बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

शेरबहादुर देउवा आइसोलेसनमा बसेपछि संवैधानिक नियुक्तिबारेको छलफल स्थगित

दैनिक नेपाल २०७७ असोज १ गते ११:४६

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण आज हुने भनिएको संवैधानिक नियुक्तिबारेको छलफल स्थगित हुने भएको छ ।

कोरोना भाइरस संक्रमणको आशंकामा देउवा कन्ट्याक्ट ट्रेसिङमा परेपछि छलफल स्थगित गर्न लागिएको हो । देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् ।

सचिवालयमा कार्यरत अन्य ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने उनका सहयोगी भानु देउवाले जानकारी दिए । देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीचको छलफल पनि स्थगित हुने भएको हो ।

संवैधानिक नियुक्ति टुंग्याउन सत्तारुढ नेकपाले आज प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने तयारी थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि नियुक्ति हुन नसकेका संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने समझदारी भएको थियो ।

त्यसैअनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गर्ने तयारी थियो । संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । रिक्त आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि आफ्नो अडान राख्दै आएको छ । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र उक्त बैठक बस्ने बताइएको छ ।

संविधानतः गठन हुनुपर्ने संवैधानिक संरचनाहरुमा ४८ वटा पद सरकार गठन भएको करिब साढे २ वर्ष बितिसक्दासम्म पनि रिक्त छ ।

अहिलेसम्म रिक्त रहेका संवैधानिक आयोगहरुमा आदिवासी जनजाति आयोग, महिला आयोग र दलित आयोगमा ५÷५ जना पदाधिकारीहरु चयन गर्न बाँकी छ । भाषा आयोगमा ६ पदाधिकारी खाली छन् ।

त्यसैगरी मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, समावेसी आयोग र वित्त आयोगमा ४÷४ जना पदाधिकारीहरु रिक्त छन् । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको पदसमेत रिक्त छ । यो सहित अख्तियारमा ३ जना पदाधिकारी नियुक्त गर्नुपर्ने छ । त्यस्तै निर्वाचन आयोगमा दुईजना पदाधिकारी नियुक्त गर्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित