शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

स्वास्थ्यमन्त्रीको भिडियो सन्देश : स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनमा सरकार प्रतिबद्ध छ

जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गर्न सबैमा अपिल

दैनिक नेपाल २०७७ असोज १ गते १२:१८

काठमाडौं, १ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनमा सरकार सधैं प्रतिबद्ध रहेका बताएका छन् ।

विद्यमान महामारीबाट नागरिकलाई जोगाउन आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उनले बताएका हुन् ।

दोस्रो विश्व विरामी सुरक्षा दिवसका अवसरमा बिहीबार भिडियो सन्देशमार्फत शुभकामना दिँदै मन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आवाज उठाउने सबैप्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।

हरेक सेप्टेम्बर १७ तारिखमा मनाइने यो दिवसको आज ‘सुरक्षित स्वास्थ्यकर्मी : सुरक्षित विरामी’ नाराका साथ नेपालीमा पनि सीमित कार्यक्रम गरेर मनाइँदै छ ।

नेपालमा कोरोना सङ्क्रमितमध्ये करिब ७२ प्रतिशत निको भइसकेका र ३७९ जनाले ज्यान गुमाईसकेको उल्लेख गर्दै मन्त्री ढकालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सबै प्रकारका बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनु पर्ने विश्वव्यापी मान्यता र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पुर्याउन सबैमा अपिल गरेका छन् ।

यस्तै स्वास्थ्य संस्थामा हुने सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा आफ्नो दक्षता र शीपको उच्चतम प्रयोग गरी खटिन स्वास्थ्यकर्मीलाई पनि आव्हान गरेका छन् ।

हेर्नुहोस् भिडियो–

स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध छ

Posted by Bhanu Bhakta Dhakal on Wednesday, September 16, 2020

प्रतिक्रिया
सम्बन्धित