शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बर्दिया कांग्रेसका नेता एवम् खेलकुद विभागका सदस्य बर्माको निधन

दैनिक नेपाल २०७७ भदौ ३० गते ९:१६

काठमाडौं, ३० भदाै । नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य कृष्णकुमार बर्माको निधन भएको छ ।

नेपाली कांग्रेस बर्दियाका नेता एवम् महासमिति सदस्य बर्माको सोमबार ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

भक्तपुरबाट स्कुटी आफैले चलाएर किष्ट अस्पतालमा मिर्गौलाको डायलसिस गराउन आएका बर्मा औषधि किन्ने क्रममा ढलेका थिए ।

‘डायलसिस गराउनुभयो । त्यसपछि नजिकै रहेको औषधि पसलमा औषधि किन्ने क्रममा प्रेसरलो भएर ढल्नुभए छ’, तिमिल्सिनाले भने, ‘कोरोनाका कारण कसैले पनि उहाँलाई उठाएर छिटो अस्पताल पुर्‍याइदिएन छन् । समयमा अस्पताल पुर्‍याउन नसक्दा उहाँको निधन भयो ।’

साथमा रहेकी छोरी सृष्टि चौधरीले बुबालाई उठाएर अस्पतालसम्म पुर्‍याइदिन सहयोग गर्न सबैलाई अनुरोध गरेकी थिइन् । तर, कसैले पनि सहयोग गरेनन् ।

एकछिनपछि ट्याक्सी चालक आएर सहयोग गरेर बर्मालाई अस्पताल पुर्‍याइदिएका थिए ।

बर्मा बर्दिया जिल्लाको तत्कालीन गोला गाविसका पूर्वअध्यक्ष, राजापुर सिंचाइँ परियोजनाको अध्यक्ष समेत रहेर जनताको सेवा गरेका थिए ।

बर्माको निधनले बर्दिया कांग्रेसलाई ठूलो क्षति पुगेको नेपाली कांग्रेसका युवा नेता तिमिल्सिनाले बताएका छन् । तिमिल्सिनाले भने, ‘आदरणीय दाई कृष्णकुमार बर्माको असामयिक निधन भएको खबरले दुखित तुल्याएको छ । बर्दिया कांग्रेसलाई ठूलो क्षति भएको छ ।’

बर्माको सोमबार करीव ४ बजेतिर निधन भएको जानकारी पाएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहित, संगठन विभागका सदस्य तिमिल्सिना, गुठी संस्थानका अध्यक्ष एवम् महासमिति सदस्य मीनराज चौधरी र व्यवसायी एवम् कांग्रेस नेता भरत चलाउने किष्ट कलेज पुगेका थिए ।

उनीहरूको पहलमा एम्बुलेन्स बनाएर स्व.बर्माको शवलाई अन्तिम दाहासंस्कारका लागि गृहजिल्ला बर्दिया पठाइएको छ ।

बर्माको इच्छाअनुसार नै कोठियाघाटमा अन्तिम दाहासंस्कार गरिने कांग्रेस नेता तिमिल्सिनाले जानकारी दिएका छन् ।

मिर्गौला ट्रान्सप्लान्ट गरेका बर्माले विगत १८ वर्षदेखि उपचार र डायलसिस गराउँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित