बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

विस्थापित भोकै, बटुलिएको राहत कुहिँदै

दैनिक नेपाल २०७७ भदौ ३१ गते ७:२७

बागलुङ, ३१ भदाै । झमझम पानी परिरहन्छ । ओत लाग्न छिमेकीको मकैबारी मासेर बनाएको अस्थायी छाप्रोमा दुई परिवारका ७ जना कोचिन्छन् । भुजी खोलाको पश्चिम किनारमा एउटा पुरानो र दाताले दिएका दुई गरी तीनवटा पाल गाँसेर टाँगिएको छ । छाप्रोको एकातिर चित्राले बारिएको छ, अर्कोतर्फ खाली । बाछिटाले सुतेकै ठाउँ भिजाउँछ ।

भदौ १७ मा बाढीपहिरोले विस्थापित भएका ढोरपाटन नगरपालिका–९ सुकुरदुङका नमलाल पुन र उनका भाइ छमेन्द्रको परिवार १३ दिनदेखि पालमुनि जीवन निर्वाह गरिरहेका छन् । ३ वर्षको नाति, बुहारी बिनासहित पुनकी पत्नी एकातिर र दाजुभाइ, छोरा अर्कोतर्फ सुत्छन् । खान, बस्न र रात कटाउन उनीहरूलाई निकै कष्टकर छ ।

मकैबारीभित्रै चित्राले बारेर शौचालय बनाएका छन् । घर बग्दाबग्दै एकजोर कपडा र एउटा खाट मात्रै निकाल्न भ्याएका थिए । त्यही खाटमा बस्ने र खाने गर्छन् । चिसो सहँदै भुइँमै सुतिरहेका छन् । बाढीपहिरो गएपछि यहाँको अवस्था हेर्न धेरै मानिस आए, अहिले पनि आउने क्रम घटेको छैन । पहिरोले क्षतविक्षत सडक हुँदै हातमा चप्पल समातेरै आइपुग्नेले फोटो खिच्छन्, पहिरो गएको दिनको घटना सोधेर फर्कन्छन् ।

तर उनीहरूको घरमा घटनाको भोलिपल्ट पाएको पाल र केही चामलबाहेक अन्य राहत पुगेको छैन । ‘पहिलो दिनमा आएको दुई बोरा चामल र पालबाहेक अरू भेटेको छैन,’ छमेन्द्रले भने, ‘कांग्रेसका टोली आएर चामल र पाल दिएका हुन्, त्यसैमा बसेका छौं, अरू कोही आएनन् ।’

नगरपालिकामा जम्मा भएको राहत सामग्री गाउँमा नपुगेको विस्थापितको गुनासो छ । नगरपालिकामा घरजस्तै बनाउन मिल्ने डेढ सय टेन्ट छन् । सामान्य पानी ओत्ने पाल त्योभन्दा बढी छन् । विभिन्न दाताले दिएका सयौं थान सिरक–डसना नगर प्रमुख देवकुमार नेपालीको दरबार होटलमा थन्किएका छन् । सयौं बोरा चामल वडा कार्यालयमा थुप्रेको र कीरा (चिलेसा) पर्न थालिसकेको वडाध्यक्ष हरिबहादुर घर्ती नै बताउँछन् । तर एकद्वार प्रणालीमार्फत राहत वितरण गरिने भन्दै हालसम्म पीडितकोमा राहत पुर्‍याइएको छैन । विस्थापितहरूको बिजोग हुँदा पनि सरोकारवालाहरू भने योजना रहेको मात्रै सुनाइरहेका छन् । ‘अब समय मिलाएर वितरण गर्ने योजना छ,’ वडाध्यक्ष घर्तीले भने ।

छमेन्द्र र उनकी श्रीमती बेलमती दुवै घाइते हुन् । लाकुरीबोटमा रहेको स्वास्थ्य चौकी बगाएपछि औषधि अभावमा उनीहरूको उपचारमा समेत ढिलाइ भयो । बुर्तिवाङदेखि औषधि पुगेपछि स्थानीय स्वास्थ्यकर्मीले छाप्रोमै गएर उपचार गरिदिए । आराम गर्नुपर्ने अवस्थाका उनीहरूको जीवन भने कष्टपूर्ण छ ।

बाढीपहिरोले सुकुरदुङका मात्रै १५ घर बगाएको थियो । थप १५ घर बस्नै नमिल्ने गरी भत्केका छन् । सबैका घरमा हिलो, ढुंगा र काठ पसेर भत्काएको छ । छानो बचे पनि भित्र बस्ने अवस्था छैन । झोलुंगे पुल बगाएकोले वारपार ठप्पप्राय: छ । वडा कार्यालय जान भीरमा निगालो समातेर हिँड्नुपर्ने बाध्यता छ । घर गुमेका र बस्न नमिल्नेहरू कोही छिमेकीको पालीमा त कोही मकैबारीमा पाल टाँगेर बसेका छन् । प्रकाश बरालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित