२ कार्तिक २०८३, सोमबार

निषेधाज्ञाले रोकेन संक्रमण, काठमाडौं उपत्यकामै १४ हजार संक्रमित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असाेज । काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ।

काठमाडौं उपत्यकामा दिनहुँ ५ सयभन्दा बढी कामकाजी व्यक्ति संक्रमित भइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार भदौ पहिलो साता मुलुकभर संक्रमित थपिने क्रम दिनहुँ औसत ७ सय ५३ हाराहारी थियो। भदौ अन्तिम साता हरेक दिन १ हजारभन्दा बढी संक्रमित पुष्टि भएका छन्। भदौको अन्तिम दिन बुधबार मुलुकभर १ हजार ५ सय ३९ जनामा कोरोना देखिएको मन्त्रालयले पुष्टि गरेको छ। एकै दिन संक्रमित पुष्टि भएको यो हालसम्मकै उच्च संख्या हो।

त्यस्तै, मृत्युदर पनि उच्च छ। भदौ १ देखि १५ गतेसम्म कोरोनाबाट १ सय २४ जनाको मृत्यु भएको थियो। भदौ १६ गतेयता मृत्युदर झन् बढेको छ। भदौ १९ र २२ गते दुई दिनमा २८ जनाको ज्यान गयो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भदौ ३१ गते ८ जनाको ज्यान गएको जानकारी दिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले साउनभन्दा भदौमा मृत्युदर बढेको बताए। अहिले मृत्युदर ०.६ प्रतिशत छ।

सरकारी अधिकारीले निषेधाज्ञाको प्रभावका कारण संक्रमितको संख्या घट्ने आशा व्यक्त गरेका थिए। तर, निषेधाज्ञाले उपत्यकामा संक्रमण विस्तारको ‘चेन ब्रेक’ गर्न नसकेको विज्ञले जनाएका छन्। दिनहुँ सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिन थालेका छन्।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण झन् बढेको बताए। ‘मास्क नलगाई र भौतिक दूरीसमेत कायम नराखी बिहान–बेलुका घुमिरहेका छन्’, डा. मरासिनीले भने, ‘त्यसले पनि संक्रमण बढाएको हो।’

उपत्यकाका सबै स्थानीय तहमा अहिले संक्रमित छन्। वडा तहमा पनि संक्रमण देखिएको छ। तीनै जिल्लामा भदौ सुरुमा निषेधाज्ञा जारी गरिएको थियो। मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै संक्रमितको संख्या ११ हजार २ सय ३५ पुगेको छ। ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमित छन्।

काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरेको थियो। उक्त निषेधाज्ञा भदौ ३ देखि भदौ २४ गतेसम्म जारी रह्यो।

काठमाडौं उपत्यकामा बुधबार एकै दिन थप ७ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकामा एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। मंगलबार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ७६ जनामा कोरोना पुष्टि भएको थियो। दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।