शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पहिलो परीक्षा मंसिर र अन्तिम चैतमा

दैनिक नेपाल २०७७ भदौ ३१ गते ७:४०

काठमाडौं, ३१ भदाै । सरकारले चालू शैक्षिक सत्र वैशाखबाट शुरु भएर चैतमा सकिने जनाएको छ । कोभिड–१९ का कारण करिब ५ महिना पढाइ नभएर शैक्षिसत्र कहिलेबाट शुरु हुन्छ भन्ने विषयमा अन्योल उत्पन्न भइरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रमार्फत सो धारणा सार्वजनिक गरेको हो ।

विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले सो जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘पाँच हिमाली जिल्लामा फागुन र अन्य जिल्लामा वैशाखदेखि शैक्षिकसत्र शुरु भइसकेको छ ।’ चैत महिनादेखि लकडाउन भएपछि पढाइ ठप्प भएको थियो । असारमा अनलाइन निर्देशिका जारी भएपछि केही निजी विद्यालयले औपचारिकरुपमा पढाइ शुरु गरेका थिए ।

सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको अवस्थामा सरकारले वैशाखदेखि शैक्षिकसत्र शुरु भएर चैतमा अन्त्य हुने जनाइसकेको छ ।

मन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले मंगलबार समायोजन ढाँचा सार्वजनिक गरेपछि औपचारिकरुपमा पठनपाठन शुरु हुने निश्चित भएको छ ।

शिक्षा सचिव डा. सञ्जय शर्माले कार्यढाँचा तयार गरेर सार्वजनिक गर्नुअघि परिषद्ले समायोजन ढाँचा सार्वजनिक गरेको हो ।

ढाँचामा मंसिरमा पहिलो र चैतमा अन्तिम परीक्षा लिने उल्लेख छ । सिकाइ सहजीकरण निर्देशिकालाई आधार मानेर निर्माण गरिएको समायोजन ढाँचामा विद्यार्थीको परीक्षा लिन विभिन्न मोडल तय गरिएको छ ।

अनलाइइन वा भर्चुअल, प्रश्नपत्र पठाएर घरबाटै परीक्षा दिन सक्ने (ओपनबुक), सामाजिक दूरी कायम गरी विद्यालयमै उपस्थित भएर र अन्य कुनै पनि विधिबाट परीक्षा लिन सक्ने उल्लेख छ ।

प्रयोगात्मक परीक्षासमेत सोही विधिमा आधारित हुने जनाइएको छ । करिब ६ सय पेजको कार्यविधि आज बुधबारसम्म केन्द्रको वेबसाइटमा राख्ने तयारी भएको छ ।

कार्यकारी निर्देशक दाहालले यो ढाँचा नमुना मात्र भएको जानकारी गराउँदै विद्यालयका प्रअ, विषय शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय विज्ञसहितको समितिले पाठ्यपुस्तकको आधारमा तयार गरी पढाउनुपर्ने बताउनुभयो । प्रयोगात्मक परीक्षाको हकमा भने शिक्षकले भर्चुअल वा भौतिक दूरी कायम गरी लिने व्यवस्था गरेको छ ।

कार्यकारी निर्देशक दाहालले कठिन र कम कठिन पाठलाई विभाजन गरिएको बताउनुभयो । शिक्षकले नपढाई नहुने पाठलाई कठिन र विद्यार्थी आफैले वा अभिभावकको सहयोगमा शिक्षकले केही सिकाएर मात्रै हुने पाठलाई कम कठिन भनिएको छ । कम कठिन पाठ शिक्षकले नपढाए पनि हुने भएको छ ।  ईश्वरराज ढकालले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित