
काठमाडौं, २९ भदौ । राष्ट्रिय जनमोर्चाले विज्ञको सुझाव र जनताको मागलाई सरकारले बेवास्ता गरेको बताएको छ ।
सुझाव र मागलाई बेवास्ता गरेकै कारण अहिले सिन्धुपाल्चोक लगायत देशका पहाडी जिल्लाहरुले बाढीपहिरो र भू–क्षयको सामना गर्नुपरिरहेको जनमोर्चाको निष्कर्ष छ ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाले भनेको छ, ‘२०७२ सालको भूकम्पका कारण कैयन पहाडी जिल्लाका गाउँ बस्ती जोखिममा युक्त रहेकोले ती गाउँ बस्तीलाई स्थानान्तरण गर्न विज्ञहरुले सिफारिस गरेका थिए । सिन्धुपाल्चोक जिल्लाका त्यस्ता गाउँ बस्तीमा रहेका जनताले पनि बस्ती स्थानान्तरण गर्न प्रशासनसमक्ष माग गर्दै आएका थिए । सरकारले विज्ञको सुझाव र जनताको मागलाई बेवास्ता गर्यो । वास्तवमा सरकारको लापर्बाहीका कारणले नै यति ठूलो जनधनको क्षति हुन पुगेको छ ।’
सिन्धुपाल्चोक र बागलुङमा पहिरोले पुर्याएको क्षतिबारे दुःख व्यक्त गर्दै जनमोर्चाले भनेको छ, ‘बागलुङको ढोरपाटन नगरपालिका–९ भुजी खोलामा केही दिनअघि बाढी र पहिरोले ७५ घर ध्वस्त भएका थिए । खानी तथा भूगर्भ विभागका विज्ञ कर्मचारीहरुले भुजी खोलाको पहाडको अवस्थिति, माटो तथा भूवनोट समेतको अध्ययन गरेर ती बस्ती जोखिममा रहेको पहिल्यै जनाउ दिएका थिए । त्यसबारे पनि सरकारले कुनै कदम चालेन र अहिले त्यति ठूलो जन धनको क्षति भयो ।’
जनमोर्चाले सरकारको कडा आलोचना गर्दै जोखिमयुक्त गाउँ बस्ती सुरक्षित ठाउँमा सार्न जोडदार माग गरेको छ । ‘हामीले यहाँ फेरि यो स्पष्ट गर्न चाहन्छौँ कि बाढी पहिरो र डुबानको जोखिममा रहेका र छरिएर रहेका वा आधारभूत सेवा पुराउन अत्यधिक खर्च लाग्ने ठाउँमा रहेका घर बस्तीहरुलाई समेत सुगम ठाउँमा ल्याउन एकीकृत ग्रामीण बस्ती विकास गर्न जोड दिंदै आएका छौँ’, विज्ञप्तिमा लेखिएको छ ।
यस्तै जनमोर्चाले आइतबार बिहान सिन्धुपाल्चोकमा खसेको भीषण पहिरोबाट प्रभावित बनेकाहरुका लागि उद्धार, उपचार र राहतमा कमी हुन नदिन सरकासँग आग्रह गरेको छ ।















प्रतिक्रिया