शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

विदाइ हुँदै कुलमानले के भने ?

दैनिक नेपाल २०७७ भदौ ३० गते १६:०४

काठमाडौँ, ३० भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो ४ वर्षे कार्यकाल सकेर बिदा भएका छन् । प्राधिकरणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङ मंगलबार विदा भएका हुन् ।

सरकारले कानुनी अड्चन देखाउँदै पुनर्नियुक्ति नगरेपछि घिसिङ विदा भएका हुन् । उनले एउटै व्यक्ति एउटा जिम्मेवारीमा रहनुपर्छ भन्ने नरहेको बताएका छन् ।

‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो। अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ। यो विषय हाम्रो लागि राम्रो हो’, बिदाइ भाषणमा घिसिङले भने, ‘कार्यकारी निर्देशक आउने जाने हुन्छ। एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन। विकल्परहित केही हुँदैन।’

घिसिङले प्राधिकरणमा आफू रहदा हिजोको भन्दा बढी काम भएको बताए। उनले कर्मचारीलाई सुविधा बढाउनेदेखि अन्धकार नेपाललाई उज्यालो नेपाल बनाएको विषयको सम्झना गरेका छन्।

‘प्राधिकरणमा म नहुँदा नेतृत्व गर्न योग्य व्यक्ति हुनुहुन्छ। लिडरसीपले मोटिभेसन गर्नुपर्छ। हिजोको भन्दा हामीले केही राम्रो गरेका छौँ। त्यसको इन्टेन्सिप पाएका पनि छौँ।

कर्मचारीको वृत्तमा पनि केही सुविधा भएका छन्। अगामी दिन प्राधिकरणको लक्ष्य एकदम सुन्दर छ’, घिसिङले भने। बिदाइका क्रममा लिखित भाषण गर्दै घिसिङले आफूलाई सहयोग गर्ने सबैको सम्झना गरेका छन्। घिसिङ २०७३ भदौ २९ गते चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन्।

बिदाइ भाषणको क्रममा घिसिङले आफू कार्यकारी निर्देशक बन्दा वर्षातको समयमा ६ देखि ८ घण्टासम्म र अन्य समयमा १४ घण्टासम्म लोडसेडिङ भएको कुराको सम्झनासमेत गरेका छन्।

‘म कार्यकारी नियुक्त भएर आउँदा देशमा वर्षातको समयमा ६ देखि ८ र अन्य समय १४ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। लोडसेडिङका कारण मुलुक कहालिलाग्दो अन्धकारले आकान्त थियो। प्राधिकरण घाटामा थियो भने ६३ प्रतिशत जनता मात्र विद्युतको पहुँचमा थिए’, घिसिङले ति दिन सम्झदै भने, ‘मलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्दा अध्यारो युगलाई उज्यालो बनाउने जिम्मेवारी दिएको थियो।’

उनले २०७३ सालको लक्ष्मी पूजाका दिनमा लोडसेडिङ्ग अन्त्य गरेको सम्झना गरे । ‘२०७३ साल तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन विद्युत निरन्तर दिन सकियो’, उनले भने, ‘यो सफलताले हामी लोडसेडिङ अन्त्य गर्न सक्छौँ भन्ने आत्मविश्वास बढ्यो।’

प्रतिक्रिया
सम्बन्धित