै स्थानीय तहमा प्रहरी प्रदेश कार्यालय हेटौडाको निर्देशन अनुसार सुझाव पेटिका राखिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित